‘दाता’ को सहयोगले गौ संरक्षण केन्द्र सञ्चालनमा सहज
तनहुँ : यहाँ छाडा गाईहरूको हेरचाहका लागि गौ संरक्षण केन्द्र सञ्चालन गरिएको छ। व्यास नगरपालिका–१०, दुम्सीमा अवस्थित यो केन्द्र विसं २०७६ देखि सञ्चालनमा छ।
जथाभावी गाई छाडिँदा दुर्घटना र फोहर बढ्ने समस्या देखिएपछि व्यास नगरपालिकाले यो केन्द्र स्थापना गरेको हो। यसको व्यवस्थापनमा विभिन्न सङ्घ–संस्था तथा व्यक्तिहरूको सहयोग महत्त्वपूर्ण रहेको छ।
गौ संरक्षण समितिका अध्यक्ष तुल्सीराम सापकोटाका अनुसार केन्द्रमा हाल एक सय ५० भन्दा बढी गाई रहेका छन्। केन्द्रको सञ्चालन व्यक्ति तथा संस्थाले जन्मदिन, वैवाहिक वर्षगाँठलगायत अवसरमा दिने सहयोगबाट भइरहेको छ। उहाँका अनुसार “दानी व्यक्ति तथा संस्थाहरूको निरन्तर सहयोगले केन्द्र सञ्चालनमा सहजता आएको छ।”
नगरपालिकाले तत्कालीन वडाध्यक्षसमेत रहनुभएका सापकोटाको संयोजकत्वमा अध्ययन समिति गठन गरी केन्द्र स्थापनाको पहल गरेको थियो। मादी नदी किनारमा रहेको तीन सय रोपनी सार्वजनिक जग्गा तारबार गरेर केन्द्र सञ्चालनमा ल्याइएको हो।
अध्यक्ष सापकोटाले भन्नुभयो, “त्यतिबेला तीन सय रोपनी तारबार गर्ने सामर्थ्य पनि थिएन। प्रत्येक वर्षको बजेटबाट विभिन्न चरणमा तारबार गर्दै गाई संरक्षणका लागि उक्त क्षेत्र सुरक्षित बनाएका छौँ। केन्द्र स्थापना भएपछि विभिन्न ठाउँबाट गाई ल्याउने क्रम बढेको छ।”
गाईले दूध दिन छाडेपछि कहाँ लैजाने भन्ने समस्याबाट पीडित मानिसहरू यस केन्द्रबाट लाभान्वित भइरहेका छन्। संरक्षण केन्द्रमा रहेका गाईहरू मरेपछि पनि त्यसको उपयोगबारे योजना बनाइँदैछ। सापकोटाका अनुसार, “गाई मरेपछि त्यसलाई गिद्धहरूको आहारका रूपमा प्रयोग गरिन्छ। छाला निकालेर राखिन्छ, गिद्ध आएर खान्छन्। हड्डीलाई खाल्डो खनेर गाडिन्छ। अब भने हड्डीबाट पनि आम्दानी गर्ने उद्देश्यले उपकरण खरिद गर्ने तयारी भइरहेको छ।”
यही स्थानबाट दमौली बजारमा उत्पादित कुहिने फोहर प्रयोग गरी बायोग्याससमेत उत्पादन भइरहेको छ। गाई संरक्षणसँगै फोहर व्यवस्थापनबाट ग्यास उत्पादन गरेर दुवै काम एकैसाथ अघि बढाइएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो।
संरक्षण केन्द्र व्यवस्थापनका लागि व्यास नगरपालिकाको सहयोगमा तीन जना र केन्द्रबाट एक जना गरी चार जना कर्मचारी नियुक्त गरिएको छ। नगरपालिकाले परालका लागि मासिक रु पाँच लाख सहयोग गरिरहेको जनाइएको छ।
