दुग्ध विकास संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) को रिक्त महाप्रबन्धक पद पूर्ति गर्न खुला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई तोकिएको समयभित्र आवेदन दिन आह्वान गरेको हो।
सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले आजको मितिबाट २१ दिनभित्र, अर्थात् आगामी भदौ २१ गतेसम्म, गोप्य सिलबन्दीमा दरखास्त पेश गर्नुपर्नेछ। आवेदन फाराम मन्त्रालयको सिंहदरबारस्थित कर्मचारी प्रशासन शाखा (बोर्डरसंस्थान डेस्क) मा कार्यालय समयभित्र बुझाउनुपर्ने जनाइएको छ।
महाप्रबन्धक पदका लागि एक जनाको माग गरिएको छ। आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा भोलिपल्ट कार्यालय खुलेको दिनसम्म आवेदन दिन सकिने प्रावधान सूचनामा उल्लेख छ।
आवेदन दिन इच्छुक उम्मेदवारले प्रशासन, व्यवस्थापन वा कानुन विषयमा स्नातकोत्तर डिग्री हासिल गरेको हुनुपर्नेछ। साथै उमेर कम्तीमा ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ।