कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

काठमाडौँ: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज बिहान यमराजका दूतका रूपमा कागलाई मीठो–मीठो चिजबिज खान दिएर मनाइँदैछ।
बिहान सूर्योदयको समयमा त्रयोदशी परेको कारण शास्त्रसम्मत रूपमा आज आइतबार काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो।
यमराजले लोकका समाचार कागमार्फत थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भन्ने विश्वासका साथ आजको दिन कागलाई पूजा आराधनासहित मीठो खान दिएर खुसी पार्ने परम्परा रहिआएको छ।
लोकमान्यताअनुसार काग घरमा आइकराएमा शुभ समाचारको संकेत मानिन्छ। ‘काकेन दधि भक्षितम्’ भन्ने शास्त्रीय भनाइअनुसार कागलाई दहीभात मीठो लाग्ने भएकाले आजको दिन दहीभात खुवाउने चलन छ। यसले यमराजसमक्ष शुभ सन्देश पुग्ने विश्वास गरिन्छ।
यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ। त्यस्तै हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गरिन्छ, जहाँ कागको ठूलो मूर्ति रहेको छ।
तिहार पर्व यमराज र धर्मराजको प्रतीक विश्वाससँग पनि सम्बन्धित छ—दुष्कर्म गर्नेहरूलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेहरूको धर्मराज भएर रक्षा गर्ने मान्यता छ। यमयातनाबाट मुक्तिका लागि परिवारका सदस्यका नाममा गरिने यम दीपदानको क्रम शनिबार साँझदेखि नै सुरु भएको छ।
यम दीपदान दक्षिणतर्फ फर्काएर गर्ने वैदिक परम्परा छ। यम दीपदान गरे यमयातनाबाट मुक्ति पाइने धार्मिक विश्वास रहिआएको छ।
यस वर्ष तिथिको घटबढका कारण कार्तिक कृष्ण त्रयोदशी सायंकालमा परेको हुँदा यमपञ्चक पर्व शनिबार बेलुकीदेखि नै सुरु भएको हो। यसैगरी, लक्ष्मी स्थिर राख्ने उद्देश्यले गरगहना तथा तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ। यस दिन यस्तो सामान किनेमा लक्ष्मी घरमै स्थिर हुने धार्मिक विश्वास छ।