प्रविधिसँग एकाकार हुँदै संघ, अब सदस्यता अद्यावधिक अनलाइनबाट

सदस्यता अद्यावधिक गर्ने समय असोज मसान्तसम्म

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघले सदस्यता अद्यावधिक कार्यलाई तीव्रता दिएको छ । आगामी १४औं केन्द्रीय महाधिवेशन र ३५औं वार्षिक साधारणसभालाई लक्षित गर्दै संघले विद्युतीय माध्यमबाट सदस्यता अद्यावधिक कार्य थालेको हो ।

 आगामी महाधिवेशनमा प्रतिनिधि बन्न तथा सहभागी हुन ०८२ असोज मसान्तभित्र अनिवार्य रूपमा अद्यावधिक प्रक्रिया पूरा गर्ने गरी अभियान थालिएको संघले जनाएको छ । उक्त अवधिभित्र सदस्यता अद्यावधिक नगर्ने सदस्य महाधिवेशनमा प्रतिनिधित्व गर्ने अधिकारबाट वञ्चित हुनेछ । संघको महाधिवेशन आगामी पुस २४ र २५ गते काठमाडौंमा हुँदैछ ।

संघका महासचिव एवं औषधि अभिलेखीकरण तथा अद्यावधिक समितिका संयोजक सादुराम ढकाल (आशिष) ले योग्यता पुगेका व्यक्तिलाई सदस्यता बन्न सहजता होस् भनेर विद्युतीय माध्यमबाट सदस्य बन्ने तथा नवीकरण गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

ढकालका अनुसार, विधानअनुसार स्वतः प्रतिनिधि हुने व्यवसायीहरूले समेत विद्युतीय माध्यमबाट अनिवार्य रूपमा आफ्नो नाम अद्यावधिक गर्नुपर्नेछ । सदस्यताको तथ्याङ्कलाई पारदर्र्शी, व्यवस्थित र अद्यावधिक राख्न यस्तो प्रबन्ध गरिएको महासचिव ढकालको भनाइ छ ।
क्युआर कोडमार्फत फाराम भर्ने व्यवस्था
अद्यावधिक प्रक्रियालाई सहज बनाउन संघले गूगल फारम र क्युआर कोडमार्फत फाराम भर्ने व्यवस्था मिलाइएको छ । यसका लागि शुल्क भने नलाग्ने संघले जनाएको छ ।विद्युतीय माध्यमबाट सदस्यता अद्यावधिक गर्ने अभियान थालेसँगै ५८९ ले त्यसमा सहभागिता जनाइसकेका छन् । हाल सम्मको अद्यावधी विवरण अनुसार पहिलो दर्ता दिनेश कट्टेलद्वारा सञ्चालित सूर्य भेटेरिनरीले गरेको छ भने अन्तिम ५८९औं दर्ता मकवानपुरको वस्तिपुर भेटले गरेको छ।

अद्यावधिक फाराममा प्रदेश र शाखा, फार्मको नाम, दर्ता नम्बर, फार्मको प्रकृति, दर्ता प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर र प्रमाणपत्र, औषधि व्यवस्था विभाग (म्म्ब्) मा दर्ता विवरण र प्रमाणपत्र, कार्यालयको ठेगाना र सम्पर्क नम्बर, कामको प्रकृति, आयातकर्ताको कम्पनी र मुलुकको सूची अनिवार्य रूपमा भर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, आधिकारिक व्यक्तिको नाम, जिम्मेवारी, मोबाइल नम्बर, रक्त समूह, नागरिकता विवरण, जन्म मिति, संघको भूमिका र पासपोर्ट साइजको फोटो पनि पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सदस्यहरूले भरेका विवरणको प्रमाणीकरण संघका प्रदेश तथा जिल्ला कमिटीका अध्यक्ष वा तोकिएका व्यक्तिले गर्नेछन् । संघले तोकिएको म्यादभित्र सम्पूर्ण सदस्यलाई विवरण अद्यावधिक गरी महाधिवेशनमा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *