कृषिमन्त्री परियारद्वारा पदभार ग्रहण

काठमाडौँ: नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले पदभार ग्रहण गर्नुभएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले नेपाल र कोरियाबीच आलु र धान बालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्ताव सदर गर्नुभएको छ। मन्त्रालयका सचिवको नेतृत्वमा गठन हुने समितिले यसमा समन्वयको काम गर्ने जनाइएको छ।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री डा. परियारले निर्वाचनलाई प्राथमिकतामा राखेर कृषि क्षेत्रमा केही फरक काम गर्ने प्रतिबद्धता जनाउनुभयो। शासकीय सुधार र बेथिति रोक्ने काममा सरकार लागिपर्ने उहाँको भनाइ थियो।
मन्त्री डा. परियारले वर्तमान सरकारलाई प्राप्त शासकीय सुधार, बेथितिको अन्त्य एवं निर्वाचन गराउन प्राप्त ‘म्यान्डेट’ पूरा गर्न आफ्नो तर्फबाट सम्पूर्ण योगदान रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।