आज कुकुर पूजा : घरघरमा श्रद्धा र मायासहित कुकुर तिहार मनाइँदै

काठमाडौँ: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ।

कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि, यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा. डा. देवमणि भट्टराईका अनुसार नरक चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी परेको दिन मनाउनुपर्ने प्रचलन छ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिँदा यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाइने गरिएको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले राससलाई जानकारी दिनुभयो।

वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ। कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ।

नरक चतुर्दशी

आज बिहानै अरूणोदयकालमा विभिन्न तीर्थ, नदी वा तालमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बत्ती बाल्ने र बगाउने परम्परा छ। यसरी दीप बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद्हरू बताउँछन्। यसरी बत्ती बालेर बगाउने कार्यलाई ‘नरके बगाउने’ भनिन्छ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ। यसो गरेमा शरीर स्वस्थ रहने आयुर्वेदिक मत रहेको आयुर्वेद चिकित्सक डा. वंशदीप शर्मा खरेल बताउनुहुन्छ। यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि एक महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *