दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी

कञ्चनपुर : भारतमा मजदुरी गरेर परिवार पाल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन्। मजदुरीका क्रममा धेरै दुःख भोगेका रानाले गाउँमै केही गर्ने योजना बनाएपछि भारत छोडी स्वदेश फर्किएका हुन्।

कुनै बेला भारतमा मजदुरी गर्ने राना अहिले गाउँमै डेरी व्यवसायका सफल मालिक बनेका छन्। मजदुरी छोडेर उद्यमी बन्न रानाले धेरै मेहनत र सङ्घर्ष गरेका छन्। विसं २०६८ सालदेखि साइकलमा दूध सङ्कलन गरेर बिक्री गर्न सुरु गरेका उहाँ अहिले डेरी सञ्चालन गर्दै आएका छन्।

रानाले दुई लिटर दूधबाट व्यवसाय सुरु गरेका थिए। अहिले उहाँ दैनिक करिब १,५०० लिटर दूध सङ्कलन गरी बिक्री गर्दै आउनुभएको छ।

“भारतमा मजदुरी गर्दा धेरै दुःख पाइयो, त्यसपछि गाउँ फर्किएर साइकलमै दूध बिक्री गर्न थालेँ,” रानाले बताउनुभयो, “कमाएको रकम बचत गरेर अहिले आफ्नै डेरी सञ्चालन गरिरहेको छु।”

सुरुवातमा साइकलमा दूध सङ्कलन गर्दै हिँड्ने रानाले आफूलाई स्थापित गर्न निकै सङ्घर्ष गर्नुपर्‍यो। यही लगन र परिश्रमका कारण उहाँ सफल व्यवसायी बन्नुभयो। गाउँगाउँबाट दूध सङ्कलन गरी उहाँले स्थानीय झलारी बजार, अत्तरिया र कैलालीसम्म दूध बिक्री गर्दै आउनुभएको छ। हाल उहाँले दूध बोक्नका लागि छ जना कामदार राखेका छन्, जसलाई मासिक रु. २० हजारदेखि २६ हजारसम्म तलब दिनुहुन्छ।

“दुई लिटर दूधबाट सुरु गरेको थिएँ, बिस्तारै दूध सङ्कलन बढ्दै गयो,” उहाँले स्मरण गर्नुभयो, “अहिले दैनिक करिब १,५०० लिटर दूध सङ्कलन हुन्छ।”

यसै व्यवसायबाट रानाले करिब रु. ९० लाख बराबरको सम्पत्ति जोड्नुभएको छ। “दूध बिक्रीबाट सबै खर्च कटाएर वार्षिक करिब रु. १३ लाखसम्म आम्दानी हुन्छ,” उहाँले बताउनुभयो, “यसैबाट जीवन सन्तुष्ट छ, अहिले छोरालाई पनि यही व्यवसायमा लगाएको छु।”

पछिल्ला वर्षहरूमा स्वदेशमा रोजगारी नपाएको कारण धेरै युवा विदेश पलायन भइरहेका छन्। तर विदेशको कठोर श्रमभन्दा आफ्नै भूमिमा केही गर्न सकिन्छ भन्ने विश्वासका साथ फर्किनेहरू पनि छन्। त्यस्तै उद्यमी उदाहरणका रूपमा शिवचरण रानाको सफलता प्रशंसनीय छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *