सचिवको गाडीको चाबी खोसिएको घटनाप्रति नेपाल भेटेरिनरी एशोसिएसनको आपत्ति

काठमाडौं ।कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे प्रयोग गर्दै आएको सरकारी सवारी साधनको चाबी मन्त्री खगेनसिंह हाङ्गामको आदेशमा खोसिएको घटनाप्रति नेपाल भेटेरिनरी एशोसिएसनले कडा आपत्ति जनाएको छ ।
एशोसिएसनले मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा यस्तो अमर्यादित र अशोभनीय व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै, उच्च राजनीतिक पदमा रहेकाहरूले संयम, स्वाभाव र विधिसम्मत शासन कायम राख्नुपर्नेमा जोड दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “यस प्रकारको घटनाले सार्वजनिक सेवा प्रति नकारात्मक सन्देश जाने, कृषि क्षेत्रका युवा पुस्तामा सरकारप्रति आकर्षण घट्ने र ‘ब्रेन ड्रेन’ बढ्ने देखिन्छ ।”
एशोसिएसनले राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीच आपसी विश्वास, सम्मान, मेलमिलाप र सहकार्य बलियो बनाउनु पर्ने बेला उल्टै उच्च सरकारी अधिकारीमाथि दादागिरीपूर्ण व्यवहार हुनु आपत्तिजनक भएको ठहर गरेको छ ।
अध्यक्ष डा. केदार सुवेदीद्वारा जारी विज्ञप्तिमा यस्ता घटनाले कार्यकारी सुशासन र कानूनी शासनलाई असर गर्ने भन्दै आगामी दिनमा यस्ता अनुचित गतिविधि नदोहरिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।