सौराहमा हुर्किंदै छन् ‘राम’ र ‘देव’

नारायणगढ :मुलुकको प्रमुख पर्यटकीय गन्तव्यमध्ये चितवनको सौराह एक हो । यहाँ आउने जो कोहीले सौराह वरपर साना गैँडा डुलिरहेको देख्न सक्छन् । मानिससँगको सामीप्यमा रमाउने यी गैँडाहरू वास्तवमा मानिसकै संरक्षणमा हुर्काइएका हुन् । निकुञ्जका विभिन्न स्थानबाट घाइते भएका गैँडाका बच्चालाई राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रमा ल्याई उपचार र पालन–पोषण गर्ने गरिन्छ । यही कारण अहिले सौराह क्षेत्रमा यस्ता गैँडाका बच्चा देख्न पाइन्छ ।
सौराहस्थित संरक्षण केन्द्रमा हाल ‘राम’ र ‘देव’ नाम गरेका दुई भाले गैँडाका बच्चा हुर्किरहेका छन् । गैँडाका बच्चा प्रायः वैशाखदेखि असारसम्म जन्मिन्छन् । प्रारम्भिक जीवनमा उनीहरू बाघ, भालु लगायतका आक्रमणकारी वन्यजन्तु तथा अकालको जोखिममा पर्छन् । अहिले केन्द्रमा रहेका राम र देवको उमेर दुई वर्षभन्दा बढी भइसकेको छ । उनीहरूको पालन–पोषण कोषका कर्मचारी लालबहादुर महतरा लगायतले गर्दै आएका छन् ।
प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत अनिल प्रसाईंका अनुसार, ‘देव’ र ‘राम’ दुवैलाई बाघको आक्रमणपछि घाइते अवस्थामा उद्धार गरिएको हो । देवलाई २०८० जेठ ३० गते भरतपुरको देवनगरबाट उद्धार गरिएको थियो भने रामलाई २०८० असार १ गते सौराहकै बाघमाराबाट ल्याइएको थियो । उद्धारका बेला यी दुवै करिब १५–२० दिनका मात्रै थिए । प्रसाईंले भन्नुभयो, “त्यसताका हामीले अत्यन्त दयनीय अवस्थामा भेटेका थियौँ ।”
रामलाई उद्धार गर्दा नजिकै एक माउ गैँडा देखिए पनि त्यो उसको आमा हो वा होइन भन्ने निश्चित हुन सकेन । “आमाले बच्चा स्वीकार गरिन् कि गरिनन् भन्ने स्पष्ट भएन । हामीले हात्तीको सहयोगमा बच्चालाई आमासँग मिलाउने प्रयास गर्दा माउ गैँडा भाग्यो,” प्रसाईंले सम्झनुभयो, “पछि रामलाई ल्याएर जाँच्दा देब्रे खुट्टा भाँचिएको पाइयो, बाघले टोकेर छाडेको रहेछ । त्यसपछि उपचार र पालन–पोषण गरियो ।”
देवनगरबाट उद्धार गरिएको देवको त चारै खुट्टाको हड्डी भाँचिएको थियो । बाँच्ला कि नबाँच्ला भन्ने अनिश्चितता थियो । तर अहिले उसको अवस्था सुधारिएको छ । केन्द्रका चिकित्सक डा. अमिर सडौलाका अनुसार यहाँ ल्याइने गैँडाका बच्चामध्ये करिब ७० प्रतिशत बाघको आक्रमणबाट घाइते हुने गरेका छन् भने बाँकी अन्य कारण वा भाले गैँडाको आक्रमणका कारण हुन्छन् ।
डा. सडौलाले भन्नुभयो, “गैँडाका बच्चालाई मानिस सरह उपचार गरिन्छ । घाइते गैँडाको पिसाब र दिसा सामान्य भएमा बाँच्ने सम्भावना बढी हुन्छ । गैँडाको शरीरमा प्राकृतिक रूपमा निको हुने क्षमता उच्च हुने भएकाले विशेष उपचारको आवश्यकता कमै पर्छ ।”
संरक्षण केन्द्रमा हुर्काइएका केही गैँडालाई अन्य देशमा उपहारस्वरूप पठाइएको छ भने केहीलाई पुनः प्राकृतिक जंगलमा छोडिएको छ । पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा, बाङ्गे, बिरु, पूजा र माइलालाई काठमाडौँ चिडियाखाना, ब्युटी र जङ्गेललाई अष्ट्रियाको भियना चिडियाखाना तथा सोल्टीलाई चीनको शाङ्घाई चिडियाखाना पठाइएको छ ।
वरिष्ठ संरक्षण अधिकृत प्रसाईंका अनुसार, पछिल्लो चार दशकदेखि कोषले बाघ, गैँडा लगायतका घाइते वन्यजन्तुको उद्धार, उपचार तथा संरक्षण गर्दै आएको छ । हालसम्म उद्धार गरिएका २० वटा गैँडाका बच्चामध्ये १३ वटा जीवित रहन सफल भएका छन् । गैँडा चार वर्षपछि वयस्क हुने भएकाले त्यसपछि मात्र व्यवस्थापन गरिन्छ ।
अहिले केन्द्रमा रहेका राम र देवलाई प्राकृतिक वातावरणसँग घुलमिल हुने अभ्यास गराइँदैछ । उनीहरू प्रायः निकुञ्ज तथा सौराह वरपर घुम्ने गर्छन्, जसले यहाँ आउने पर्यटकलाई आकर्षित गर्छ ।
गैँडाका बच्चा पालन–पोषणमा संलग्न प्राविधिक लालबहादुर महतराले उनीहरूलाई आफ्ना सन्तान सरह माया गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “साना हुँदा दुई–दुई घण्टाको अन्तरालमा दूध खुवाउनुपर्छ, अलि ठूला भएपछि मकैको कुँडो र अन्य आहार दिन थालिन्छ । अहिलेसम्म म पूजादेखि देव, राम, माइला, पुष्पा, अञ्जलीसम्मका गैँडालाई हुर्काइसकेको छु ।”
डा. सडौलाका अनुसार, सुरुमा गैँडाका बच्चालाई दैनिक दुई किलोसम्म ल्याक्टोजिन दूध दिइन्छ । बच्चा ठूलो हुँदै जाँदा दूधको मात्रा बढाउँदै मकैलगायत आहार पनि खुवाइन्छ । गाई–भैँसीको दूध भने उनीहरूले पचाउन सक्दैनन्, किनभने त्यसको फ्याट र प्रोटिन संरचना गैँडाको पेटसँग मेल खाँदैन । त्यसैले बच्चा अवस्थामा खानपानमा विशेष ध्यान दिनुपर्छ ।
वरिष्ठ संरक्षण अधिकृत प्रसाईंले बच्चा अवस्थामा आमा गैँडासँग नहुनेले प्राकृतिक सीप (खान, हिँड्न, शत्रुबाट जोगिन) सिक्न कठिन हुने भएकाले मानव संरक्षणमा हुर्काइएका गैँडालाई व्यवस्थापन गरेर मात्रै जंगलमा छोड्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “कोशीमा पठाइएका गैँडालाई पनि त्यही उद्देश्यले लगिएको हो । आमा गैँडासँग हुर्के बच्चा सजिलै वातावरणसँग घुलमिल हुन्छ, तर मानव संरक्षणमा हुर्केका यिनीहरूलाई अन्य गैँडाको हूलमा घुल्न केही समय लाग्छ ।”