गण्डकीले खारेज गर्यो पशुपन्छीको एक कार्यालय, चार गाभिए

काठमाडौं । गण्डकी प्रदेश सरकारले पशुपन्छीसँग सम्बन्धित एक कार्यालय खारेज गरेको छ भने अन्य चारलाई कार्यप्रकृति समान भएको कार्यालयसँग गाभेको छ ।

गण्डकी प्रदेश सरकारले शिक्षा, वन, पर्यटन, कृषि, पूर्वाधार, स्वास्थ्यलगायतका कार्यालय खारेजी तथा गाभ्ने निर्णय लिँदा पशुपन्छीतर्फका पाँच कार्यालय पनि परेका हुन् ।

पशुपन्छीतर्फ खारेज भएको कार्यालयमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय छ । यसबाहेक पर्यटन, उद्योग, कृषि, पूर्वाधारलगायतसँग सम्बन्धित थप सात कार्यालय पनि खारेजीमा परेका छन् ।

प्रदेश सरकारले पशुपन्छीतर्फका चार कार्यालयलाई भने आपसमा गाभ्ने निर्णय गरेको छ । कृषि ज्ञान केन्द्र, मनाङ र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङसँगै कृषि ज्ञान केन्द्र मुस्ताङ र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुस्ताङलाई आपसमा गाभिएको हो । यसबाहेकका पूर्वाधार, उद्योग, शिक्षा, कृषिलगायतसँग सम्बन्धित अन्य २८ कार्यालयहरू पनि गाभ्ने निर्णय गरिएको छ ।

गण्डकी प्रदेश सरकारले मातहतका कार्यालय आवश्यक भए÷नभएबारे अध्ययन गर्न प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समिति गठन गरेको थियो । त्यसैको सिफारिसका आधारमा प्रदेश सरकारले विभिन्न कार्यालय खारेज गर्ने, गाभ्ने, कार्यक्षेत्र हेरफेर गर्ने तथा एकीकृत गर्ने निर्णय लिएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारका अनुसार खारेज भएका कार्यालयको कार्यसम्पादन, सम्पत्ति, दायित्व, श्रेस्ता एवं अभिलेख व्यवस्थापन  अब सम्बन्धित मन्त्रालय वा अन्तरगतका निकायले गर्नेछन् । यस्ता कार्यालयमा करारमा कार्यरत कर्मचारीको म्याद थप नगर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *