दसैँ नजिकिँदै मुस्ताङी भेडाच्याङ्ग्रा बजारतर्फ

म्याग्दी: दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन्। किसान तथा व्यापारीहरू भेडाच्याङ्ग्राको बथान लिएर देशका विभिन्न बजारमा आइपुगेका हुन्। हिमाली भेडाच्याङ्ग्रा बजार झरेपछि दसैँ पर्वको आगमनको झल्को दिन्छ।
मुस्ताङबाट बेनी–जोमसोम सडक हुँदै म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखी पोखरा, काठमाडौँलगायत ठूला सहरमा ढुवानी गर्न थालिएको छ। नेपाल चौपाया खरिद–बिक्री सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार बिहीबारसम्म १ हजार ३०० भेडाच्याङ्ग्रा काठमाडौँ पठाइसकिएको र थप १ हजार ७०० पठाउने तयारी भइरहेको छ।
“दसैँका लागि काठमाडौँ, पोखरा, चितवन र बुटवलका बजारमा आउने भेडाच्याङ्ग्राको मुख्य स्रोत मुस्ताङ, जुम्ला र डोल्पा हुन्,” २० वर्षदेखि भेडाच्याङ्ग्रा व्यापार गर्दै आएका श्रेष्ठले भने, “तातोपानी र रसुवानाका मार्ग बन्द भएकाले यसपालि ठूला सहरमा मुस्ताङी भेडाच्याङ्ग्रामात्र झरेका छन्।”
मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ नामग्यालबाट ४६५ वटा भेडाच्याङ्ग्रा पैदल हिँडाएर ल्याएको श्रेष्ठको टोली बिहीबार म्याग्दीको बैसरी आइपुगेको छ। डोल्पाको काइके गाउँपालिका–२ सहरताराका सञ्जय बुढाले २५ दिनको पैदलयात्रा गरेर १६० वटा च्याङ्ग्रा बेच्न पोखरा हिँडेको बताए।
“समुद्री सतहदेखि ४ हजार मिटरभन्दा माथिको उचाइमा किसानले पालेका च्याङ्ग्रा ल्याएर बेच्न आएको हुँ,” उनले भने, “भिर, खोल्सा, साँघुरा बाटो पार गर्दै बजार पुर्याएर बिक्री गर्नु हाम्रो परम्परागत पेशा हो।”
डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट भेडाच्याङ्ग्रा बेच्न र देशका विभिन्न सहरबाट आएका व्यापारीको जोमसोममा चहलपहल छ। मुस्ताङमा आकारअनुसार प्रतिगोटा रु. ३२ देखि ३७ हजारमा च्याङ्ग्रा बिक्री भइरहेको छ। काठमाडौँ पुग्दा गत वर्षको दरमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु. १ हजार ३०० मा बिक्री हुने व्यवसायी श्रेष्ठले बताए।
मुस्ताङस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पशु चिकित्सक लालमणि अर्यालका अनुसार यस वर्ष दसैँमा डोल्पा र जुम्लाका ३ हजार तथा मुस्ताङका किसानले पालेका १२ हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान छ। जोमसोममा भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर बजार पठाउने व्यवस्था मिलाइएको छ।
चाडपर्वमा जडीबुटीयुक्त बुकीमा चरेका हिमाली च्याङ्ग्राको मासु उपभोग गर्ने चलन छ। पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपयुक्त मानिन्छन्। मुस्ताङको नामग्यालका किसान तेन्जिङ गुरुङले च्याङ्ग्रापालनबाट जीविकोपार्जन गरेको बताए। उनले यसपालि ५० वटा च्याङ्ग्रा बिक्री गरेका छन्। मुस्ताङी भेडाच्याङ्ग्राको ठूलो बजार पोखरा हो। म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ र लमजुङका बजारमा पनि भेडाच्याङ्ग्राको खपत बढी हुने गरेको छ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएका छन्। उपल्लो मुस्ताङका किसानको मुख्य आयस्रोत च्याङ्ग्रापालन हो। च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ। हिउँचितुवा र ब्याँसोको आक्रमणबाट जोगाउनु च्याङ्ग्रापालक किसानको प्रमुख चुनौती हो। त्यस्तै, पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रँदा भेडाच्याङ्ग्राका लागि आहारको अभाव हुने र हिउँदमा अत्यधिक हिउँ परेमा भेडाबाख्रा आहारको अभावमा मर्ने समस्या पनि देखिने गरेको छ।