कुकुर व्यवसायीलाई दुःख दिनेविरुद्ध संघ उभिन्छ

नेपालमा कुकुर व्यवसायले पछिल्ला समय गति पक्डन थालेको छ । झण्डै २० हजारदेखि ३० हजार व्यक्ति प्रत्यक्ष र अप्रत्यक्ष ढंगले यो व्यवसायमा आबद्ध छन् ।
कुकुर व्यवसाय फस्टाउँदै गइरहेको भए पनि यसलाई उपयुक्त ढंगले व्यवस्थापन गर्न भने सकिएको छैन । प्रस्तुत छ, नेपाल कुकुर केनाइन संघका अध्यक्ष मुकुन्द बानियाँसँग नेपालको कुकुर व्यवसायको पछिल्लो अवस्था, यसले झेलेका समस्या, सम्भावनालगायत विषयमा केन्द्रित रहेर भेट टाइम्स मासिकका प्रतिनिधिले गरेको सवाल ः
तपाईं नेतृत्वको नेपाल कुकुर केनाइन संघको उद्देश्य के हो ?
कुकुरसम्बन्धी जति पनि व्यापारी छन्, उनीहरूको व्यावसायिक हक–हितका लागि संघको स्थापना गरिएको हो । यसले व्यवसायीलाई कानूनी संरक्षण पनि प्रदान गर्छ ।
संघले अहिले के गरिरहेको छ ?
अहिले हामी व्यापार सम्बन्धी काम गरिरहेका छौं । कार्टुनमा कुकुर राखेर बाहिर पठाउने कामलाई रोकेका छौं । पेट प्राविधिबाहेककाले कुकुरलाई खोप लगाउन पाउँदैनन् । यस्ता नियमहरूको कार्यान्वयनका लागि पनि संघले भूमिका खेलिरहेको छ । ब्रिडिङ गर्दा कुकुरको आधारभूत आवश्यकता पूरा गरिएको हुनुपर्छ । थुनेर मात्र राख्न हुँदैन । पूरक आहाराहरू पनि दिनुपर्छ । ब्रिडरहरूकोमा पुगेर कुकुरका यस्ता अधिकारबारे सचेतना फैलाइरहेका छौं । ‘कुकुरको अधिकारको सम्मान गर्न सक्नु हुँदैन भने यो व्यवसाय छाडिदिनुहोस्’ भन्ने गरेका छौं । निकट भविष्यमा हामीले सडक कुकुरका लागि प्रत्येक पेटसपमा ‘डोनेसन’ बक्सको व्यवस्था पनि गर्दैछौं ।
पेटसपमा ‘डोनेसन’ बक्स राख्ने कुरा गर्नुभयो । यो राख्नुको उद्देश्यचाहिँ के हो ?
संघले व्यापारभन्दा पहिले कुकुरको अधिकारको वकालत गर्छ । कुकुरलाई न्याय दिएपछि मात्र बल्ल व्यापारको कुरा आउँछ । त्यसैले संघले सडक कुकुरका लागि प्रत्येक पेटसपमा डोनेसन बक्स राख्ने निर्णय गरेको हो । त्यसलाई निकट भविष्यमै कार्यान्वयनमा लैजाने हाम्रो योजना छ ।
डोनेसन बक्समा जम्मा भएको रकम सडक कुकुरको हितमा कसरी उपयोग हुन्छ ?
सबै ककुरका आ–आफ्ना विशेषता हुन्छन् । हामी कुनै पनि कुकुरलाई विभेद गर्दैनौं । सबै कुकुरलाई समान ढंगले व्यवहार गर्नुपर्छ भन्ने सोचबमोजिम यो अवधारणा अघि बढाइएको हो ।
सडक कुकुरका लागि त सरकारी तथा गैरसरकारी संस्थाले लामो समयदेखि काम गरिरहेका छन् । फेरि तपाईंहरूले पनि यसमा किन काम गर्नुप¥यो ?
एनजिओ, आइएनजिओहरूले सडक कुकुरको अधिकारका लागि काम गरिरहेका छौं भन्छन् । आफ्नो ठाउँमा उनीहरूले काम गरेका पनि होलान् । म गर्दै गरेका छैनन् भन्दिनँ । तर उनीहरूको काम कति प्रभावकारी छ भनेर एउटा सामान्य मान्छेले पनि बुझ्न सक्छ । कुकुरको आयु सामान्यतया १० वर्षदेखि १२ वर्ष हुन्छ । पशु कल्याणका लागि यतिका धेरै संघ–संस्थाले काम गरिरहेका छन् । काठमाडौं महानगरपालिकामा गएर बुझ्ने हो भने त्यहाँका प्राविधिकले ५ हजार ४०० कुकुर बन्ध्याकरण गरेको बताउँछन् । संघ–संस्थाले पनि उसैगरी बन्ध्याकरण गरेको दाबी गर्छन् । सरकारी, गैरसरकारी संस्थाले बन्ध्याकरण गरिदिएपछि त सडक कुकुर घट्नुपर्ने होइन र ? बन्ध्याकरण गर्दागर्दै किन सडक कुकुर नियन्त्रणमा आउन सकेको छैन ? अवस्था किन ज्युँका त्युँ छ ? प्रश्न पेचिलो छ ?
सरकारी, गैरसरकारी संस्थाको दाबी र वास्तविकतामा तालमेल नदेखिनुको कारण के होला त ?
सडक कुकुर नियन्त्रणका लागि आएको सहयोगको उचित सदुपयोग भएको छ कि छैन भनेर अनुगमन गर्ने दायित्व राज्यको सम्बन्धित निकायको हो । राज्यका निकायले आफूले गर्नुपर्ने काम नगर्दा यसमा वेथिति देखिएको छ ।
भनेपछि सडक कुकुर नियन्त्रणका नाममा प्राप्त सहयोग दुरूपयोग भइरहेको छ ?
मैले माथि नै भनेँ नि एउटा कुकुरको आयु १० वर्षदेखि १२ वर्षसम्म हुन्छ । कुनै स्थानका सबै कुकुरलाई तपाईंले बन्ध्याकरण गराउनु भएको छ भने १२ वर्षपछि त्यहाँ कुनै पनि कुकुर नदेखिनुपर्ने होइन र ? तर यहाँ कसरी देखिइरहेको छ ? यो प्राप्त सहयोग दुरूपयोग नभएर के हो ? सामान्य सुझबुझ लगाउँदा पनि थाहा हुने कुरा हो यो । सडक कुकुर भएनन् भने त बाहिरबाट सहयोग आउन बन्द हुन्छ । यही कारण सडक कुकुर निर्मूल पार्न नखोजिएको हो कि भन्ने आशंका यी सवालहरूले उठाएको छ ।
सडक कुकुर नियन्त्रणमा यति धेरै बदमासी भइरहेका रहेछन् । संघले यसबारे के गरिरहेको छ ?
कुकुरका नाममा आएको रकम दुरूपयोग सम्बन्धमा सम्बन्धित सबैको हामीले ध्यानाकर्षण गराएका छौं । काठमाडौं महानगरपालिकाका प्राविधिकतर्फका चिकित्सक डा. अवधेश झासँग कुरा गर्दा उहाँले कुनै पनि सडक कुकुर बाटोमा म¥यो भने एक पैसा पनि नलिई क्लिन नेपालले उठाउँछ भन्नुभएको थियो । त्यो कतिको कार्यान्वयन भएको छ, सबैले देखेका छौं । काम गरेको कुरालाई गरेको भन्नुपर्छ । कोही पनि शत प्रतिशत पूर्ण हुँदैन । भुलचुक भन्ने कुरा जस्तो ठाउँमा पनि हुन्छ । पैसा लिइसकेपछि इमानदारितापूर्वक तोकिएको काम गर्नुपर्छ ।
संघको काम कुकुरलाई उद्धार गर्नु, सेल्टरमा राख्नु, डोनेसन लिनु होइन । हाम्रो काम त मापदण्ड परिपालना गरेर कुकुरसम्बन्धी व्यवसाय गर्न प्रोत्साहन गर्नु हो । अहिले देशभरका लगभग ७० प्रतिशत कुकुर व्यवसायी हाम्रो संगठनमा आबद्ध छन् । डग वेलफेयरको क्षेत्रमा काम गर्ने एनजिओ, आइएनजिओले के सोचेर काम गरिरहेका छन्, मलाई थाहा छैन । तर मेरो विचारमा पशु कल्याणको क्षेत्रमा काम गर्ने व्यक्ति पहिले आफैं शिक्षित हुनुपर्छ । उदाहरणका लागि संघको अध्यक्ष मलाई कुकुरको बारेमा थाहा छैन भने मैले अरूलाई के सिकाउन सक्छु ? पशु अधिकारकर्मी, एनिमल लभर भनेको छ, जसको पायो त्यसकै घरमा छिरेको छ । बिना अनुमति फोटो, भिडियो खिचेर पोस्ट् गरेको छ । यो ठीक भएन । हामी कोही पनि विधि र कानूनभन्दा माथि छैनौं । कानूनको अधीनमा रहेर हामीले आफ्ना गतिविधि सञ्चालन गर्नुपर्छ । सबैले यो हेक्का राख्न जरुरी छ ।
सडक कुकुर व्यवस्थापनका नाममा भइरहेका वेथितिको कुरा गर्नुभयो । यसको दीर्घकालीन समाधानका लागि के गर्न उपयुक्त हुन्छ होला ?
इमानदारपूर्वक लागिपर्ने हो भने जे पनि गर्न सकिन्छ । नलाग्ने हो भने केही पनि गर्न सकिँदैन । यदि सडक कुकुरको समस्या समाधान गर्ने हो भने सम्बन्धित निकायले अलिकति टाइट गर्नुप¥यो । पशुकल्याणसँग सम्बन्धित संघ–संस्थादेखि हाम्रै संघले पनि ‘कसैले के ग¥यौं’ भनेर सोध्दा डाटा दिन सक्नुपर्छ । ५० वटा कुकुरलाई बन्ध्याकरण गरे या भ्याक्सिनेसन गरे भने त्यसको तथ्यांक देखाइदिन सक्नुपर्छ । यो गरेँ, त्यो गरेँ भनेर मुखले भन्दैमा हुँदैन । सारमा भन्नुपर्दा पहिले त सहकार्य गर्नुपर्छ । दोस्रो, नियामक निकायले अनुगमन गर्नुपर्छ ।
कुकुर व्यवसायतिरै फर्कौं । नेपालमा अहिले कुकुर व्यवसायमा आबद्धको अवस्था के छ ?
प्रत्यक्ष र अप्रत्यक्ष ढंगले झण्डै २०–३० हजार मानिस यो व्यवसायमा संलग्न छन् । हाम्रो संगठनमा मात्रै देशभरबाट झण्डै १०० जना आबद्ध हुनुहुन्छ । कुकुरसम्बन्धी व्यवसाय गर्ने देशभरका व्यवसायीलाई समेट्ने योजनामा हामी छौं । तर सदस्यले रुल्स एण्ड रेगुलेसन सदस्यले अवलम्बन गरेनन् भने तिनको सदस्यता खारेज गरिदिन्छौं । कुकुरको बच्चालाई व्यवस्थित नगरी फ्याँकिदिएकाको हामीले यसअघि सदस्यता खारेज गरिसकेका छौं । संघको नियम पालना हुँदैन उनीहरूलाई समेटेर काम पनि हुँदैन नि ।
तपाईंले सडक कुकुरको अवस्थाबारे विस्तारमा बताउनुभयो । नेपालमा अहिले कुकुर व्यवसायचाहिँ कस्तो छ ?
कुकुर व्यवसाय नेपालमा राम्रो छ । तर शत प्रतिशत नै राम्रो पनि छैन । यसको केही कारण छन् । पढेर, बुझेर यो व्यवसायमा आबद्ध हुनेहरूको निकै राम्रो छ । शिक्षित व्यक्तिलाई हामीले सिकाइराख्नु पर्दैन, उहाँहरूबाट सिक्छौं । पहिलेदेखि आबद्ध भएकाहरूलाई सुध्रिने मौका दिएर व्यवस्थित ढंगले व्यवसाय गर्न सुझाइरहेका छौं ।
नेपाल सरकारले कुकुर पाल्नु, यसको ब्रिडिङ गर्नुलाई गैरकानूनी ठहर गरेको छैन । राज्यले गैरकानूनी नभनेको कुरालाई इलिगल हो भन्न मिल्दैन । जे जतिले जसरी पालिरहेका छन्, उहाँहरूलाई तालिम दिएर सम्झाइ बुझाइ गरिरहेका छौं । पहिले अव्यवस्थित रूपमा कुकुर फार्म सञ्चालन गरेका धेरैले हाम्रो यो प्रयासपछि काम छाडेका छन् ।
कुकुरको ब्रिडिङ गर्छु भनेर आउन चाहनेका लागि नेपालमा ठाउँ छ कि छैन ?
व्यावसायिक रूपमा कुकुर ब्रिडिङ गर्न दर्ता गर्नुपर्छ । हरेक स्थानीय तहमा अहिले यो काम हुन्छ । कुकुरलाई अहिलेसम्म पनि सरकारले पशु भनेर घोषणा गरेको छैन । कुकुर पशु होइन भने हो चाहिँ के त ? कुकुरबाट हामीले केही उपलब्धि गर्दैनौं । मासुका रूपमा प्रयोग गर्ने कुरा पनि होइन । त्यसैले सरकारले कुकरलाई बिलासी वस्तु मानेको छ । हिन्दूधर्ममा कुकुरलाई पूजा गरिन्छ भने त्यसले गाईवस्तुको स्थान किन नपाउने ? कुकुर व्यवसायसँग सम्बन्धित सबैले हातेमालो गरेर कानून संशोधनमा भूमिका खेल्नुपर्छ ।
रह्यो कुरा, यो व्यवसायको स्कोपको । यो प्लेटफर्म एकदम राम्रो हो । तर अरूले कमायो, म पनि कुकुर व्यवसाय गरेर कमाउछु भनेर देखासिकीमा फालहान्ने फिल्ड होइन यो । घरमा एउटा कुकुर पाल्न पनि यस सम्बन्धी ज्ञान चाहिन्छ । समय पनि आवश्यक हुन्छ । पढेर, बुझेर यो क्षेत्रमा आउनेका लागि भने राम्रो छ । यद्यपि, कुकुरबारे बुझेका, पढेका मान्छे यो फिल्डमा लाग्दैनन् । किनभने कुकुर पाल्न सोचेजस्तो सजिलो छैन । जुठोपुरो दिएर कुकुर पाल्छु भन्ने पुरातन सोचले अब हुँदैन । ज्ञान लिएर आउनेका लागि यो क्षेत्रमा राम्रो छ, विदेश जानु पर्दैन ।
नेपालमा उत्पादित कुकुर अन्य मुलुकमा निर्यात गर्ने सम्भावना चाहिँ कस्तो छ ?
यसको सम्भावना पनि निकै राम्रो छ । पढेलेखेर, उत्कृष्ट बिडिङ गर्ने हो भने नेपालको सम्भावना राम्रो छ । यसले हाम्रो स्तर पनि उकासिन्छ । तर यसमा सबैभन्दा ठूलो कुरा टाइमको हुन्छ ।
कुकुरको फिड सप्लिमेन्ट दर्ता नगरी, एमआरपी नराखी मनपरी बिक्री वितरण गरिरहेको गुनासो सुनिन्छ । यसबारे संघ कतिको जानकार छ ?
यसबारे संघ जानकार छ । यसलाई बैठकको एजेण्डा बनाएर छलफल गरिसकेका छौं । एमआरपी नराखेका सामानमा राखेर मात्र बिक्री वितरण गर्न हामीले आफ्ना सदस्यलाई निर्देशन दिइसकेका छौं । नेपाल सरकारले नै एमआरपी राखेर बिक्री गर्न भनेकाले हामीले त्यसको परिपालना गर्नुपर्छ ।
यो व्यवसायमा लागेकालाई यहाँको सन्देश के छ ?
यो व्यवसायमा लागेकालाई अध्ययन गर्न, ब्रिडिङको स्ट्याण्डर्डबारे बुझ्न, कसैको दबाबमा नलाग्न, संघमा आबद्ध भएर उसका मापदण्ड फलो गर्न आग्रह गर्छु । पढेलेखेर गर्नु र देखासिकीमा गर्नुमा आकाश जमिनको फरक हुन्छ । कुकुर पाल्दा आधारभूत कुरा गर्न सक्नुहुन्न भने यो व्यवसायमा नलाग्नुस् भन्न चाहन्छु म ।
तपाईंले अध्ययनको कुरालाई अलिक जोड दिइरहनुभएको छ । कुकुरसम्बन्धी एकेडेमिक कोर्ष नै छ कि स्वअध्ययन गर्नुपर्ने हो ?
कुकुरसम्बन्धी छुट्टै एकेडेमिक कोर्ष छैन । जनावरको ब्रिडिङमै यो पर्छ । ब्रिडिङको लामो अनुभव हासिल गर्नुभएका, बाहिरका एक्सपोर्ट आएर भविष्यमा तालिम दिने योजना बनाएका छौं । केनल क्लब अफ नेपालले डग ह्याण्डलिङ ट्रेनिङ दिइरहेको छ । डग शो गर्ने बेला छुट्टै सेमिनार पनि गर्छौं ।
अन्तिममा केही भन्नु छ ?
कतिपयले निजी स्वार्थका लागि संघ स्थापना गरेको आरोप लगाउने गर्नुभएको छ । यो कुनै निजी स्वार्थका लागि नभएर सामूहिक स्वार्थका लागि स्थापना गरिएको कुरा म तपाईंमार्फत स्पष्ट पार्न चाहन्छु । पारदर्शितामाथि प्रश्न उठाउनेहरूलाई म संघको हिसाब–किताब पारदर्शी रहेको जानकारी गराउँदै अध्ययन गर्न चाहनेका लागि ढोका खुला रहेको अवगत गराउन चाहन्छु ।
अर्को कुरा, यो व्यवसायमा लागेकालाई अनावश्यक ढंगले तनाव दिने, चेतावनी दिने काम हुने गरेको छ । ज–जसले यस्तो गलत कार्य गर्छन्, त्यसको विरुद्ध उभिएर संघले व्यवसायीलाई साथ दिन्छ । संघमा आबद्ध हुन बाँकी सबैलाई तपाईंमार्फत संघमा जोडिन अनुरोध पनि गर्न चाहन्छु ।