चितवनसहित ३ जिल्लामा ५४ प्रतिशत कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ पुष्टि
काठमाडौँ :चितवनसहित छिमेकी जिल्लामा कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ (CAV) को उच्च दरमा सङ्क्रमण देखिएको छ। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुर,चितवनले गत साउनदेखि कात्तिकसम्म गरेको अध्ययनमा १८२ नमूनामध्ये ५४ प्रतिशतमा यो भाइरस पुष्टि भएको हो।
प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार चितवन, मकवानपुर र नवलपरासीबाट पठाइएका नमूनामा साबिक वर्षदेखि देखिएको सो रोग यस वर्ष पनि उल्लेखनीय रूपमा पाइयो। गत आर्थिक वर्षमा पहिलोपटक यो भाइरस भेटिएपछि कार्यालयले निरन्तर अध्ययन सुरु गरेको थियो।
उनका अनुसार, चिकेन एनेमिया भाइरसले कुखुराको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर बनाइदिन्छ, जसका कारण अन्य रोगहरूको जोखिम बढ्छ।
डा. श्रेष्ठले भने, “सिधै मृत्युदर बढाउने रोग नभए पनि उत्पादन घट्दा किसानलाई आर्थिक प्रभाव पर्छ।”
यो रोग लागेका कुखुरामा रक्तअल्पता, तौल नबढ्ने, उत्पादनमा कमी आउने जस्ता लक्षण देखापर्छन्। उनले थपे, “कुखुराले सामान्य रूपमा चरा खान र हिँडडुल गर्न सक्ने भए पनि यसको दीर्घकालीन असर गम्भीर हुन सक्छ, त्यसैले बेवास्ता गर्नु हुँदैन।”
खोप अनिवार्य, जैविक सुरक्षामा कडाइ आवश्यक
यो रोगबाट बचाउनका लागि ब्रोइलरको माउ र लेयर्समा—माउ तथा चल्ला दुवैमा—चिकेन एनेमिया भाइरसविरुद्धको खोप अनिवार्य रुपमा दिनुपर्ने डा. श्रेष्ठले बताए।
हाल चितवनसहित १६ जिल्लाबाट पठाइने नमूना यही प्रयोगशालामा परीक्षण हुँदै आएका छन्। उनले जैविक सुरक्षाको कमीकमजोरीले पनि रोग फैलिने जोखिम उच्च हुने बताए।
अहिले कुखुरामा इन्फ्लुएन्जा एच–९ को जोखिम पनि रहेका कारण किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै उनले फार्ममा दाना, पानी, औषधि, भूषा लैजाँदा तथा अण्डा बाहिर पठाउँदा जैविक सुरक्षा (biosecurity) कडाइका साथ पालन गर्न सुझाव दिए। बजारमा उपलब्ध निःसङ्क्रमण औषधि प्रयोग गरी फार्ममा प्रवेश गर्ने व्यक्ति तथा सवारीलाई पूर्ण निःसङ्क्रमण गर्नुपर्ने उनले बताए।
