पशुपतिमा विश्व पशु कल्याणका लागि राम कथा महायज्ञ

काठमाडौँ । विश्वभरका सम्पूर्ण पशुहरूको कल्याणको कामना गर्दै पशुपति क्षेत्रमा सप्ताहव्यापी राम कथा महायज्ञ सञ्चालन भइरहेको छ। भारतको ओडिशास्थित विश्व सनातन ट्रस्टले पशुपतिनाथले विश्वभरका सबै पशुको कल्याण गर्नेछन् भन्ने विश्वासका साथ यस महायज्ञको आयोजना गरेको हो।
गत आइतबारदेखि सुरु भएको यो राम कथा महायज्ञ आगामी शनिबारसम्म चल्नेछ। ट्रस्टका अनुसार, पशुपति क्षेत्रमा यस्तो महायज्ञ गर्दा विश्वभरका पशुहरूको उन्नति हुने धार्मिक विश्वास छ।
यस महायज्ञमा सहभागी हुन भारतका विभिन्न स्थानबाट करिब दुई सय भक्तजन काठमाडौँ आएका छन्। पशुपति क्षेत्रस्थित नेपाल–भारत मैत्री पशुपति धर्मशालामा पण्डित काशीनाथ मिश्रले राम कथा वाचन गरिरहनुभएको छ। दैनिक करिब पाँच सय भक्तजन सहभागी हुने यस महायज्ञमा दिउँसो ३ बजेदेखि बेलुकी ७ बजेसम्म कथा वाचन भइरहेको छ।
ट्रस्टका अध्यक्षसमेत रहनुभएका पण्डित मिश्रका अनुसार, विश्व सनातन ट्रस्टले सनातन धर्म र संस्कृतिको संरक्षणका लागि नेपाल, भारत, अमेरिका, क्यानडा, बेलायत लगायतका देशमा यस्ता धार्मिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ।