नेभ्ला स्थापना दिवस :तत्काल जिल्ला अधिवेशन गर्न सदस्यलाई नेभ्लाको निर्देशन
काठमाडौं । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) ले आफ्नो अधिकार र पहिचान दिलाउने ऐतिहासिक कार्यमा साथ दिने सबै प्राविधिकहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।
नेभ्लाको ३६औं स्थापना दिवसका अवसरमा एक शुुभकामना सन्देश जारी गर्दै अध्यक्ष रामप्रसाद मेहताले आफ्नो पहिचान र अधिकार रक्षामा सहयोगी भूमिका निर्वाह गर्ने सबैप्रति कृतज्ञता जाहेर गरेका हुन् ।
‘पशु सेवाको क्षेत्रमा सेवारत प्राविधिक जनशक्तिहरूको अधिकार, पहिचान र कानूनी मान्यताका लागि पशुस्वास्थ्य तथा पशुसेवा व्यवसायी परिषद् स्थापना भई कार्यान्वयन भइरहेकाले यो ऐतिहासिक कार्यमा सहयोग गर्नुहुने सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं,’ शुुभकामना सन्देशमा भनिएको छ ।
जिल्ला अधिवेशन अविलम्ब सञ्चालन गरेर केन्द्रीय महाधिवेशनको तयारीमा जुट्न पनि अध्यक्ष मेहताले आफ्ना सबै सदस्यहरूलाई अपिल गरेका छन् । मेहताका अनुसार यो वर्ष नेभ्लाले अनिवार्य रूपमा अधिवेशन गर्नुपर्ने स्थिति छ ।
एशोसिएसनलाई एकजुट बनाउँदै हासिल गरेका उपलब्धिलाई संस्थागत गर्न र अबको नयाँ परिवेशमा सशक्त भूमिका खेल्न मेहताले सबै सदस्यमा अपिल गरेका छन् । कृषि तथा पशुसेवा क्षेत्रमा ठोस योजना र प्राथमिकता दिई अगाडि बढाउने अवस्थाले देश रूपान्तरणमा कोशेढुंगाको काम गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।
‘हाल देशमा देखिएको राजनैतिक तरलता, आर्थिक संकटको उपयुक्त व्यवस्थापन र आत्मनिर्भर अर्थतन्त्रको लागि युवाहरूलाई विदेशिनबाट रोक्न र देशभित्र परिचालन गर्न, उत्पादन क्षेत्रलाई बलियो बनाइ कृषि तथा पशुसेवा क्षेत्रमा ठोस योजना र प्राथमिकता दिई अगाडि बढाउने अवस्थाले देश रूपान्तरणमा कोशेढुंगा बन्ने विश्वासका साथ पुनः नेभ्लाको ३६औं स्थापना दिवसको हार्दिक शुुभकामना व्यक्त गर्दछौं,’ सन्देशभा भनिएको छ ।
नेभ्ला पशु प्राविधिमरूको छाता संगठन हो । यसले पेशागत हितका साथसाथै सामाजिक, आर्थिक रूपान्तरणका मुद्दामा आफूलाई स्थानाकालदेखि नै जिम्मेवारपूर्वक प्रस्तुत गर्दै आइरहेको छ ।
