दानामा नवीन प्रविधि भित्राउँदै, लागत घटाउँदै

काठमाडौं । ‘कुखुरालाई दाना खुवाउँदा खुवाउँदै हैरान भैयो । बेच्ने बेला पोष नै आउँदैन । खर्च बढी लाग्ने भएकाले फाइदा नै निकाल्न सकिँदैन ।’

व्यावसायिक ढंगले ब्रोइलर, लियर्सलगायत जातका कुखुरा पालन गर्ने किसान देशमा हजारौं छन् । यो क्षेत्रमा किसानहरूको आकर्षणका कारण पोल्ट्रीजन्य पदार्थको उत्पादनमा देश आत्मनिर्भर बनेको छ । तर अधिकांश कृषकहरूले दानाका कारण आफ्नो लागत मूल्य बढेको उल्लिखित प्रकृतिका गुनासो यततत्र सर्वत्र गर्ने गरेको सुनिन्छ ।

हुन पनि, दानामा हुने खर्चले किसानहरू आफ्नो लगानीअनुसारको प्रतिफल पाउनबाट वञ्चित हुँदै आइरहेका छन् । बढ्दो लागत मूल्यका कारण कतिपय कृषक त पेशाबाटै पलायन भइरहेका छन् ।
के. नेट फिड इण्डष्ट्री प्रालिले किसान समस्यामा परेको यही पाटोलाई मध्यनजर गरेर कोरियन प्रविधिमा आधारित दाना उद्योग सञ्चालनमा ल्याएको छ । आफ्नो उद्योगले उत्पादन गरेको दानाबाट कम समयमा कम लागतमा किसानले बढी लाभ लिनसक्ने के. नेट फिड इण्डष्ट्री प्रालिका सञ्चालक देव गिरी दाबी गर्छन् ।

‘हामीले उत्पादन गरेको दानाले थोरै समय र लागतमा धेरै उत्पादन दिन्छ,’ गिरीले आफ्नो उद्योगको उत्पादनको विशेषताबारे चर्चा गर्दै भने ।
नेपालमा चिनियाँ र इण्डियन प्रविधिमा आधारित दाना उद्योग सञ्चालनमा रहे पनि कोरियन प्रविधिमा आधारित यो सम्भवतः पहिलो उद्योग हो । उद्योग सञ्चालन गर्ने विशेषज्ञहरू पनि कोरियन रहेको गिरी बताउँछन् ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–११ मा स्थापना भएको यो उद्योगले अहिले कोरियन–नेपाली पेलेट सिड ब्राण्डमा कुखुराको दाना उत्पादन गर्दै आइरहेको छ । प्रतिघण्टा १० टन दाना उत्पादन क्षमता भएको उद्योगले निकट भविष्यमै उत्पादनको दायरा विस्तार गरेर बंगुरको दाना उत्पादन गर्ने योजना बनाएको छ । ‘अहिले हामीले कुखुराको पेलेट दाना उत्पादन गर्दै आइरहेका छौं । छिट्टै बंगुरको दाना पनि उत्पादन गर्ने सोच छ,’ गिरी भन्छन् । ०८१ फागुनबाट सञ्चालनमा आएको उद्योगले अहिले कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आफ्ना उत्पादनहरू बिक्री वितरणका लागि पु¥याइरहेको छ ।
उद्योगीहरू अहिले दानामा गुणस्तरको प्रतिस्पर्धा रहेको बताउँछन् । आफ्नो कम्पनीले गुणस्तरीय दाना उत्पादन गरेकाले सोचेअनुसार नै बजार पाइरहेको गिरीको भनाइ छ । ‘बजारमा अहिले गुणस्तरको प्रतिस्पर्धा छ । हामीले गुणस्तरीय दाना त्यसमा पनि कम लागतमा कुखुरा उत्पादन गर्न सकिने खालको उत्पादन गरेकाले यसप्रति आकर्षण देखिएको छ,’ बजार अवस्थाबारे गिरीले भने ।

उद्योगसँगै फार्मिङ

गिरी पछिल्लो २० वर्षदेखि पोल्ट्री क्षेत्रमा सक्रिय छन् । पहिले उनको ह्याचरी उद्योग थियो । किसानलाई चल्ला दिएर तयारी मासु र अण्डा उनले बिक्री गरे ।
मकै बढी उत्पादन हुने बारा जिल्लामा नयाँ उद्योग सञ्चालन गरेका गिरी पहिलेको किसानमुखी सोच परिवर्तन हुनुपर्ने ठान्छन् । त्यही सोचका साथ उनले अब आफैं फार्मिङ गर्ने योजना अघि बढाएका छन् । जसअन्तर्गत आफैं कुखुरा पाल्ने र त्यसका उत्पादन पनि आफैं उपभोक्तासमक्ष पु¥याउने रणनीति उनको समूहको छ ।

‘हिजो हामी किसानमुखी थियौं । अब आफैं फार्मिङ गर्दैछौं । उपभोक्तालाई पनि आफैं अण्डा तथा मासु उपलब्ध गराउने छौं,’ कोरियन प्रविधिमा आधारित दाना उद्योग सञ्चालन गर्ने उत्प्रेरकबारे उल्लेख गर्दै उनले भावी योजनाको फेहरिस्त सुनाए ।

अहिले उपभोक्ता र उत्पादक दुवै आर्थिक रूपमा नोक्सानीमा छन् । उत्पादकले लागत मूल्य नपाउने तर उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने बाध्यता छ । गिरी आफूहरूको योजनाले दुवै पक्षलाई राहत पुग्ने सुनाउँछन् ।

किसान उकास्ने हुटहुटी

अमेरिकामा किसानको संख्या निकै कम छ । त्यहाँको कुल जनसंख्याको मात्रै २ प्रतिशत कृषि पेशामा आबद्ध छन् । तथापि उनीहरू यति व्यावसायिक छन् कि ती गाडी होइन, हेलिकप्टर चढ्ने हैसियत राख्छन् ।
तर नेपालका किसानको अवस्था भने फरक छ । यहाँको कृषि पेशा निर्वाहमुखीबाट माथि उठेर अझै व्यावसायिक ढंगले अघि बढ्न सकेको छैन । आफ्ना उत्पादनबाट सबैको पेट भरिदिने किसानको आत्मसम्मान खुम्चिँदो छ । किसानलाई दोस्रो दर्जाका रूपमा व्यवहार गर्ने जमात उत्तिकै छ ।

कृषिमा अथाह सम्भावना भए पनि बिना लगानी किसानले अरूको आश राख्दा यो पेशामा आबद्ध हुनेहरूको प्रगति हुन नसकेको गिरीको निचोड छ । किसानमा इच्छाशक्ति नहुँदा र गर्न सकिन्छ भन्नेतिर भन्दा सकिँदैन भन्नतिर हावा चल्दा समस्या सिर्जना भएको गिरीको बुझाइ छ ।

गिरी किसान लघुताभासले थिचिएको र आफू कस्तो हुनुपर्छ भनेर भेउ नै पाउन नसकेको बताउँछन् । त्यसैले किसान कस्तो हुनुपर्छ भनेर सबैभन्दा पहिले प्रशिक्षित गर्नुपर्ने उनी बताउँछन् ।
तर किसानलाई जागरुक बनाउने यो अभियान कसै न कसैले सुरु गरिदिए मात्र अगाडि बढ्ने हो । भनेर मात्र कसरी हुँदो हो ?

किसान जागरुक बनाउने यो काम अब आफूले गर्न लागेको गिरी बताउँछन् । गिरीका अनुसार, उनको समूहले किसान कस्तो हुनुपर्छ भनेर अहिले मोडालिटी बनाउँदैछ । त्यो काम सकिएपछि किसानलाई तालिम दिन उनीहरूले ट्रेनिङ सेन्टर खोल्दै छन् ।

‘हामी किसानहरू अझैसम्म व्यावासयिक हुन सकेका छैनौं । बिना लगानी, अरूको आश गरेर थोरैथोरै मुनाफा खाइरहेका छौं । त्यसैले किसान यस्तो हुनुपर्छ, उसले यसरी व्यवसाय गर्नुपर्छ भनेर इन्ष्टिच्युट खोल्दैछौं,’ उनले किसान उकास्ने आफ्नो जुक्तिबारे भेट टाइम्स प्रतिनिधिलाई सुनाए ।

बजारको पिरलो

नेपालका किसानले सबैभन्दा ठूलो समस्या बजारका कारण झेल्नुपरेको छ । पहिलो त किसानको उत्पादनले बजार नै पाउँदैनन् । पाइहाले पनि मूल्य दिइँदैन । बिचौलियाको दुष्चक्रममा फसेको बजारकै कारण कैयन् नवोदित किसानहरू यो पेशाबाट हात धोएर अन्यत्र पलायन भएका छन् ।

गिरी बजारको समस्या नेपालमा मात्र नभएर सबैतिर रहेको बताउँछन् । उनका अनुसार फ्रान्समा समेत अण्डा र गोलभेंडाले बजार नपाएर सडकमा फ्याँक्ने गरिएको छ ।
उत्पादन र खपतको चेक एण्ड ब्यालेन्स दुनियाँमा कसैले पनि मिलाउन नसक्ने भएकाले भण्डारणतर्फ ध्यान दिन गिरी सुझाउँछन् । ‘उत्पादन र खपतलाई चेक एण्ड ब्यालेन्स गर्न दुनियाँमा कसैले पनि सक्दैन,’ गिरी भन्छन्, ‘तर यसलाई भण्डारण गरेर व्यवस्थित ढंगले पछि बिक्री वितरण गर्न सकिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *