पशु औषधिको गुणस्तर जाँच गर्ने हाम्रो संयन्त्र फितलो छ

पशुवस्तुको गुणस्तरीय औषधि उपलब्ध गराउन सरकार, राज्यका निकाय, नागरिक, सरोकारवाला सबैको अहं भूमिका रहन्छ । त्यसमध्येको एक सरोकारवालामा हो, नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) । पशुपन्छी औषधि मापदण्डअनुसार नहुँदा मानव तथा पशु स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले विशेषज्ञताको पाटोबाट यसको भूमिका अन्यको तुलनामा अझ बढी अपेक्षित र महत्वपूर्ण हुन्छ । एनभिएले पशुचिकित्सकको हकहितका अलावा पशु स्वास्थ्य, उत्पादकत्व वृद्धि, जुनोटिक रोगहरूको निदानलगायत पाटोमा रचनात्मक भूमिका निर्वाह गर्दै आइरहेको छ ।

नेपाल भेटेरिनरी एसोसिएशनका महासचिव डा. शंकर न्यौपाने पशुवस्तुको औषधि र फिड सप्लिमेन्टमा गुणस्तर अपरिहार्य भएको बताउँछन् । यद्यपि, यसको गुणस्तर कायम गर्न जुन तहको पूर्वाधार, जनशक्ति र स्रोतसाधन हुनुपर्ने हो, त्यो नभएको उनको भनाइ छ ।

डा. न्यौपानेसँग पशुपन्छी औषधि बजारको वर्तमान अवस्था, पशुवस्तुको औषधि गुणस्तरीय नहुँदा पर्ने प्रभावलगायत विषयको सेरोफेरोमा रहेर भेट टाइम्स मासिक प्रतिनिधिले गरेको सवाल :

पशुपन्छी औषधि र फिड सप्लिमेन्टको नेपाली बजार अवस्थालाई कसरी हेर्नुभएको छ ?

नेपाल भेटेरिनरी एसोसिएसनको महासचिवका रूपमा भन्नुपर्दा नेपालमा पशुपन्छी औषधि बजार अलि ठूलै छ । यो ५–६ अर्बको भन्दा पनि अझै ठूलो होला जस्तो लाग्छ । व्यावसायिक पशुपन्छी पालनको कल्चर, बिरामी पशुवस्तुको उपचार गर्नुपर्छ भनेर नागरिक तहमा देखिएको जागरणले सन्तुलित आहारासँगै औषधिको प्रयोग हुने गरेको छ । यसको माग नबढे पनि निरन्तर छ भन्ने हाम्रो बुुझाइ छ ।

पशुपन्छी औषधिका आफ्नै मापदण्ड र गुणस्तर छन् । यसमा चाहिँ हामी कहाँनिर छौं ?

विश्व पशुस्वास्थ्य संगठन, डब्लुटिओलगायतका अन्तर्राष्ट्रिय निकायले औषधिका ४÷५ वटा मापदण्ड तय गरेका छन् । जुन अनिवार्य रूपमा पालना गरेको हुनुपर्छ । कुनै पनि औषधि, फिड सप्लिमेन्ट उत्पादन भइसकेपछि त्यसको गुणस्तर, परिमाण, उत्पादनको असल अभ्यासलगायत पाटो हेर्ने संयन्त्र पनि आवश्यक हुन्छ । तर हाम्रोमा त्यस्तो संयन्त्र जति हुनुपर्ने हो, त्यो छैन ।

दोस्रो कुरा छ, सुरक्षाको । औषधिको रेसिडियल इफेक्टको लिमिट कतिसम्म हुने, त्यसको ‘मेजरमेन्ट’को कुरा, सेप्टीको मार्जिन, औषधिको टक्सिसिटीको प्रभावलगायतलाई पनि नियमन र अनुुगमन गर्न जरुरी हुन्छ । तर त्यसका लागि संयन्त्र, जनशक्ति जे जति आवश्यक पर्छ, त्यो पनि हामीसँग छैन । एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) अहिले जताततै देखिएको छ । मलाई लाग्छ, पशुपन्छी क्षेत्रमा एन्टिबायोटिक परीक्षण गर्न ल्याबको क्षमता पनि छैन । मात्रा कति हुनुपर्ने, ठीक छ÷छैन, चेकजाँच गर्ने संयन्त्र, संरचना, जनशक्तिको अन्तर्राष्ट्रिय मापदण्ड हुन्छ । यसको न्यूनतम मापदण्ड पनि हामीले फलो गर्न सकेको अवस्था छैन । यसमा हुनुपर्ने संस्थागत विकास, नीतिमा हुनुपर्ने कुरा नभएर हामी परम्परागत तरिकाले चलिरहेका छौं ।

औषधि, फिड सप्लिमेन्ट उत्पादन गरेपछि उत्पादकले त्यसमा के–के छ भनेर दाबी गरेको हुन्छ । त्यो दाबीअनुसारको कुरा औषधि र फिड सप्लिमेन्टमा छ कि छैन भनेर जाँच्ने हाम्रो संयन्त्र पनि निकै फितलो छ । हुन त, हाम्रा संरचना पनि छन् । पशु सेवा विभागअन्तर्गत गुणस्तर परीक्षण गर्ने प्रयोगशाला छ । औषधि व्यवस्था विभाग आफैंले बेलाबेला अनुुगमन पनि गर्छ । तर यी काम प्रभावकारी ढंगले जुन लेभलमा हुनुपर्ने हो, त्यो भइरहेको छैन । भएकै संरचनाहरूले गर्न सक्ने काम गरेनन्, नियतमै समस्या देखियो भनिन्छ नि ?

सरकारी निकायका अनुसन्धान र सञ्चारमाध्यमबाट यसबारे विभिन्न कुराहरू बाहिर आइरहेका छन् । यसले कहीँ न कहीँ गडबड छ भन्ने देखाउँछ । यसमा कि त व्यावसायिक पाटोमा रहनेहरूको कमजोरी हुनुपर्छ या नियमन गर्ने निकायमा रहनेहरूको ।

पशुपन्छी क्षेत्रमा चिकित्सक, प्राविधिकलगायत जनशक्ति छौं । हाम्रो आफ्नै जिम्मेवारी र उत्तरदायित्वहरू छन् । हामीले आफ्नोतर्फबाट जति उत्तरदायित्व पूरा गर्नुपर्ने हो, त्यो नभएको हो कि जस्तो लाग्छ । यद्यपि, एनभिए यो पाटोमा धेरै बोल्न चाहँदैन । किनभने यो सरकारको जिम्मेवारी हो ।

पशुचिकित्सकहरू पनि गुणस्तरहीन, अनधिकृत औषधि कारोबारमा साझेदार बनिरहेको आरोप कतिपयले लगाउने गरेका छन् । यसबारे यहाँको भनाइ के छ ?
मलाई लाग्छ, नेपाल भेटेरिनरी एसोसिएसनका सदस्यहरू तपाईंले भनेजस्तो गतिविधिमा संलग्न हुनुहुन्न । हल्लाको भरमा कसैमाथि दोषारोपण गर्ने कुरा उपयुक्त पनि हुँदैन । पशुचिकित्सक यस्तो कार्यमा संलग्न भएको अहिलेसम्म पुष्टि नभएकाले यो आरोप मिथ्या हो । यदि यस्ता अनैतिक कार्यमा हाम्रा सदस्यहरू संलग्न हुनुहुन्छ भने उहाँहरू कानूनी दायरामा आउनुपर्छ । यसमा एनभिएले अवरोध गर्दैन, कर्मअनुसारको फल सबैले पाउनुपर्छ भन्नेमा एनभिए प्रतिबद्ध छ ।

पशुवस्तुका औषधि किन गुणस्तरीय हुनुपर्छ ? प्रतिबन्धित र गुणस्तरहीन पशुऔषधिले के कस्ता प्रभाव र असरहरू पर्छन् ?

सबैलाई थाहा छ, पशुजन्य उत्पादनमा दूध, अण्डा र मासु हामीले धेरै खपत गर्छौं । वार्षिक सरदर १५÷१६ किलोग्राम मास, ८०÷८५ लिटर दूध, ५० वटाभन्दा बढी अण्डा उपभोग गर्ने गरेको हाम्रो तथ्यांक छ । यो हाम्रो आहारा र पोषणको प्रमुख स्रोत पनि हो । यदि त्यो खानेकुरा नै स्वस्थ भएन, अस्वस्थ भयो भने जनस्वास्थ्यमा ठूलो असर गर्छ । जनताको स्वास्थ्य बचाउन पनि पशुजन्य वस्तु स्वस्थ हुनैपर्छ । त्यसका लागि पनि पशुवस्तुको औषधि गुणस्तरीय हुनुपर्छ ।
अर्को कुरा, मानव स्वास्थ्यमा लाग्ने ७० प्रतिशतभन्दा बढी रोग पशुपन्छीबाटै उत्पत्ति हुन्छ । विश्व स्वास्थ्य संगठनले त प्रमाणित नै गरेको छ कि ६१ प्रतिशतभन्दा बढी सरुवा रोगको उत्पत्तिस्थल पशु हो । यस्ता जुनोटिक डिजिज पशुमा लाग्यो र नियन्त्रण भएन भने मानिसमा पनि सर्छ । त्यस्ता जुनोटिक रोगहरूलाई नियन्त्रण गर्न पनि औषधिमा गुणस्तरीयता आवश्यक पर्छ ।

तेस्रो कुरा, पशुको उत्पादन बढाएर उत्पादकत्व वृद्धि गर्न, किसानले बढी नाफा लिन, पशुको स्वास्थ्य संरक्षण गर्न पनि औषधि मापदण्डअनुसार हुनुपर्छ । गुणस्तर नभएका औषधिले न रोग नियन्त्रण गर्न सक्छ, न महामारी नियन्त्रण हुन्छ । गुणस्तरहीन औषधि र फिड सप्लिमेन्ट बजारमा बिक्री वितरण हुँदा किसानको पैसा मात्र खर्च हुने, समस्या समाधान नहुने बरु नोक्सान हुने हुन्छ । पशुजन्य वस्तु स्वस्थ भएन भने त्यसको असर मानव स्वास्थ्यमा पनि पर्छ । एएमआरका कारण पनि हामीले पशुवस्तुलाई गुणस्तरीय औषधि चलाएनौं भने मानवमा त्यो समस्या निम्तिएर विकराल समस्या ल्याउन सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *