कृषिमन्त्री डा. परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ: कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियार र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सङबीच आज द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्ताका क्रममा मन्त्री परियारले नेपाल–चीनबीचको दीर्घकालीन मित्रता, विश्वास र सहकार्यलाई कृषि तथा पशुपन्छी विकास क्षेत्रमार्फत अझ सुदृढ र गहिरो बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो। यो जानकारी उहाँको सचिवालयले दिएको हो।

मन्त्री परियारले आधुनिक, दिगो र जलवायुमैत्री कृषि प्रणाली विकास, उत्पादन वृद्धि तथा द्विपक्षीय व्यापार विस्तारका लागि चीनको प्राविधिक, संस्थागत र व्यापारिक सहयोग नेपालका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। विभिन्न प्रोटोकल, अवधारणापत्र तथा सहकार्य संयन्त्रहरूको प्रभावकारी कार्यान्वयनका लागि दुवै देशबीच निरन्तर संवाद र साझेदारी अपरिहार्य रहेको पनि उहाँले बताउनुभयो।

नेपाल–चीन कृषि सहकार्यले नेपाली कृषक, ग्रामीण अर्थतन्त्र तथा समग्र राष्ट्रिय विकासमा प्रत्यक्ष योगदान पु¥याउने विश्वास नेपाल सरकारको रहेको मन्त्री परियारले धारणा व्यक्त गर्नुभयो।

राजदूत चेन सङले कृषि क्षेत्रमा सहयोग विस्तार, क्षमता अभिवृद्धि, मिश्रित मल उत्पादन, रोगमुक्त भैँसीको मासु निर्यात तथा कृषि प्रदर्शन पार्क स्थापनाबारे चीन सकारात्मक रहेको जनाउनुभयो।

दुवै पक्षले प्राविधिक सहयोग, लगानी तथा ज्ञान–अनुभव आदानप्रदानलाई प्राथमिकता दिँदै नेपालको कृषि क्षेत्र सुदृढ पार्ने तथा दिगो विकास प्रवर्द्धन गर्ने विषयमा सहमति व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *