दाउन्ने एग्रो फार्मको आठौँ वार्षिक साधारण सभा सम्पन्न, एन्टिबायोटिक–रहित अण्डा उत्पादनमा जोड

काठमाडौं ।नेपालको पोल्ट्री उद्योगमा विशिष्ट स्थान बनाएको दाउन्ने एग्रो फार्म लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारण सभा चितवनको रत्ननगरमा सम्पन्न गरेको छ। अध्यक्ष विनोद पोखरेलको अध्यक्षतामा बसेको सभामा गत वर्षको कामकारबाही, आगामी योजनाहरू र कम्पनीको दीर्घकालीन दृष्टिकोणबारे छलफल गरिएको थियो।
सभामा अध्यक्ष पोखरेलले दाउन्ने एग्रो फार्मलाई गण्डकी प्रदेशअन्तर्गत नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक प्रविधियुक्त पोल्ट्री फार्मका रूपमा स्थापित गर्न सफल भएको बताए। उनका अनुसार कम्पनीले जर्मनी र मलेसियाबाट ल्याइएको पूर्ण स्वचालित र वातानुकूलित प्रणालीमार्फत एन्टिबायोटिक–रहित, उच्च गुणस्तरका अण्डा न्यूनतम लागतमा उत्पादन गर्दै आएको छ।
“हाम्रो उद्देश्य उपभोक्ताको स्वास्थ्य सुरक्षित राख्दै उचित मूल्यमा गुणस्तरीय उत्पादन उपलब्ध गराउनु हो,” अध्यक्ष पोखरेलले भने।
कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, खेलकुद र पूर्वाधार विकासमा निरन्तर योगदान पुर्याउँदै आएको छ। निजी कम्पनीबाट सार्वजनिक लिमिटेडमा रूपान्तरणलाई उनले आफ्नो कर्पोरेट यात्राको महत्वपूर्ण उपलब्धि भएको बताए।
सञ्चालन, लागत र बिक्री व्यवस्थापनमा अझ पारदर्शिता ल्याउन कम्पनीले जर्मनीमा विकसित अत्याधुनिक सफ्टवेयर प्रयोगमा ल्याइसकेको छ।
कम्पनीको सञ्चालक समिति
दाउन्ने एग्रो फार्म लिमिटेडको सञ्चालक समितिमा अध्यक्ष विनोद पोखरेल, सञ्चालकहरू बिपिन पोखरेल, रघुनाथ भट्ट, हेमराज बडाल, युबराज लामिछाने, तथा स्वतन्त्र सञ्चालक सुजिता रेग्मी रहेका छन्।