‘लम्पीको हल्ला बढी भो, डराउनु पर्दैन’

२०७७ सालमा पशुवस्तु खासगरी गाईभैंसीमा लाग्ने लम्पी स्किन रोग पहिलो पटक देखापर्दा ठूलो क्षति हुन पुग्यो । नयाँ रोग, खोप अभाव, पूर्वतयारीको कमी, अनुभवविहीनता लगायत कारण किसानले अर्बौं क्षति व्यहोरे । यो रोगबाट क्षति व्यहोरेका किसान तंग्रिन नपाउँदै पुनः फेरि पशुवस्तु प्रभावित हुन थालेका छन् । यो सामग्री तयार पार्दासम्म देशका ३८ जिल्लामा संक्रमण पुष्टि भइसकेको छ । लम्पी स्किनले तीन दर्जन बढी जिल्ला प्रभावित भइरहँदा किसानहरूमा भने त्रास बढेको छ । सम्भावित क्षतिलाई आकलन गर्दै नेपाल पशु चिकित्सा परिषद् लगायतले तत्काल संकटकाल घोषणा गरेर यसविरुद्ध अभियान सञ्चालन गर्न सरकारलाई सुझाइसकेका छन् ।
लम्पी स्किनको संक्रमण सबैभन्दा पहिले देखिएको स्थानमा गएर स्थलगत अवलोकन तथा अध्ययन गरेका पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्याय भने लम्पी स्किनलाई लिएर अनावश्यक त्रास उत्पन्न गराइएको गुनासो गर्छन । १५–१६ लाख पशुवस्तुमा लम्पी स्किनविरुद्धको खोप लगाइसकिएको, खोपको स्टक पर्याप्त रहेको र मृत्युदर पनि निकै न्यून १०० मा १–५ रहेकाले आत्तिन नपर्ने उनको तर्क छ ।
डा. उपाध्यायसँग लम्पी स्किन रोग संक्रमणको प्रवृत्ति, यसको पछिल्लो अवस्था, यसबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि पशु सेवा विभागले गरिरहेको तयारी लगायत विषयमा केन्द्रित रहेर भेट टाइम्स मासिकका प्रतिनिधिले गरेको सवाल :
पशुमा लाग्ने लम्पी स्किन रोगले नेपालमा फेरि महामारीको रूप लिन थालेको हो ?
केही समययता देशका विभिन्न भागमा लम्पी स्किन रोगको संक्रमण बढ्दै गइरहेको छ । विभिन्न जिल्लामा यसबाट पशुवस्तु प्रभावित भए पनि महामारी नै भन्न चाहिँ मिल्दैन ।
यसअघि देशव्यापी बनेको लम्पी स्किनले ठूलो क्षति गराएकाले किसान वर्गमा त्रास देखिन्छ । यो रोगको देशभरको संक्रमण अवस्था के छ ?
लम्पी स्किनबाट हालसम्म ३८ जिल्लाका पशु प्रभावित भएका छन् । प्रदेशगत रूपमा भन्नुपर्दा कोशीको सोलुखुम्बुबाहेकका सबै जिल्लामा यसको संक्रमण पुष्टि भएको छ । मधेसका ८, बागमती र गण्डकीका ४/४ तथा लुम्बिनीका ७ जिल्लामा पनि लम्पी स्किन देखिएको छ । कर्णालीको दुई जिल्ला रुकुम र दैलेखमा देखिए पनि अन्यत्र पुष्टि भएको छैन । यद्यपि, संक्रमण पुष्टि भएका दुई जिल्लामा पनि करिब–करिब नियन्त्रण नै भयो भन्दा हुन्छ । सुदूरपश्चिममा भने अहिलेसम्म लम्पी स्किन संक्रमण पुष्टि भएको छैन ।
प्राप्त पछिल्लो तथ्यांकअनुसार यो संक्रमणबाट १ हजार २१९ पशुको मृत्यु भइसकेको छ । ३३ हजार ६४५ पशु लम्पी स्किनबाट प्रभावित भएकोमा १८ हजार ८०७ उपचारपश्चात संक्रमणमुक्त भइसकेका छन् । सक्रिय संक्रमित पशुको संख्या देशभर १३ हजार चानचुन छ ।
लम्पी स्किनको संक्रमण ३८ जिल्लामा फैलिएको बताउनुभयो । यो अन्य जिल्लामा फैलने जोखिम कतिको छ ?
कीरा, फट्यांग्राले संक्रमित पशुलाई टोकेर अन्यलाई टोक्यो भने यो रोग सर्छ । बर्खाको सिजन झिंगा, उपियाँ, लामखुट्टे फैलने समय भएकाले अबको एक महिना यसको जोखिम अलिक बढी छ । कीरा–फट्यांग्रा कम हुँदै गएपछि भने यसको संक्रमण पनि घट्दै जानेछ ।
लम्पी स्किन संक्रमणको जोखिम सबै पशुमा हुन्छ कि के छ ?
लम्पी स्किनबाट सबै पशुवस्तु संक्रमित हुँदैनन् । जुन पशुलाई भ्याक्सिन लगाइएको छ त्यसमा यो रोग देखिएको छैन । किसानका धेरै पशुवस्तुमा खोप लगाइएको हुनाले पहिलेको जस्तो फैलने जोखिम यसपाला छैन । ३८ जिल्लाका पशु लम्पी स्किनबाट प्रभावित भएका छन् । संक्रमित पशुको भ्याक्सिनेसन र उपचार एकसाथ चलिरहेको छ । प्रदेश र स्थानीय तहले यसमा मिलेर काम गरिरहेका छन् ।
लम्पी स्किन भेटिएको स्थानमा गएर यहाँले स्थलगत अध्ययन नै गर्नुभएको थियो । त्यसक्रममा के–के भेटिए ?
खुला सीमा भएका ठाउँमा पशुवस्तुहरू उताबाट यता र यताबाट उता आउजाउ गरिरहेका हुन्छन् । यही क्रममा भ्याक्सिन नलगाएका पशुमा लम्पी स्किन रोग स¥यो भन्ने हाम्रो ठम्याइ छ । भ्याक्सिन लगाएका पशुमा भने कुनै संक्रमण देखिएको छैन ।
अर्को कुरा, संक्रमित पशुलाई टोकेका कीराले अर्को पशुलाई टोक्दा पनि यो सर्छ । अहिले कीराहरू बढी हुने सिजन भएकाले पनि यो अन्यत्र फैलिएको हाम्रो बुझाइ छ ।
अध्ययनहरूले खोप लगाइएका पशुमा यसको संक्रमण नभएको देखाएको छ । पर्याप्त मात्रामा पशुवस्तुलाई खोप उपलब्ध गराउन सकिएको छ त ?
पशु सेवा विभागले गत वर्ष लम्पी स्किन रोगविरुद्धको १४ लाख ६० हजार खोप खरिद गरेको थियो । त्यसरी खरिद गरिएका भ्याक्सिन प्रदेशमा वितरण गरिएको छ । केन्द्रले मात्र नभएर विभिन्न प्रदेशले पनि आफैं खोप खरिद गरेका छन् । हामीसँग अहिले नै केही मात्रामा खोप स्टक छ । एक हप्तामा एक लाख भ्याक्सिन लगाए पनि भदौभरिलाई चार लाखले पुग्छ । असोज लागेपछि त यसै पनि संक्रमण फैलाउन सहयोगी भूमिका खेल्ने कीरा कम हुँदै जानेछ । कीरा कम हुनेबित्तिकै अवस्था यस्तो रहँदैन ।
पशुपन्छी चिकित्सकहरूले लम्पीले महामारीको रूप लिइसकेकाले तत्काल संकटकाल घोषणा गरिहाल्नुपर्छ भन्ने तर्क गरिरहनुभएको छ । पशु सेवा विभागले यसबारे के सोचिरहेको छ ?
संकटकाल घोषणा गर्ने सम्बन्धी छुट्टै नीतिगत व्यवस्था छ । राज्यसँग विपद् व्यवस्थापन समितिहरू छन् । विपद् जोखिम न्यूनीकरण ऐन पनि छ । तर यो ऐनमा संकटकाल घोषणा गर्ने विषय छैन । अघिल्लो पटक लम्पी स्किन फैलँदा नै संकटकाल घोषणा गर्नुपर्छ भनेर लागेका थियौं । तर नीतिगत व्यवस्था नभएकाले त्यो सम्भव भएन । अर्को कुरा, अहिलेकै स्थितिमा संकटकाल घोषणा गर्दा पशुको बीमा रकम प्राप्त नहुने अवस्था आउँछ । नीतिगत र व्यावहारिक अप्ठ्यारा भएकाले तत्काल संकटकाल घोषणा गर्न नसकिएला ।
नीतिगत अप्ठ्यारो फुकाएर गर्न त सकिन्छ होला नि त ?
महामारी हुनका लागि उपचार हुन नसकेको, भ्याक्सिन नभएको, पशु मरेको मर्यै गरेको जस्ता असहज स्थिति हुनु पर्छ । तर अहिले त्यस्तो अवस्था छैन । हामीसँग पर्याप्त मात्रामा प्रभावकारी भ्याक्सिन छ । सरसफाइ गरियो, भ्याक्सिन लगाइयो भने पशु बचाउन सकिन्छ । फेरि यसको मृत्युदर पनि उति धेरै छैन । विश्वको तथ्यांक केलाउँदा र हाम्रो आफ्नै क्षति नियाल्दा संक्रमितमध्ये १ देखि ५ प्रतिशतको मृत्यु हुने गरेको पाइन्छ ।
भनेपछि आत्तिनु पर्ने अवस्था छैन हैन त ?
हो, लम्पी स्किनबाट आत्तिहाल्नुपर्ने अवस्था छैन ।
पशुवस्तुलाई लम्पी स्किन रोग लागेको कसरी थाहा पाउन सकिन्छ ? यसका लक्षण के–के हुन्छन् ?
ज्वरो आउनु, घाँसपानी खान अरुचि देखाउनु, शरीरमा २ देखि ५ सेन्टिमिटरको गोलो–गोलो गाँठो आउनु, अगाडिको खुट्टाको ग्रन्थी सुन्निनु/फुल्नु, नाकबाट सिँगान बग्नु, एक्टिभ नहुनु यो रोगका लक्षण हुन् ।
लम्पी स्किनबाट बच्न आम किसानलाई यहाँको सुझाव के हुन्छ ?
झिँगालगायत कीरा वृद्धि हुने सिजन भएकाले रोग फैलन सक्छ । त्यसैले रोग फैलिएको ठाउँमा आफू पनि जान हुँदैन र पशुवस्तुलाई पनि लैजान हुँदैन । सामूहिक चरणको अभ्यास छ भने त्यसलाई रोक्नु पर्छ । भ्याक्सिन लगाएका पशुमा यो रोगको संक्रमण नहुने पाइएकाले लगाइएको छैन भने तत्काल लगाइ हाल्नु पर्छ । औंसा, कीरा हटाउन बजारमा मल्हम पाइन्छ, त्यो पनि प्रयोग गर्न सकिन्छ । पशुवस्तुमा कुनै समस्या देखिएमा नजिकको पशु प्राविधिकसँग सल्लाह लिएर पनि किसानले लाभ लिन सक्नुहुन्छ ।