कृषि अनुदान दुरूपयोग गरेकालाई कारबाही गर्ने अन्तिम तयारी

काठमाडौं । विगतमा कृषि अनुदान दुरूपयोग गरेकाहरूलाई कारबाही गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको कृषि मन्त्री रामनाथ अधिकारीले बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उनले अनुदान दुरूपयो गरेकाहरूलाई कारबाही थाल्ने प्रक्रिया सम्बन्धित निकायले अन्तिम चरणमा पुर्याएको जानकारी दिएका हुन् ।
“देशभरि विगतमा कसरी अनुदान वितरण दुरूपयोग भएको थियो भन्ने बारेमा छानबिन गरी विवरण संकलन गरिएको छ, अब केही दिनमा कारबाही प्रक्रिया अगाडि बढ्छ,’’ मन्त्री अधिकारीको दाबी छ ।
उनले आगामी दिनमा कृषिको अनुदानको एक हजार रुपैया पनि दुरूपयोग नहुने व्यवस्था आफूले मिलाएको दाबी पनि गरे ।
विगतमा करोडौंको अनुदान पहुँचवालाले दुरूपयोग गरेर असली किसानले अनुदान नपाएकोमा अबदेखि खास किसानले अनुदान पाउने र दुरुपयोग गर्नेहरूले नपाउने कडा व्यवस्था गरिएको उनको भनाइ छ ।
कृषिमन्त्री अधिकारले अबदेखि कसैले पनि निवेदनका भरमा अनुदान नपाउने ठोकुवा गरे । ‘‘विगतमा एउटा निवेदनका भरमा करोडौंका अनुदान लैजाने र दुरूपयोग गर्ने गरिएको रहेछ, अब पहिलेजस्तो हुन दिँदैनौं, कडा मापदण्ड बनाइएको छ, त्यसका आधारमा मात्रै अनुदान वितरण गरिन्छ,’’ मन्त्री अधिकारीले अगाडि थपे ।