संक्रामक ब्रोङ्काइटिस के हो ? कुखुरालाई यसबाट कसरी जोगाउने ?

संक्रामक ब्रोङ्काइटिस (IB) कुखुरामा लाग्ने एक प्रमुख रोग हो । यो रोग विश्वव्यापी रूपमा फैलिएको छ र नेपालमा पनि यसको उपस्थिति पुष्टि भइसकेको छ । विश्व बैंकको प्रतिवेदनअनुसार, वर्ड फ्लु (Bird Flu) पछि कुखुरा व्यवसायमा सबैभन्दा बढी क्षति यही रोगले पुर्याउँछ । तसर्थ, कुखुरापालन व्यवसायसँग सम्बन्धित सबै व्यक्तिले यस रोगबारे जानकारी राख्नु अत्यन्त महत्त्वपूर्ण छ ।
इतिहास तथा पत्ता लागेको विवरण
सन् १९३१ मा अमेरिकाको नर्थ डकोटामा शाल्क र हक् (Schalk & Hawk) ले तीन हप्ताभन्दा कम उमेरका चल्लाहरूमा नयाँ श्वासप्रश्वाससम्बन्धी रोग पत्ता लगाएका थिए । प्रारम्भिक अध्ययनमा यो रोग भाइरसका कारण हुने भनियो र यसलाई आई.एल.टी (ILT) नामाकरण गरियो । तर, धेरै वर्षपछि यो रोग आई.एल.टी नभई आई.बी (IB) नै हो भनी पत्ता लाग्यो । वास्तवमा, सन् १९३० को दशकको उत्तरार्धमै अमेरिकामा यो रोगका कारण कुखुराको अण्डा उत्पादनमा व्यापक कमी आइसकेको थियो । युरोपमा भने सन् १९४८ मा यो रोग पहिलो पटक पत्ता लागेको थियो ।
भाइरसको बनावट
आई.बी. भाइरस (IBV) क्राउन (श्रीपेच) आकारको देखिने भएकाले यसलाई कोरोना भाइरस भनिएको हो । ल्याटिन भाषामा ’कोरोना’ को अर्थ ’क्राउन’ वा ’श्रीपेच’ हुन्छ ।
यस भाइरसमा चार प्रकारका प्रोटिनहरू हुन्छन्ः S,N,M,E (जुन माथीको तस्विरमा देखाइईको छ ।) । S प्रोटिन भाइरसको रूप परिवर्तन (Mutation) का लागि जिम्मेवार मानिन्छ ।
भाइरसहरू डी.एन.ए. (DNA) र आर.एन.ए. (RNA) गरी दुई प्रकारका हुन्छन् । आई.बी. भाइरस आर.एन.ए. भाइरस अन्तर्गत पर्दछ । यो भाइरसको रूप परिवर्तन गर्ने दर (Mutation Rate) 10-³ रहेको छ, जुन वर्ड फ्लुको भाइरससँग मिल्दोजुल्दो छ । यसको अर्थ, एउटा भाइरस प्रजनन (Replicate) भएर नयाँ १००० वटा भाइरस बन्दा एउटा फरक खालको भाइरस बन्छ । यही फरक खालको भाइरसलाई आई.बी.को ’भेरियन्ट भाइरस’ (Variant Virus) भनिन्छ । यस भेरियन्ट भाइरसको मुख्य विशेषता भनेको यसले कुखुरामा असर गरेमा परम्परागत रूपमा प्रयोग गरिएको खोपले कुखुरालाई रोगबाट बचाउन सक्दैन ।
कुनै पनि फार्ममा आई.बी.भी. (IBV) को एउटा मात्र प्रकारको भाइरस हुनु असम्भवप्रायः मानिन्छ । सन् २०१६ मा S प्रोटिन (जुन S१ र S२ ले बनेको हुन्छ) को विविधताका आधारमा आई.बी.भी.लाई जिनोटाइप १ देखि ७ सम्म (GI to GVII) वर्गीकरण गरियो । यी जिनोटाइपहरु अन्तर्गत ५० भन्दा बढी सेरोटाइप (serotype) र सयौं भेरियन्ट भाइरसहरू पत्ता लागिसकेका छन् र नयाँ पत्ता लाग्ने क्रम जारी छ । नयाँ भेरियन्ट भाइरसहरू हराउने र फेरि नयाँ बन्ने क्रम पनि उत्तिकै छ । नयाँ भाइरसका विरुद्ध खोप बनाउने प्रक्रियामा जाँदै गर्दा उक्त भाइरस हराउन सक्छन र नयाँ भाइरसहरू देखा पर्न सक्छन् । त्यसैले, हरेक भाइरसको लागि खोप बनाउनु बुद्धिमानीपूर्ण मानिँदैन ।
भाइरसको भौगोलिक वितरण
- पाकिस्तानः यहाँ पाइने सबै भाइरसहरू न्क्ष् अन्तर्गत पर्दछन् । तीमध्ये आधाजति GI–२४ वंश (Lineage) अन्तर्गतका छन् । पाकिस्तानमा GI–१३ वंशज पनि पाइन्छ, जसमा ७९३B अन्तर्गतका भाइरसहरु पर्दछन् ।
- बंगलादेशः यस देशमा ७९३B, Mass, QX प्रजातिहरू पाइएका छन् ।
- भारतः यहाँ धेरैजसो Mass, त्यसपछि ७९३B, QX र इन्डियन भेरियन्ट (PUNE) पनि पाइएका छन् ।
- चीनः चीनमा प्रायः QX, Mass Type र अन्य स्थानीय भेरियन्टहरू पाइएका छन् । QX Type सर्वप्रथम चीनको Qing dao प्रान्तमा पत्ता लागेको हो ।
- मध्यपूर्वः यी क्षेत्रमा बढी मात्रामा ७९३B, QX, तथा GI–२३ अन्तर्गत पर्ने Egypt Variant-II फैलिएको छ ।
- अमेरिकाः यहाँ Connectict, Arkasas, Gergia ९८ प्रजातिहरू पाइएका छन् ।
- ब्राजिलः BR प्रजाति पाइएको छ ।
- नेपालः नेपालमा यो नै टाइप छ भनी पुष्टि नभए तापनि मेरो अनुभवका आधारमा ७९३B, QX, Mass Type सबै पाइएको छ । भाइरसको टाइप परीक्षण गर्ने प्रणाली महँगो र विश्वमा सीमित प्रयोगशालामा मात्र हुने भएकाले यहाँ कुन–कुन प्रजाति छन् भन्न सकिँदैन । तर, भारतबाट कुखुराजन्य पदार्थको आवतजावत बढी हुने हुँदा भारतमा पाइएका प्रजातिहरू यहाँ पाउनु स्वाभाविक नै हो । विभिन्न कम्पनीका जीवित खोपहरू फार्ममा विविध समयमा लगाइसकिएको हुँदा खोपका भाइरसहरू फार्ममा छन् नै । साथै, यी फरक–फरक खोपका भाइरसहरू मिलेर नयाँ भाइरस पनि बनिसकेका हुन सक्छन् ।
मानवमा सर्ने सम्भावना
विश्व स्वास्थ्य संगठन(WHO) को प्रतिवेदनअनुसार यो ’जुनोटिक’ (Zoonotic) रोग होइन । यसको अर्थ यो कुखुराबाट मानिसमा सर्दैन ।
रोग सर्ने माध्यम
यो रोग हावा, दाना, पानी, र लसपसको माध्यमबाट सर्दछ । यो रोग हावाको माध्यमबाट धेरै टाढासम्म फैलन सक्छ । सन् १९९० को दशकमा आई.बी.को ७९३B स्ट्रेन युरोपभरि, २००० को दशकमा QX स्ट्रेन एसिया र युरोपभरि, तथा हालसालै Egypt-2 स्ट्रेन मध्यपूर्वी देशहरूमा फैलिएकोबाटै यस रोगको फैलने तीव्रताको आकलन गर्न सकिन्छ ।
रोग लाग्ने उमेर र संक्रमण अवधि
यो रोग एकदिने चल्लादेखि कुखुरा नबेच्दासम्म जुनसुकै बेला लाग्न सक्छ । भाइरसको मात्रा र माध्यमको आधारमा रोग सर्ने समय फरक पर्न सक्ने भए तापनि प्रायजसो १–३ दिनमा सर्दछ ।
रोगका लक्षणहरू
यस रोगको नाम ’ब्रोङ्काइटिस’ भए तापनि यसले श्वासप्रश्वास प्रणालीका साथै अन्य प्रणालीमा पनि असर गर्दछ । तर, यो भाइरसले अहिलेसम्म स्नायु प्रणालीमा असर गरेको पाइएको छैन । यो भाइरस कुखुरामा निम्न लिखित रूपमा देखा पर्दछः
(क) श्वासप्रश्वाससम्बन्धी रूपमा (Respiratory form)
(ख) मृगौलामा असरको रूपमा (Nephro – pathogenic form )
(ग) प्रजनन सम्बन्धी रूपमा (Reproductive form)
(घ) आन्द्रामा असरका रूपमा (Enteric form)
श्वासप्रश्वाससम्बन्धी रूप (Respiratory form)ः
यो रोग गराउने सबै भाइरसले पहिले श्वासप्रश्वास प्रणालीका अंगहरूमा असर गर्दछ । यो माथिल्लो श्वासप्रश्वास प्रणालीमा प्रवेश गरी वृद्धि विकास गर्दछ र पछि अन्य अंगहरूमा फैलन्छ । यस अन्तर्गतका प्रमुख लक्षणहरूः
- दम भएको जस्तो गरी श्वास फेर्नु
- आँखामा पानी आउनु
- सिंगान बग्नु
- स्वाशनलीमा पहेलो पदार्थ जम्नुको कारणले ख्याक–ख्याक गर्ने
- टाउको हल्लाइरहनु
- टाउको सुन्निनु
- चल्लाहरू तापको स्रोतको नजिकै जम्मा भएर बस्नु
- ब्रोइलरको तौल नबढ्नु
- मासु काट्दा धेरै अंग बिग्रिएर खेर जानु (slaughatering condemn)
मेरो अनुभवअनुसार यो फर्म ब्रोइलर, लेयर्स र ब्रिडर सबै प्रजातिमा नेपालमा देखिएको छ ।
(ख) नेफ्रोप्याथोजेनिक फर्म (Nephropathogenic Form)ः
यस रूपमा भाइरसले मृगौलामा असर गर्दछ । मृगौलामा युरिक एसिड जम्मा हुन गई गाउट (न्यगत) देखा पर्दछ । यो खासगरी २–५ हप्ताका कुखुरामा देखा पर्दछ । यसले गर्दा मृत्युदर २०% हुनसक्छ । यो खालको लक्ष्यण प्राय ब्रोइलरमा देखिने गरिन्छ ।
(ग) रिप्रोडक्टिभ फर्म (Reproductive Form)ः
यो फर्म आर्थिक रूपमा सबैभन्दा बढी क्षति पुर्याउने खालको हुन्छ । यो एकदिने चल्लामा लाग्ने, हुर्किरहेको बेलामा लाग्ने, अण्डा पार्ने बेलामा लाग्ने, अण्डाको उत्पादन उच्चतम बिन्दुमा पुग्दा लाग्ने तथा त्यसपछि पनि जुनसुकै समयमा लाग्न सक्छ । एकदिने चल्लामा वा हुर्किरहेको बेलामा लागेमा अण्डा पार्ने बेलामा डिम्बनलीमा ट्युमर बन्न गई अण्डा उत्पादनमा व्यापक ह्रास आउँछ । पेङगुइन चराको हिडाई जसरी कुखुरा हिड्ने गर्दछ । अन्य बेला असर गरेमा पनि पार्नुपर्ने जति अण्डा नपार्ने, अण्डाको बोक्रा राम्रो नहुने, भित्रको सेतो भाग पानीजस्तो पातलो हुने हुन्छ । पाठेघरको फोलिकल लचिलो खालको हुन्छ । भालेमा अण्डकोष सुकाई नपुंसक बनाउँदछ भने पोथीमा मृत्यूदर निकै बढी हुन्छ । चल्ला उत्पादनदरमा व्यापक कमी आउछ ।




(घ) आन्द्रामा असरका रूपमा (Enteric Form)ः
यसमा भाइरसले पाचन प्रणालीका अंगमा असर गर्दछ, विशेषतः प्रोभेन्ट्रिकुलस (proventriculus) को संक्रमण गर्दछ । यो भाइरस सानो आन्द्रा, ठूलो आन्द्रामा रही कमजोर बनाउने हुँदा कक्सी (Cocci), आन्द्राको संक्रमण (enteritis) आदि लगातार सताइरहन्छ । भाइरसको वृद्धि विकास आन्द्राको म्यूकस मेम्ब्रेन (Mucous membrance) मा हुन्छ र कुखुराको सुलीको माध्यमबाट भाइरस वातावरणमा फैलिइरहन्छ । बाँचेका कुखुराहरू ठूलो भएपछि लक्षण नदेखाउन सक्छन् तर रोग भने फैलाइरहन मद्दत गर्दछन् । ब्रोइलरमा तौल बढ्दैन, राम्रो मासु लाग्दैन र स्लटरिङ (Slaughtering) गर्दा कन्डम्नेसन (Condemnation) बढेर क्षति हुन जान्छ । लेयर्स र ब्रिडरमा उत्पादन राम्रो आउँदैन । सेकेन्डरी इन्फेक्सन (क्भअयलमबचथ ष्लाभअतष्यल) आइरहने हुँदा उत्पादन लागत बढ्दछ । यो प्रकारको आई.बी. पनि नेपालमा प्रायः देखिन्छ ।
रोग पत्ता लगाउने विधि
प्रायजसो अवस्थामा यो रोग नै हो भनी निर्क्यौल गर्न केही समय लाग्छ, किनकि यो रोगसँग रानीखेत (ND), वर्ड फ्लु (Bird Flu), इकोलाई (E coli), माइकोप्लाज्मा (Mycoplasma) जस्ता रोगका लक्षणहरू पनि मिल्न आउँछन् । तर, यस लेखमा उल्लेख गरिएका लक्षणका आधारमा रोगको निदान गर्न त्यति गाह्रो भने छैन । यो रोग नै हो भन्ने ठोकुवा गर्नका लागि प्रयोगशालाको सहायता लिनुपर्ने हुन्छ । विडम्बना नै भन्नुपर्छ, प्रायजसो देशमा यो रोग पत्ता लगाउनका लागि राम्रो प्रयोगशालाको सुविधा छैन, र नेपाल पनि यसबाट अछूतो छैन ।
पी.सी.आर. (PCR) मा पोजिटिभ (Positive) देखिए तापनि कुन स्ट्रेनले गर्दा हो भनी पत्ता लगाउन निकै उत्कृष्ट प्रयोगशाला चाहिन्छ, जुन युरोपका केही देशमा मात्र छन् । नेपालमा पनि र्यापिड टेस्ट किट (Rapid Test Kit) र पी.सी.आर. बाट यो रोग लागेको छ भन्ने पत्ता लागे तापनि, पी.सी.आर.मा पोजिटिभ देखिएको भाइरस खोपको भाइरस हो वा फिल्ड भाइरस हो भन्ने पत्ता लगाउने प्रयोगशाला हामीसँग छैन । रगतमा एन्टिबडी हेरेर भाइरस विरुद्ध कुखुराको अवस्था कस्तो छ भन्ने भने नेपालमै पत्ता लगाउन सकिन्छ ।
विशेषतः निम्न लिखित विधिबाट यो रोगको पहिचान/निदान गर्न सकिन्छः
१) हिस्टोप्याथोलोजी (Histopathology)
२) भाइरस आइसोलेसन र आइडेन्टिफिकेसन (Virus Isolation and Identification)
३) एच.आई. (HI) (श्रम–प्रधान र उच्च लागत)
४) एलिसा (Elisa) (राम्रो प्रविधि भएतापनी सेरोटाइब यो विधीबाट पत्ता लगाउन सकिदैन
५) कन्भेन्सनल पी.सी.आर./रियल टाइम पी.सी.आर. (Conventional PCR / Real time PCR)
६) मोनोक्लोनल एन्टिबडी (Monoclonal antibody)
यस रोगको रोकथाम
यस रोगको रोकथामका लागि निम्न लिखित बुँदाहरू अपनाउनु महत्त्वपूर्ण मानिन्छः
१) असल व्यवस्थापन
२) जैविक सुरक्षा
३) खोप
१) असल व्यवस्थापनः
राम्रो व्यवस्थापन बिना कुनै पनि रोगको रोकथाम गर्न सकिँदैन । खासगरी ’अल इन, अल आउट’ (All in, All out) विधि यस रोगको रोकथामका लागि निकै महत्त्वपूर्ण मानिन्छ । यो विधिमा कुखुरा राख्दा र निकाल्दा एकैपटकमा प्रकृया पुरा पुरा गर्नुपर्ने हुन्छ । खोरभित्र र खोरबाहिरका सम्पूर्ण भाँडाकुँडाको सरसफाईका साथै सरसफाई गरिसकेपछि ब्रोइलरमा कम्तीमा २ हप्ता, प्यारेन्टमा १ महिना र जी.पी. (GP) मा २ महिनाको खाली समय राख्नै पर्दछ । यस विषयमा नेपालमा निकै कमजोरी देखिन्छ । नबिकेका चल्लाहरु खोर तयारी नभएको अवस्थामा पनी हाल्ने चलन छ । अझ राम्रो मूल्य आउने लक्षण देखिएमा हतार–हतार पूर्ण तयारी बिना नयाँ लट हाल्ने गरिन्छ । यस मामिलामा खासगरी व्यवसायी सचेत हुनु निकै आवश्यक छ । लेयर्स र प्यारेन्टको केसमा चल्ला हुर्काउने खोर (Pullet) पनी अल इन,अल आउटनै हुनुपर्छ ।
यसका साथै सन्तुलित, ढुसी तथा माइकोटक्सिन (Mycotoxin) रहित दाना, पूर्ण रूपमा निर्मलीकरण गरिएको पानी, उचित भेन्टिलेसन र तापको व्यवस्थापनका साथै पुरानो सुली र मरेका कुखुराको नियमसम्मत व्यवस्थापन गर्नु पनि त्यत्तिकै महत्त्वपूर्ण छ । रोगसँग लड्ने क्षमता घटाउने आई.बी.डी. (IBD), सी.ए.भी. (CAV), एम.डी. (MD), रियो (Reo) आदि विरुद्ध पनि खोप लगाएमा यो रोगबाट बच्न सजिलो हुन्छ ।
२) जैविक सुरक्षाः
गाडी र मानिसको अनावश्यक आवतजावत रोक्ने, खोरभित्र जाँदा मानक कार्यविधि (Standard SOP) को पालना गर्ने, एक फार्मबाट अर्को फार्ममा जाँदा कम्तीमा ३ दिनको क्वारेन्टाइन (quarantine) पालना गर्ने, नुहाएर र सेनिटाइज (sanitize) भएर मात्र फार्म छिर्ने जस्ता जैविक सुरक्षाका उपायहरू पालना गरेमा धेरै हदसम्म यो रोगबाट बच्न सकिन्छ । मुसा र चरा नियन्त्रण पनि अपरिहार्य छ ।
३) खोपबाटः
यस रोगका लागि निम्न लिखित खोपहरू बजारमा उपलब्ध छनः
- क्लासिकल टाइप (Classical Type) अन्तर्गतः :Mass Type H१२०, ma५,m ४१, H५२, २८/८६
- भेरियन्ट (Varian) अन्तर्गतः ७९३B
- अन्यः IB, D–२७४, D–२१२ (Holland Variant), Connecticut, QX, Ark–९९, K२, VICA ३
नेपालमा Holland Variant, QX, Ark–९९, K२, VICA ३ उपलब्ध छैनन् ।
नोटः M४१ प्राय गरेर IB को मृतखोप (Killed Vaccine) पाइन्छ ।
नेपालमा विभिन्न सेरोटाइपका भाइरसहरू फिल्डमा फैलिसकेकाले एउटा मात्र परम्परागत खोपबाट कुखुरालाई यो रोग विरुद्ध सुरक्षित राख्न गाह्रो छ । त्यसैले, खोप तालिका (Vaccine Schedule) बनाउँदा आई.बी.का सबै स्ट्रेन विरुद्ध सुरक्षा दिन सक्ने बनाउनुपर्दछ । यसको अर्थ बजारमा उपलब्ध सबै आई.बी.का खोप प्रयोग गर्नुपर्छ भन्ने होइन । कम्तीमा एकदिने चल्लामा CHB (H१२०+२८/८६) अथवा एउटा भेरियन्ट संग CHB (H१२०+२८/८६) अथवा एउटा भेरियन्ट संग H१२० खोप लगाउनु पर्दछ । यो काम सकेसम्म ह्याचरी (Hatchery) मा गर्दा राम्रो हुन्छ । त्यसपछि १० दिनको दिनमा मास टाइपको खोप लगाउनु पर्दछ र हरेक १–२ महिनाको फरकमा बुस्टिङ (दययकतष्लन) गर्दै जानु पर्दछ ।
ब्रिडर र लेयर्सको हकमा अण्डा पार्नुअघि कम्तीमा ३ पटक एउटा भेरियन्ट संगै CHB (H१२०+२८/८६) वा ३ पटक CHB (H१२०+२८/८६) वा एउटा भेरियन्ट संग H१२० खोप लगाउनु पर्दछ । त्यसभन्दा बढी पर्ने खोपहरू मास टाइप मात्र गर्दा हुन्छ वा कम्बाइन्ड मास टाइप (H१२०+२८/८६) गर्न सकिन्छ । आवश्यकताअनुसार बुस्टिङ गर्दै जानु पर्दछ । लेयर्स र प्यारेन्टको हकमा अण्डा पार्नुभन्दा ६ हप्ता अगाडी एउटा IB को किल्ड भ्याक्सिन लगाउनु पर्दछ । भाइरसको प्रकोप बढी भएको खोरमा ४–१० हप्ताको उमेरमा एउटा IB को किल्ड भ्याक्सि पनि लगाउनु बुद्धिमानी मानिन्छ ।
एक चाइनिज अध्ययनले CHB (H१२०+२८/८६) + ७९३ B ग्रुपको भेरिएन्ट भ्याक्सिन प्रयोग गर्दा IB QX र लोकल चाइनिज भेरियन्ट विरुद्ध ९५% भन्दा बढी प्रोटेक्सन पाइएको छ ।
याद राख्नुहोस्, ’व्यापक सुरक्षा’ (Broad Protection) का लागि जुनसुकै भेरियन्ट खोप प्रयोग गरे पनि मास टाइप खोप प्रयोग गर्नैपर्छ । एउटा बिर्सनै नहुने कुरा के छ भने आई.बी.को केसमा सकेसम्म पहिले प्रयोगे नगरिएको भेरियन्ट स्ट्रेन फार्ममा इन्ट्रोड्युस नगर्दा राम्रो हुन्छ । विभिन्न अनुसन्धानले नयाँ भाइरस इन्ट्रोड्युस गर्दा पुरानो भाइरससँग मिलेर फरक नयाँ भाइरस बनेको पाइएको छ, जसको रोकथाम पछिका दिनमा थप चुनौतीपूर्ण हुन सक्दछ । यसलाई ’पुर्वनियोजित’ (Premediated) भाइसरको Introduce भनिन्छ । नेपालमा भेरियन्ट भ्याक्सिनको इन्टरड्युस गर्दा पहिले गरिसको भ्याक्सिन वा हामीले माथि नेपालमा पाइने भाइरसको प्रकार अनुसारको भ्याक्सिन प्रयोग गर्नुपर्ने हुन्छ ।
चीनको युनान प्रान्तमा आई.बी. H१२० (IB H१२०) मात्र १, ७, २१ दिनका ब्रोइलर चल्लामा ३ पटक लगाउँदा पनि ३०% मृत्युदर पाइएको थियो । त्यस्तै, भारतमा आई.बी. एच१२० (IB H१२०) को व्यापक प्रयोग गर्दा पनि क्षति नियन्त्रण बाहिर छ र क्षति जारी छ । नेपालमा पनि त्यही अवस्था छ ।
त्यसैले, अबका दिनमा माथि भनिएअनुसार खोपको चयन/तालिका (Vaccine Selection/Schedule) गर्दा धेरै हदसम्म आई.बी.को रोकथाम गर्न सकिन्छ ।
अन्त्यमा यस लेखको मुख्य उद्देश्य पोल्ट्री उद्योगमा हुने क्षतिलाई न्यूनीकरण गर्दै किसानको नाफा बढाउनु हो । यो लेखले नेपाली पोल्ट्री क्षेत्रको विकासमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुनेछ ।
पोल्ट्री कन्सल्ट्यान्ट डा. दीपक सुवेदीसँग यस क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव छ । हाल उहाँ पोषक ब्रिडर्समा कार्यरत हुनुहुन्छ ।