औषधि व्यवस्था विभाग परिसरमा कडा सुरक्षा, व्यवसायी प्रवेश निषेध
काठमाडौं । औषधि ऐन २०३५ मा गरिएको संशोधनको विरोधमा व्यवसायीहरूले सञ्चालन गरिरहेका आन्दोलनका क्रममा आज औषधि व्यवस्था विभाग परिसरमा कडा सुरक्षा व्यवस्था गरिएको छ। विभाग परिसर तथा आसपासको क्षेत्रमा नेपाल प्रहरी तैनाथ गरी धर्नाकारीलाई प्रवेश निषेध गरिएको छ। तर सेवाग्राहीलाई भने सोधपुछसँगै प्रवेश गर्न दिइएको विभागले जनाएको छ।धर्नाका लागि आएका व्यवसायीहरूभने प्रवेशद्वारको बाहिर नै रहेका छन्।
नेपाल पशुपन्छी औषधि व्यवसायी संघका अध्यक्ष रीतेश रिमालका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाल बैठक जारी छ र आफू पनि सोही बैठकमा सहभागी रहेको जानकारी दिएका छन्।
राष्ट्रिय औषधि व्यवसाय संरक्षण समितिको निर्णयअनुसार आज पनि पूर्वनिर्धारित कार्यक्रम यथावत् रूपमा सञ्चालन हुँदैछ। सो निर्णयअनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म औषधि व्यवस्था विभागको प्राङ्गणमा मौन धर्ना कार्यक्रम राखिएको छ। साथै बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म देशभरका सम्पूर्ण खुद्रा, थोक तथा आयात व्यवसाय बन्द गरिने संघले जनाएको छ।
व्यवसायीहरूले आफ्ना मागहरू पूरा नभएसम्म व्यवसायी–माथि केन्द्रित नीति र कानुनविरुद्ध संयुक्त दबाब जारी रहने बताएका छन्। संघले देशभरका सदस्यहरूलाई नजिकको औषधि व्यवस्था विभाग कार्यालयमा उपस्थित भई नैतिक दबाब सिर्जना गर्न आग्रह गरेको छ।


