एसियन भेटेरिनरी एसोसिएसनको ४७औं बैठकमा नेपालद्वारा महत्त्वपूर्ण एजेण्डा प्रस्तुत
काठमाडौं । फेडेरेशन अफ एसियन भेटेरिनरी एसाभेसिएसन (एफएभिए) को ४७औं काउन्सिल बैठक सम्पन्न भएको छ । थाइल्याण्डको राजधानी बैंककमा विभिन्न महत्त्वपूर्ण एजेण्डाहरूमाथि छलफल गर्दै २३ नोभेम्बरमा बैठक सम्पन्न भएको हो ।
एफएभिएमा नेपाल भेटेरिनरी एसोसिएसनसहित २४ सदस्य राष्ट्रका पशुचिकित्सकसँग सम्बद्ध संगठन आबद्ध रहेकोमा १२ सदस्य राष्ट्रय केन्द्रीय अध्यक्षहरूको सहभागिता थियो ।
बैठकमा नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) ले विभिन्न महत्त्वपूर्ण एजेण्डा प्रस्तुत गरेको सो संगठनले जनाएको छ । संगठनका अनुसार एनभिएले एफएभिएको रेबिज स्पेसल कमिटीमा एक सक्रिय सदस्यका रूपमा सहभागी गराउन प्रस्ताव गरेको छ । त्यस्तै, लैंगिक समानता, अपांगता र सामाजिक समावेशितासम्बन्धी कार्यक्रममा प्रत्यक्ष सहभागी भएर योगदान दिने इच्छा पनि नेपालले व्यक्त गरेको छ । एफएभिए र वल्र्ड अर्गनाइजेसन फर एनिमल हेल्थको सहकार्यमा लंगिक समानता, अपांगता र सामाजिक समावेशितासम्बन्धी कार्यक्रम केही समयदेखि सञ्चालन हुँदै आइरहेका छन् ।
एनभिएले एफएभिए सम्मेलन र काउन्सिल बैठक नेपालमा गर्ने अर्को प्रस्ताव पनि सदस्य राष्ट्रका अध्यक्षसामु गरको छ । एनभिएको प्रस्तावअनुरूप एफएभिए सम्मेलन नेपालमा आयोजना गरिएमा नेपालको पशुचिकित्सा क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर मिल्नेछ ।
