गैरकानूनी धन्दामा बायोभेट,बिना दर्ता औषधि भित्र्याउँदै, बेच्दै

कन्सिप्लेक्स–१०० एमएल त अहिलेसम्म विभागमा एक पटक पनि दर्ता नै गरिएको छैन

काठमाडौं । भारतीय कम्पनी कन्सेप्ट फर्मास्युटिकल्स लिमिटेडले दर्ताबेगरका विभिन्न किसिमका पशुपन्छी औषधि निर्वाध ढंगले नेपाली बजारमा बिक्री वितरण गरिरहेको खुलासा भएको छ । कन्सेप्ट फर्मास्युटिकल्सको आधिकारिक नेपाली बिक्रेता बायोभेट फर्मा प्रालिले दर्ताबिनाका औषधि नेपाली बजारमा भित्राएर निर्बाध बिक्री वितरण गरिरहेको हो । लामो समयदेखि कन्सेप्ट फर्मास्युटिकल्सका अधिकांश औषधिको कारोबार अनधिकृत ढंगले भइरहे पनि नियामक निकाय रमिते बनेर बसेको छ ।

औषधि ऐन, २०३५ अनुसार, कुनै पनि औषधि उत्पादक कम्पनीले आफूले उत्पादन गरेको औषधि बजारमा बिक्री गर्न अनिवार्य रूपमा औषधि व्यवस्था विभाग (डिडिए) मा दर्ता गरेको हुनुपर्छ । एक पटक दर्ता गरेर मात्रै पनि पुग्दैन, त्यसको नवीकरणसमेत नियमित गरेको हुनुपर्छ । यति मात्र होइन, हरेक व्याचका औषधि बिक्रीका लागि विभागसँग अनुमति लिनुपर्छ । एक पटक दर्ता गरिएका औषधि समयमै नवीकरण नगरेमा पुनः दर्ता गर्नुपर्ने व्यवस्था ऐनमा स्पष्टसँग गरिएको छ । बजारमा गुणस्तरीय औषधि बिक्री होस्, गुणस्तरहीन र प्रतिबन्धित औषधिले नकारात्मक असर नपु¥याओस् भनेर औषधिको उत्पादन तथा कारोबारमा कठोर नियम बनाउने अन्तर्राष्ट्रिय अभ्यास छ । तर कन्सेप्टले औषधि ऐन, २०३५ को ठाडो उल्लंघन गर्दै बिना दर्ताका पशुपन्छी औषधि नेपाली बजारमा निर्वाध पठाइरहेको छ भने बायोभेट फर्माले त्यसलाई साथ दिँदै नेपाली बजारमा बिक्री वितरण गरिरहेको छ ।

भेट टाइम्स मासिकको खोजबाट कन्सेप्टले बिना दर्ताका औषधि नेपाली बजारमा बिक्री गरिरहेको देखिएपछि हामीले औषधि व्यवस्था विभागसँग त्यसको क्रस चेकका लागि दर्ता स्थितिबारे जानकारी माग गरेका थियौं । विभागले उपलब्ध गराएको सूचना अनुसार कन्सेप्टले नेपालमा भित्राइरहेको १५ वटा औषधिमध्ये ३ वटा औषधि बिनादर्ताको भएको पुष्टि भएको छ । पशुहरूका लागि प्रयोग हुने सल्कोप्रिम ट्याब्लेट, कन्सिप्लेक्स–१०० एमएल र फ्लोरोटोन फोर्ट दर्ताबिनै बिक्री वितरण भइरहेको खुलेको हो ।

२५ असार ०६० मा दर्ता प्रमाणपत्र जारी भएको सल्कोप्रिम ट्याब्लेट त्यसपछि एक पटक पनि नवीकरण तथा अद्यावधिक नभएको औषधि व्यवस्था विभागका सूचना अधिकार प्रमोद केसीले जानकारी दिए । उनका अनुसार, कन्सेप्ट फर्मास्युटिकल्सकै उत्पादन कन्सिप्लेक्स–१०० एमएल त अहिलेसम्म विभागमा एक पटक पनि दर्ता नै गरिएको छैन । उत्पादन मिति जनवरी २०२५ रहेको ब्याच नं. सि२५सि४८५००३ को कन्सिप्लेक्स १०० एमएल बायोभेटले बजारमा बिक्री वितरण गरिरहेको प्रमाण भेट टाइम्स मासिकसँग सुरक्षित छ । बायोभेटले नै आयात गरेर बिक्री गरिरहेको फ्लोरोटोन फोर्ट त औषधि व्यवस्था विभागको रेकर्डमा दर्ता नै छैन । तर उपभोग्य अवधि २०२८ सम्म रहने गरी बजारभर दर्ता नै नभएको यो औषधि अहिले बिक्री वितरण भइरहेको छ ।

बायोभेटले आयात गरिरहेको औषधिमध्ये मुखबाट पशुवस्तुलाई खुवाइने कनफ्लोक्स भेट ओरल–५०० एन्टिबायोटिक औषधि हो । यो ब्याक्टेरियल सक्रमणको उपचारमा प्रयोग हुन्छ । सल्कोप्रिम–१०० एमजी पशुहरूमा श्वासप्रश्वास, पाचन प्रणाली, मूत्रमार्ग र प्रजनन संक्रमणहरू जस्ता ब्याक्टेरियल रोगहरूको उपचारमा प्रयोग हुने एन्टिबायोटिक पाउडर हो । एनथेलमिन्टिक वर्गको अल्बिडोल १००० एमएल विभिन्न प्रकारका जुकाहरूको संक्रमण हटाउन प्रयोग गरिन्छ भने अल्बिडोल बोलस–१५०० एमजी विशेष गरी वयस्क लिभर–फ्लूकविरुद्ध उपयोगी हुँदै आइरहेको छ । सल्कोप्रम ट्याब्लेट मूत्रमार्गको संक्रमणमा प्रयोग हुन्छ भने प्राजिकन परजीवी र जुकाको संक्रमणको उपचारमा सहायक सिद्ध हुने गरेको पशुपन्छी चिकित्सक बताउँछन् ।

बायोभेटका सञ्चालक लीला गौतम भने आफूले दर्ताबेगरका कुनै पनि औषधि आयात नगरेको दाबी गर्छन् । कन्सेप्टका जति पनि औषधि अहिले भित्रिरहेका छन्, ती सबै दर्तालगायतका प्रक्रिया पूरा गरेर मात्र ल्याएको उनको भनाइ छ ।
‘दर्ता, नवीकरणलगायतका सबै प्रक्रिया पूरा गरेर मात्रै मैले कन्सेप्टका औषधि नेपालमा आयात गरिरहेको छु,’ उनले भने । गौतमले यस्तो दाबी गरे पनि बजारमा भने कन्सेप्टका दर्ता नै नगरिएका औषधि उनकै बायोभेट फर्माबाट खरिद गरेर बिक्रीवितरण भइरहेका छन् ।

बढाउँदै स्वास्थ्य जोखिम

जथाभावी एन्टिबायोटिकको प्रयोगका कारण कुनै पनि औषधिले काम नगर्ने अवस्था आउँछ । मेडिकल चिकित्साका लागि टाउको दुखाइको विषय बनेको यो समस्यालाई चिकत्सकीय भाषामा एन्टिमाइक्रोबिएल रेसिस्टेन्स (एएमआर) भनिन्छ ।

अहिले यो समस्या नेपालसहित विश्वभर नै पेचिलो रूपमा देखापरिरहेको छ । चिकित्सकहरूले यसप्रति गम्भीर बन्न आग्रह गर्दै एन्टिबायोटिकको प्रयोग मितव्ययी भएर गर्न सुझाइरहेका छन् । यसबारे आममानिसलाई सुसूचित गर्न विश्व प्रतिजैवीक प्रतिरोध (एन्टिमाइक्रोबिएल रेसिस्टेन्स) सचेतना सप्ताह नेपालले पछिल्ला केही वर्षदेखि हरेक वर्ष मनाउँदै आइरहेको छ ।

सरकारले एन्टिमाइक्रोबिएल रेसिस्टेन्स सप्ताह मनाइरहँदा बायोभेटले भने अन्धाधुन्ध एन्टिबायोटिक औषधि आयात गरिरहेको छ । पशु चिकित्सकहरू प्रयोगशाला परीक्षण गरेर बिक्री वितरणको अनुमति दिनुपर्ने औषधि मनपरी भित्रिँदा पशु तथा मानव स्वास्थ्यमा गम्भीर समस्या खडा हुने बताउँछन् । ‘औषधि निकै संवेदनशील विषय हो । बिनाअनुमति बिना दर्ता औषधि उत्पादन हुँदा पशु तथा मानवमा गम्भीर स्वास्थ्य समस्या सिर्जना हुन सक्छ,’ नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव डा. शंकर न्यौपाने भन्छन् ।

कन्सेप्टको जुक्ति–एकपालि दर्ता गरेर निरन्तर बिक्री

कनफ्लोक्स भेट ओरल ५०० एमएल झण्डै १८ वर्षअघि ०६५ फागुन २५ गते औषधि व्यवस्था विभागमा दर्ता गरिएको थियो । प्रमाणपत्र दर्ता नं. ३७४०४०८१२०११३ रहेको कनफ्लोक्स भेट ओरल ५०० एमएल नेपालमा बिक्री वितरणका लागि त्यसपछि एक पटक पनि नवीकरण गरिएको छैन । कनफ्लोक्स भेट ओरल ५०० एमएल मात्र होइन, अन्य औषधि पनि एक पटक दर्ता गर्ने र त्यसपश्चात नवीकरण नगर्ने गरेको पाइएको छ । नेपालको कमजोर नियामक र भ्रष्ट कर्मचारीतन्त्रको फाइदा उठाउँदै कन्सेप्टका नेपाली आधिकारिक बिक्रेता बायोटेभले दुई दशकभन्दा बढी समयदेखि दर्ता नवीकरणबिनाका औषधि बिक्रेताहरूमार्फत किसानहरूलाई बिक्री गरिरहेको तथ्य औषधि व्यवस्था विभागमा ०६० सालमा दर्ता भई नवीकरण नभएका औषधि हालसम्म उपलब्ध हुनुले पुष्टि हुन्छ । ०६० असार २५ गते दर्ता भई त्यसपछि एक पटक पनि नवीकरण नगरिएको सल्कोप्रिम–१०० एमजी लामो समयदेखि अनधिकृत रूपमा बजारमा बिक्री भइरहेको पाइएको हो ।

त्यस्तै, सल्कोप्रिम–१०० एमजी, अल्बिडोल १००० एमएल, अल्बिडोल बोलस–१५०० एमजी, सल्कोप्रिम ट्याब्लेट र प्राजिकन पनि एक पटक दर्ता गरेर नवीकरण प्रक्रिया पूरा गरिएको छैन । औषधि व्यवस्था विभागका अनुसार, सल्कोप्रिम–१०० एमजी र अल्बिडोल १००० एमएल ०६५ फागुन २५ मा, अल्बिडोल बोलस–१५०० एमजी ०६६ माघ ७ मा र प्राजिकन ०७५ कात्तिक ७ मा औषधि व्यवस्था विभागमा दर्ता गरिएकोमा त्यसपछि नवीकरण भएको छैन ।

डिडिएले तोकेको एमआरपी भन्दा बढीमा बिक्री

नेपालमा उत्पादन भएको र विदेशबाट आयात गरिएको कुनै पनि औषधि बजारमा बिक्रीका लागि औषधि व्यवस्था विभागले मूल्य तोक्ने कानूनी व्यवस्था छ । विभागले तोकेको अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढीमा कुनै पनि औषधि बिक्री वितरण गर्न पाइँदैन ।

औषधि ऐन, २०३५ मा स्पष्टसँग औषधिमा एमआरपी अनिवार्य रूपमा उल्लेख हुनुपर्ने, लेबलिङ लगाउनुपर्ने लगायत व्यवस्था राखिएको छ । दर्ता नवीकरणबिनै औषधिको कारोबार गर्दै आइरहेको कन्सेप्टको आधिकारिक नेपाली बिक्रेता बायोभेटले भने एमआरपीभन्दा बढी मूल्यमा पशुवस्तुको औषधि बेचिरहेको छ ।

औषधि व्यवस्था विभागले कन्सिप्लेक्स इन्जिेक्सन १०० एमएलको एमआरपी ३५४ रूपैयाँ, फ्लोरेटोन फोर्ट बोलुस ३बीको १४६ र सुल्कोप्रिम ट्याब ४टीको १०१७ रूपैयाँ तोकेको छ । तर बायोभेटले लेबलिङमा विभागले तय गरेको अधिकतम खुद्रा मूल्यभन्दा बढी राखेर किसानमाथि ठगी गरिरहेको छ । लीला गौतम स्वाभित्वको बायोभेटले यी औषधिको खुद्रा मूल्य क्रमशः ३६१, १६० र १२१० रूपैयाँ राखेर बेइमानी गरेको हो । लामो समयदेखि विभागले तोकेको खुद्रा मूल्यभन्दा बढीमा कन्सेप्टका औषधि बिक्री भइरहे पनि राज्यका निकाय, सरोकारवाला कसैले यसमाथि प्रश्न उठाउन आवश्यक ठानेका छैनन् ।

भन्सार र डिडिएको भूमिका शंकास्पद

कुनै पनि औषधि दोस्रो मुलुकबाट भित्राउन भन्सारमा दर्ता, नवीकरण, आयात सिफारिसपत्र लगायत कागजात पेश गर्नुपर्ने हुन्छ । आवश्यक प्रक्रिया नपुगेका कुनै पनि वस्तुलाई भन्सारले छाड्न मिल्दैन ।
कन्सेप्टका उल्लिखित औषधि नेपालको मौजुदा कानून अनुसार भित्रिन पाउँदैन । किनभने, यसको दर्ता नवीकरण नै भएको छैन न त औषधि व्यवस्था विभागबाट आयात अनुमति नै लिएको छ । बायोभेटका सञ्चालक लीला गौतम स्वयं ती औषधि आफूले नवीकरण नगरेको स्वीकार गर्छन् । अधिकांश औषधि २० वर्षअघि दर्ता भएर त्यसपछि नवीकरण नगरिएको भए पनि भन्सार विभागको जाँचपास पार गर्दै बजारमा बिक्री वितरण भइरहेको छ । यसले भन्सार विभागको नियत र भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको सरोकारवाला बताउँछन् ।
‘आवश्यक प्रक्रिया नपुगेका कुनै पनि वस्तु भन्सार विभागबाट अगाडि बढ्न सक्दैनन्,’ एक पशुपन्छी औषधि व्यवसायी भन्छन्, ‘दर्ता नवीकरण नै नभएको कन्सेप्टको औषधि कसरी भन्सार जाँच पास पार गरेर बजारमा भित्रियो ? गम्भीर प्रश्न खडा भएको छ ।’

मानव तथा पशुको औषधि बजार स्वस्थ तथा स्वच्छ राख्ने दायित्व औषधि व्यवस्था विभागको हो । झण्डै दुई दशकभन्दा बढी समयदेखि कन्सेप्टका औषधि अनधिकृत ढंगले नेपाली बजारमा बिक्री वितरण भइरहे पनि औषधि व्यवस्था विभागले त्यसलाई अंकुश लगाउन प्रयास गरेको देखिँदैन । यो रवैयाले भन्सार विभागसँगै औषधि व्यवस्था विभागमाथि पनि प्रश्न उठेको कतिपयको भनाइ छ ।
‘देशभित्र के, कस्ता औषधि बिक्री भइरहेका छन् भनेर चेकजाँच गर्ने काम औषधि व्यवस्था विभागको हो,’ एक पशुपन्छी औषधि व्यवसायी भन्छन्, ‘२०–२२ वर्षसम्म कुनै कम्पनीले दर्ता नवीकरणबिनै औषधि बिक्री गरिरहेको विभागले थाहा नपाउने भन्ने हुँदैन । भन्सार विभागको जस्तै उसको भूमिका पनि यहाँनिर शंकास्पद छ ।’
एक औषधि व्यवसायी कन्सेप्टको औषधिबारे पटक–पटक औषधि व्यवस्था विभागमा गुनासो गरेको तर उसले चासो नदिएको बताउँछन् । ‘कन्सेप्टले अनधिकृत ढंगले पशुवस्तुको औषधि बिक्री गरेको बारे पटक–पटक हामीले गुनासो गरेका छौं । तर कहिल्यै सुनुवाइ भएन,’ ती व्यवसायीको भनाइ छ ।

स्रोतका अनुसार, पशुवस्तुका औषधिमा देखिएका खराबीबारे गुनासो गर्दा औषधि व्यवस्था विभागले त्यसउपर एक्सन नलिने, बरु रमिते बनेर बस्ने गरेको छ । एकै व्यक्तिलाई लामो समयदेखि महानिर्देशकको भूमिकामा निरन्तरता दिइएकाले पनि औषधिको बजारमा समस्या आएको कतिपयको बुझाइ छ । लामो समयदेखि औषधि व्यवस्था विभागका महानिर्देशक रहेका नारायण ढकालको रवैया र नियतमाथि दर्जनौं प्रश्न उठ्दै आइरहेका छन् । उनीमाथि प्रतिबन्धित औषधि भित्राएर कारोबार गरिरहेका व्यवसायीलाई समेत उन्मुक्ति दिने गरेको आरोप लाग्ने गरेको छ । स्वास्थ्य मन्त्री फेरिएपिच्छे ढकाललाई हटाउन माग गर्दै उनीविरुद्ध उजुरी पर्ने गरेका छन् । तर कसैले पनि उनलाई छुनसम्म सकेका छैनन् । एक औषधि व्यवसायी इमानदार मानिने कांग्रेस नेता प्रदीप पौडेललाई ढकालका बदमासीबारे प्रमाणसहित उजुरी दिँदासमेत कारबाही नभएको तीतो गुनासो गर्छन् । ‘इमानदार र निष्ठावान् मानिएका कांग्रेस नेता प्रदीप पौडेल स्वास्थ्यमन्त्री हुँदा हामीले प्रमाणसहित उनलाई बुझाएका थियौं, विकल्प खोज्न भनेका थियौं । तर उनले टेरपुच्छर लगाएनन्,’ ती व्यवसायीले विरक्त भावमा भने । जेन–जी विद्रोहपछि बनेको सरकार यस्ता वेथितिप्रति निर्मम हुनुपर्नेमा उसले समेत त्यस्तो आशालाग्दो संकेत नदेखाएको उनले गुनासो गरे ।

भारतीय रवैया, नेपाली व्यवसायीको साथ

भारतमा औषधि सम्बन्धी नीतिनियम निकै कडा छन् । त्यहाँ नियमविपरीत औषधि उत्पादन तथा बिक्री वितरण गर्नेमाथि कठोर कारबाही गर्ने व्यवस्था छ । त्यसैले त्यहाँको औषधि बजार तुलनात्मक रूपमा हाम्रोभन्दा स्वस्थ र स्वच्छ छ ।
तर त्यहीँ भारतीय कम्पनीले नेपालमा पठाएका औषधिबारे भने बारम्बार प्रश्न उठ्ने गरेका छन् । जानकारहरूका अनुसार, भारतीय कम्पनीले नेपालमा मात्र बिक्री गर्न मानव तथा पशुका औषधि उत्पादन गरेर नेपालतर्फ पठाइदिने गरेका छन् ।
‘भारतमा औषधिमा बदमासी गरे कठोर सजाय हुने व्यवस्था छ,’ एक औषधि व्यवसायी भन्छन्, ‘त्यसैले भारतीय कम्पनीहरूले नेपालमा बिक्री गर्न अलग्गै औषधि बनाएर पठाउने गरेका छन् ।’ हुन पनि, भारतीय कम्पनीले उत्पादन गरेका भिटामिनमा पानी, फिड सप्लिमेन्टमा खरानी जस्ता वस्तु भेटिएका घटना नयाँ होइनन् ।
भारतीय कम्पनीले नेपालप्रति यस्ता गलत हर्कत गर्दै आइरहेका भए पनि नेपाली व्यवसायीले तिनैलाई साथ दिएर आयात गर्ने गरेका छन् । राष्ट्र र जनतालाई केन्द्रमा राखेर कारोबार नगर्दा केही वर्षदेखि नेपाली पशुपन्छी औषधि बजार गुणस्तरहीन औषधिहरूको डम्पिङ साइट जस्तो बनेको छ ।

औषधि बजारमा मनपरी, नियामक मौन

पशुपन्छी औषधि बजारमा माथि प्रश्न उठेको लामै समय भइसकेको छ । दर्ता÷नवीकरण नगरी, गुणस्तर सम्झौता अहिले पनि बजारमा औषधिहरू बिक्री भइरहेका छन् । यति मात्र होइन, शक्ति र सत्ताको दुरूपयोग गरेर प्रतिबन्धित एन्टिबायोटिक्सहरू समेत भित्रिरहेका छन् । यस्ता प्रतिबन्धित एन्टिबायोटिक्सले मानव शरीरमा गम्भीर असर पारिरहेका छन्, रोकिएको छैन । नेपाल पशुपन्छी औषधि व्यवसायी संघका पूर्वअध्यक्ष ऋषि बडाल र उनकी पत्नी सुना सुवेदी बडाल कीर्ते कागज बनाएर प्रतिबन्धित एन्टिबायोटिक्स भित्राइ मानव स्वास्थ्यमाथि खेलबाड गरेको अभियोगमा पक्राउ परेकोमा केही साताको हिरासत बसाइपछि अदालतको आदेशमा धरौटीमा रिहा भएका छन् ।
पशुपन्छी औषधि बजारमा अहिले जे गरे पनि हुने अवस्था छ । धमिलो पानीमा माछा मार्दै व्यवसायीहरूले गलत धन्दा चलाइरहेका छन् । यस्तोमा नियामक निकायले आफूलाई खरो उतार्नु पर्ने हो । तर नियामक निकाय आफ्नो कर्तव्य र जिम्मेवारीबाट पन्छिएर कानमा तेल हालेर बस्दा यस्ता गलत गतिविधिहरू फैलँदै गएका छन् । सरोकारवालाहरू गलत गर्नेमाथि औषधि व्यवस्था विभागले कारबाही नगर्दा औषधिको अस्वस्थ कारोबार बढेको चिन्ता गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *