चितवनका गाईभैँसीमा खोरेत
चितवन : चितवन जिल्लाका गाईभैँसीमा खोरेत (खुरपुका–मुखपुका) रोगको समस्या देखिएको छ। पूर्वी चितवनको रत्ननगर नगरपालिका तथा भरतपुर महानगरपालिकामा पालिएका गाईभैँसीमा उक्त रोग देखिएको हो।
पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिका–२७ मा रहेको एक गाई फार्ममा खोरेत रोग पुष्टि भएको छ। रत्ननगर नगरपालिकाका केही गाई फार्ममा खोरेतको लक्षण देखिए पनि प्रयोगशालाबाट हालसम्म अन्तिम नतिजा प्राप्त भइनसकेको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार मङ्सिर ११ गते भरतपुर महानगर क्षेत्रका गाईभैँसीबाट संकलन गरिएका नमूना खोरेत तथा सीमाविहीन पशु रोग अन्वेषण प्रयोगशाला, काठमाडौँमा परीक्षणका लागि पठाइएको थियो, जसको नतिजा मङ्सिर १६ गते प्राप्त भएको हो।
कार्यालय प्रमुख डा. न्यौपानेले हाल रोग देखिएका क्षेत्रमा खोरेतविरुद्धको खोप लगाउने काम भइरहेको बताउनुभयो। “रोग देखिएको क्षेत्रमा खोप लगाउने कार्य तीव्र रूपमा भइरहेको छ। आगामी दिनमा जिल्लाभरि खोप अभियान सञ्चालन गर्ने योजना छ,” उहाँले भन्नुभयो।
भाइरसका कारण सर्ने यो रोग लागेका गाईभैँसीमा दुईदेखि तीन दिनसम्म १०४ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, जिब्रोको छाला जाने, गर्भवती पशुमा गर्भ तुहिने, दूध उत्पादन घट्ने, खुट्टामा घाउ हुने तथा दानापानी नखानेजस्ता लक्षण देखिने गरेको जनाइएको छ। यो रोग विशेष गरी गाईभैँसी र बङ्गुरमा बढी देखिने गरेको डा. न्यौपानेले जानकारी दिनुभयो।
जिल्लाका अधिकांश पशुचौपायामा खोरेतविरुद्धको खोप लगाइएको भए पनि बाहिरबाट खरिद गरी ल्याइएका पशुमा रोग देखिएको हुनसक्ने कार्यालयको अनुमान छ। बाहिरबाट ल्याइएका पशुलाई कम्तीमा २१ दिनसम्म क्वारेन्टाइनमा राखेर मात्र बथानमा मिसाउन तथा सङ्क्रमित पशुलाई छुट्टै राखेर उपचार गर्न कार्यालयले आग्रह गरेको छ।
जङ्गली जनावरबाट समेत सर्न सक्ने भएकाले चरनका लागि लगिने गाईभैँसीमा सङ्क्रमणको जोखिम बढी रहने उल्लेख गर्दै कार्यालयले प्रत्येक फार्ममा जैविक सुरक्षाका उपाय अपनाउन र वर्षमा दुईपटक अनिवार्य रूपमा खोरेतविरुद्धको खोप लगाउन आग्रह गरेको छ।
यसैबीच, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा समेत भैँसी, बङ्गुर र बाख्रामा खोरेत रोग पुष्टि भएको छ, जसले रोगको जोखिम अन्य जिल्लामा पनि फैलिरहेको देखिएको छ। सम्बन्धित निकायले समयमै खोप लगाउन र सतर्कता अपनाउन पशुपालक कृषकलाई आग्रह गरेका छन्।
