विश्व अण्डा दिवस २०८२ चितवनमा आयोजना हुने

काठमाडौँ | नेपाल भेटेरिनरी एशोसिएसनले “The Mighty Egg: Packed with Natural Nutrition” भन्ने नाराका साथ विश्व अण्डा दिवस २०८२ मनाउन एक विशेष कार्यक्रम चितवनमा आयोजना गर्ने भएको छ।
एशोसिएसनका महासचिव डा. शंकर न्यौपानेका अनुसार उक्त कार्यक्रम भोलि (असोज २४ गते) चितवन जिल्लामा हुनेछ। कार्यक्रममा भेटेरिनरी चिकित्सक, कृषक, पोल्ट्री व्यवसायी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि, विद्यार्थी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
विश्व अण्डा दिवसको अवसरमा आयोजना हुने उक्त कार्यक्रममा अन्तरक्रिया, प्रस्तुतिकरण, प्यानल छलफल (Panel Discussion) तथा लक्षित समुदायका लागि विशेष अण्डा वितरण जस्ता विविध गतिविधि समावेश गरिने एशोसिएसनले जनाएको छ।
डा. न्यौपानेका अनुसार, यस कार्यक्रममार्फत अण्डाको पोषणीय महत्वबारे जनचेतना फैलाउने र पोल्ट्री व्यवसायलाई अझ सुदृढ बनाउन एशोसिएसनले विभिन्न सरोकारवाला संस्थासँग सहकार्य गर्दै देशभर उत्साहपूर्वक विश्व अण्डा दिवस मनाउने तयारी गरेको छ।
एशोसिएसनले देशभरका सबै भेटेरिनरी चिकित्सक, पोल्ट्री व्यवसायी र कृषकहरूलाई विश्व अण्डा दिवस २०८२ लाई भव्य रूपमा मनाई सफल पार्न हार्दिक आह्वान गरेको छ।