कृषि मन्त्रालयका जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

काठमाडौँ: गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनका क्रममा सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयका जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन गरिएको छ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. जानुका पण्डितको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो। समितिमा प्रशासन, लेखा लगायत शाखाका कर्मचारीलाई सदस्य राखिएको छ। गत आइतबारको सचिवस्तरीय निर्णयअनुसार समिति गठन गरिएको प्रवक्ता पण्डितले राससलाई जानकारी दिनुभयो।

गत भदौ २३ र २४ गते मन्त्रालय परिसरमै रहेका कर्मचारीका सवारीसाधन पनि क्षतिग्रस्त भएका थिए। त्यस दिन सिंहदरबारको मूलढोकाबाट सरकारी नम्बर प्लेटका गाडी बाहिर निकाल्न दिइएको थिएन। मन्त्रालयअन्तर्गत बालाजुस्थित मत्स्य विकास केन्द्रमा रहेका केही सरकारी सवारीसाधन समेत जलाइएका र त्यसको विवरण तयार पारेर प्रतिवेदन बुझाइने प्रवक्ता पण्डितले बताउनुभयो।

मन्त्रालयका ४१ गाडीमा आगजनीबाट क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। मन्त्रालयका २९ मोटरसाइकल जलाइएका छन्। त्यस्तै, मन्त्रालय परिसरमा पार्किङ गरिएका नौ मोटरसाइकल हराएको र १० स्कुटर जलाइएका सवारी हेर्ने शाखाका कर्मचारी लोमश आचार्यले जानकारी दिनुभयो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *