नागरिकले अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले लिएको लक्ष्य पूरा गर्न मन्त्रालयअन्तर्गतका निकाय एवम् नेतृत्वबीच आपसी समन्वय गर्दै अघि बढ्न निर्देशन दिनुभएको छ।
आज मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अधिकारीले कृषि र मन्त्रालयसँग सम्बन्धित रहेर उठेका विषय तथा मन्त्रालयले लिएको लक्ष्य निर्धारित समयभित्रै सम्पन्न गर्न के–कस्ता समस्याहरू छन्, ती समस्याको समाधानका लागि सामूहिक प्रयास गर्न आवश्यक रहेको बताउनुभयो।
मन्त्री अधिकारीले कतिपय विषयमा अन्य मन्त्रालय तथा निकायसँग पनि सहकार्य गर्दै अघि बढ्नुपर्ने भएकाले ती विषयहरूलाई पनि प्राथमिकता दिन मन्त्रालयअन्तर्गतका कर्मचारीलाई निर्देशन दिनुभयो। उहाँले छिट्टै विषयगत समितिको बैठक राखी प्रदेश र स्थानीय तहसँग आवश्यक सहजीकरणमार्फत कृषि र मलसँग सम्बन्धित समस्या समाधान गर्न सकिने बताउनुभयो।
गत आर्थिक वर्षमा मन्त्रालयबाट सम्पादन भएका कार्यहरू महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले मुलतः नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. जय बहादुर टण्डन, मन्त्रालयका सचिवहरू डा. गोविन्द शर्मा र डा. दीपक कुमार खराल, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा. कृष्ण तिमिल्सिना, मन्त्रालयका सहसचिव, विभागीय तथा योजना प्रमुखहरूले हालका उपलब्धि, समस्या, आवश्यकता लगायतका विषय प्रस्तुत गर्नुभएको थियो।