तनहुँका किसानलाई दूधमा प्रतिलिटर दश रुपैयाँ अनुदान
दमौली : भिमाद नगरपालिकाले दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहनस्वरूप प्रतिलिटर रु १० अनुदान उपलब्ध गराउने निर्णय गरेको छ।
दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर रु १० को दरले अनुदान उपलब्ध गराइने भिमाद नगरप्रमुख दधिराज सुवेदीले राससलाई जानकारी दिए।
यस उद्देश्यका लागि नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच सम्झौता भएको छ। सम्झौताअनुसार दूध उत्पादन गर्ने किसानलाई सहकारीमार्फत उक्त रकम वितरण गरिनेछ।
नगरपालिकाले दूधको मूल्यसमेत निर्धारण गरेको छ। भदौ १ गतेदेखि माघ मसान्तसम्म खरिद मूल्य प्रतिलिटर रु ११०, थोक बिक्री मूल्य रु १२० र खुद्रा बिक्री मूल्य रु १३० तोकिएको छ।
त्यसैगरी, फागुन १ गतेदेखि साउन मसान्तसम्म खरिद मूल्य प्रतिलिटर रु ११५, थोक बिक्री मूल्य रु १३० र खुद्रा बिक्री मूल्य रु १४० निर्धारण गरिएको छ।
