भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा. सुवेदी पर्वतबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस
काठमाडौं। नेपाली कांग्रेस पर्वतले पशु चिकित्सक तथा नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रीय अध्यक्ष डा. केदार सुवेदीलाई आगामी संघीय प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको छ।
आगामी फागुनका लागि तय भएको निर्वाचनको तयारीस्वरूप मङ्सिर २५ गते बसेको पार्टीको जिल्ला कार्यसमितिको बैठकले डा. सुवेदीसहित अन्य आकांक्षीहरूको नाम सिफारिस गरेको हो। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल तरुण दलका केन्द्रीय सदस्यसमेत रहेका डा. सुवेदी लामो समयदेखि पशु चिकित्सा क्षेत्रमा सक्रिय छन्। उनी हाल नेपाल भेटेरिनरी एशोसिएसनको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा समेत छन्।
देशभरका पशुपालक किसान, व्यवसायी र सरकारी निकायसँग प्रत्यक्ष काम गरेको अनुभव भएका सुवेदी किसानका समस्या र कृषि तथा पशुपन्छी क्षेत्रको दीर्घकालीन विकासका एजेन्डामा स्पष्ट बुझाइ राख्ने व्यक्तिका रूपमा परिचित छन्। पशु स्वास्थ्य, किसानको आयवृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका मुद्दामा उनी सधैँ अग्रमोर्चामा रहँदै आएका छन्।
पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व, आन्तरिक लोकतन्त्र र संगठन सुदृढीकरणका पक्षमा स्पष्ट धारणा राख्ने डा. सुवेदीलाई पर्वतमा आशालाग्दा युवा नेताका रूपमा हेरिन्छ। सामाजिक तथा राजनीतिक पृष्ठभूमिबाट आएका उनी तथ्यमा आधारित बहस र स्पष्ट राजनीतिक दृष्टिकोणका लागि परिचित छन्।
कृषि, पशुपालन र ग्रामीण विकासलाई राष्ट्रिय एजेन्डा बनाउने लक्ष्यसहित राजनीतिमा सक्रिय सुवेदीको सिफारिसलाई पर्वत कांग्रेसभित्र नयाँ पुस्ताको उदय र पेशागत नेतृत्वको प्रतिनिधित्वका रूपमा अर्थ्याइएको छ।
