कैलालीमा खोरेत पुष्टि, खोप अभियानमा सहभागी हुन आग्रह
धनगढी। कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा पालिएका भैँसी, बङ्गुर र बाख्रामा खोरेत रोगको संक्रमण पुष्टि भएको छ। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी प्रमुख डा. नरेश जोशीका अनुसार पशुहरूमा खोरेतसँग मिल्दोजुल्दो लक्षण देखिएपछि भेटेरिनरी प्रयोगशालाको टोलीले नमूना संकलन गरी बुढानिलकण्ठस्थित खोरेत प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा रोग पुष्टि भएको हो।
खोरेत रोगका कारण नेपालले प्रत्येक वर्ष अर्बौँ रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नु परिरहेको छ। सम्बन्धित निकायका अनुसार समयमा खोप नलगाइएकै कारण यो रोग विभिन्न स्थानमा फैलिरहेको छ।
प्रदेश सरकारबाट सञ्चालन भइरहेको निःशुल्क खोप अभियानअन्तर्गत अनिवार्य रूपमा खोरेतको खोप लगाउन सबै पशुपालक कृषकलाई आग्रह गरिएको छ। साथै कृषकहरूलाई खोपको महत्वबारे जनचेतना अभाव देखिएकाले सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताइएको छ।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढीका प्रमुख डा. नरेश जोशीका अनुसार खोरेत संक्रमण देखिएका क्षेत्रबाहेक अन्य स्थानमा हाल पनि खोप लगाउन सकिने अवस्था रहेको छ। प्रयोगशालामा आवश्यक मात्रामा खोरेतविरुद्धको खोप मौज्दात रहको उनले जानकारी दिए।
सम्बन्धित निकायले रोगको फैलावट रोक्न समयमै खोप लगाउन, जैविक सुरक्षाका मापदण्ड अपनाउन तथा पशुमा शंकास्पद लक्षण देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालय वा प्रयोगशालामा जानकारी गराउन आग्रह गरेका छन्।
