प्रधानमन्त्री ओलीको पशुपालनलाई प्रोत्साहन: ‘एक किसान, १० भैँसी’ अभियान सुरु गर्ने तयारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रमा तीव्र रुपान्तरण र आत्मनिर्भरता हासिल गर्न ‘एक किसान, १० भैँसी’ अभियान सुरु गर्नुपर्नेमा जोड दिएका छन्।

मन्त्रीहरूसँगको कार्य सम्पादन सम्झौता कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले वागमती, कोशी, मधेस र लुम्बिनी प्रदेशलाई प्राथमिकता दिई यो अभियान सञ्चालन गर्न आग्रह गरे। उनले चीनमा राँगाको मासु निर्यात गर्ने सरकारी योजनासँगै भैँसीपालनले दुग्धजन्य उत्पादन वृद्धि, रोजगारी सिर्जना र युवा जनशक्तिलाई स्वदेशमै रोक्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे।

“मौलिक र बोल्ड निर्णय लिनुहोस्, जसले छिटो परिवर्तन ल्याउँछ,” प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई निर्देशन दिँदै भने, “यदि एक किसानलाई १० भैँसीको दरले लाखौं किसानलाई जोड्न सक्यौं भने १० लाख भैँसीपालन सम्भव हुन्छ, जसबाट कृषि क्षेत्रमा क्रान्तिकारी परिवर्तन र राष्ट्रिय अर्थतन्त्रमा ठुलो योगदान हुनेछ।”

प्रधानमन्त्री ओलीको यो प्रस्तावलाई किसान, कृषिविद् र निजी क्षेत्रका उद्यमीहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। समर्थकहरूले यसलाई आत्मनिर्भरता र ग्रामीण रोजगारीका लागि ऐतिहासिक अवसरका रूपमा हेरेका छन् भने चुनौतीपूर्ण पूर्वाधार, वित्तीय स्रोत र बजार व्यवस्थापनबिना यसको कार्यान्वयन कठिन हुने चिन्ता पनि व्यक्त गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *