रेबिज र पशुपन्छी दिवसमा नेपाल भेटेरिनरी एसोसियसनको देशव्यापी अभियान

काठमाडौं:नेपाल भेटेरिनरी एसोसियसनले विश्व रेबिज दिवस (सेप्टेम्बर २८) तथा विश्व पशुपन्छी दिवस (अक्टोबर ४) को अवसरमा देशव्यापी कार्यक्रम सञ्चालन गर्ने भएको छ।
महासचिव डा. शंकर न्यौपानेले यस अभियानको मुख्य उद्देश्य जनस्वास्थ्यमा गम्भीर असर पार्ने रेबिज रोगबारे व्यापक जनचेतना फैलाउने, कुकुरमा निःशुल्क खोप अभियानमार्फत रोग नियन्त्रण गर्ने, कुकुरहरूको संख्या नियन्त्रणका लागि बन्ध्याकरण सम्बन्धी सर्जिकल तालिम सञ्चालन गर्ने तथा पशुपन्छी स्वास्थ्य सेवामार्फत समग्र पशु कल्याणलाई प्रवर्द्धन गर्ने रहेको बताए।
उनका अनुसार बालबालिकादेखि समुदायस्तरसम्म प्रभावकारी जानकारी पुर्याउन विद्यालय शिक्षा कार्यक्रम, पशु चिकित्सकहरूको क्षमता अभिवृद्धिका लागि सर्जिकल तालिम, रोग नियन्त्रणका लागि खोप कार्यक्रम, सञ्चारमाध्यममार्फत सन्देश प्रसारण तथा स्वास्थ्य शिविरजस्ता विविध गतिविधिहरू सञ्चालन गरिनेछ।
नेपालमा अझै पनि रेबिजका कारण मानव ज्यान जाने घटनाहरू रिपोर्ट हुने भएकाले यस्ता घटनाको न्यूनिकरणका लागि पशु स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रबीचको समन्वय अपरिहार्य रहेको उनले उल्लेख गरे।
यसका साथै “जनावरको रक्षा, धर्तीको सुरक्षा” भन्ने नाराका साथ विश्व पशुपन्छी दिवसको अवसरमा सामुदायिक पशुपन्छी स्थान, गौशाला र ग्रामीण क्षेत्रहरूमा पशु आहारा वितरण, पशु स्वास्थ्य सेवा र खोप कार्यक्रम विस्तार गर्ने, साथै प्रभातफेरी र जनचेतनामूलक सामग्रीहरूको प्रचार–प्रसार गरिने उनले जानकारी दिए।
महासचिव न्यौपानेका अनुसार यस अभियानले वन हेल्थ (One Health) अवधारणालाई आत्मसात गर्दै मानव, पशु तथा वातावरणको स्वास्थ्यबीचको सम्बन्ध, साथै पशु कल्याणको मर्मलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। उनले सम्पूर्ण भेटेरिनरीयन तथा सरोकारवाला निकायलाई यस अभियानमा सक्रिय सहभागिता जनाउन आह्वान गरे।
कार्यक्रमहरूको विवरण:
१. विद्यालय शिक्षा कार्यक्रम (School Awareness Program)
- मिति: २०८२ भदौ १ देखि कात्तिक २० गतेसम्म
- लक्ष्य: देशभर ७०० विद्यालयमा रेबिजसम्बन्धी जनचेतनामूलक कक्षा
- सहभागी: करिब ३५,००० विद्यार्थी
- समन्वय: प्रत्येक प्रदेशमा न्यूनतम १०० कक्षा प्रादेशिक समितिमार्फत
२. रेबिजविरुद्धको निःशुल्क खोप अभियान
- सहकार्य: पशु सेवा विभाग, प्रादेशिक मन्त्रालयहरू, भेटेरिनरी अस्पताल तथा स्थानीय तहहरू
- लक्ष्य: कुकुरहरूमा रेबिजविरुद्ध निःशुल्क खोप प्रदान
३. पशु जन्म नियन्त्रण (ABC) सम्बन्धी सर्जिकल तालिम
- स्थान: बाग्मती, कर्णाली र कोशी प्रदेश
- सहभागी: प्रत्येक प्रदेशबाट १५ जना भेटेरिनरीयन
- अवधि: ३ दिन
- विशेषता: तालिमसँगै खोप अभियान समेत सञ्चालन
४. जनचेतनामूलक गतिविधिहरू
- प्रभातफेरी, अन्तरक्रिया कार्यक्रम, सडक नाटक
- पोष्टर/पम्प्लेट वितरण
- रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा सामाजिक सञ्जालमार्फत सन्देश प्रसारण
५. विश्व पशुपन्छी दिवस सप्ताह (२०८२ असोज १२ देखि २३ गतेसम्म)
- कार्यक्रमहरू:
- सरोकारवालासँगको सहकार्यमा सामुदायिक पशुपन्छी स्थान, गौशाला आदिमा स्वास्थ्य शिविर, खोप कार्यक्रम तथा आहार वितरण
- प्रभातफेरी, सूचना सामग्री वितरण तथा मिडिया प्रसारण