वार्षिकोत्सवमा नेभ्लाको गुनासो– सरकार र केही क्षेत्रले परिषद्माथि गिद्धेदृष्टि राखे

काठमाडौं । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएशन (नेभ्ला) ले सरकारी तथा केही क्षेत्रले जटिलता सिर्जना हुने गरी गिद्धेदृष्टि राख्दा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले प्रभावकारी ढंगले आफ्नो काम गर्न नसकेको गुनासो गरेको छ ।

परिषद्को तेस्रो वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेभ्लाका अध्यक्ष रामप्रसाद मेहताले सरकारी तबरबाटै परिषद्लाई आवश्यक सहयोग भएको प्राप्त नभएको गुनासो गरेका हुन् ।

‘परिषद्को कार्यान्वयनमा अझै पनि सरकारी तथा केही क्षेत्रले जटिलता सिर्जना हुने गरी गिद्धेदृष्टि राख्ने गरेको कारणले ठोस ढंगले कार्यान्वयन गर्न र अझ सशक्त रूपमा अगाडि बढ्नका लागि यस परिषद्सँग प्रत्यक्ष र अप्रत्यक्ष सरोकार राख्ने सम्पूर्ण सरोकारवालाहरू एकताबद्ध भएर लाग्न हार्दिक आग्रह गर्दछौं,’ सन्देशमा भनिएको छ ।

पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा सेवारत प्राविधिक जनशक्तिहरूलाई कानूनी रूपमा दर्ता, नियमन तथा कार्यजिम्मेवारी प्रदान लगायत कार्य गर्न खडा गरिएको परिषद्मा पदाधिकारीको निर्वाचन सम्पन्न भई सरकारबाट हुनुपर्ने पदाधिकारीको नियुक्ति भइसकेको छ । तर आचारसंहिता, मापदण्ड र विनियमावली निर्माण लगायतका महत्त्वपूर्ण कार्य अझैसम्म प्रभावकारी ढंगले अघि बढ्न सकेको छैन । त्यस्तै दर्ता हुन बाँकी योग्य जनशक्तिलाई गराउने प्रक्रिया पनि अवरुद्ध छ । मेहताले यसैतर्फ संकेत गर्दै सरकारी निकाय र केही क्षेत्रको भूमिकाप्रति असन्तुष्टि जनाएका हुन् ।

सरकारको कुन निकायले परिषद्को काम–कारबाहीमा सहयोग नगरेको हो भन्नेबारे भने उनले शुभकामना वक्तव्यमा केही उल्लेख गरेका छैनन् ।

परिषद्लाई प्रभावकारी रूपमा अघि बढाउन, दर्ता भएका जनशक्तिहरूको कानूनी अधिकार किटान गर्न, शैक्षिक संस्थाबाट दक्ष जनशक्ति उत्पादन हुने वातावरण निर्माण गर्न, कृषकलाई गुणस्तरीय एवं प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्न पनि नेभ्लाले माग गरेको छ ।

२५ वर्षको अथक मिहिनेत र संघर्षबाट परिषद् स्थापना भएको उल्लेख गर्दै नेभ्लाले सबैमा तेस्रो वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *