एकलौटी ढंगले परिषद् ऐन संशोधन गर्न लागियो, यसले द्वन्द्व बढाउँछ : नेभ्ला

काठमाडौं । नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) ले नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ को संशोधन सरोकारवालासँगको छलफलबिनै एकलौटी ढंगले अगाडि बढाइएको भन्दै आपत्ति जनाएको छ ।

नेभ्लाका अध्यक्ष रामप्रसाद मेहताले मंगलबार एक विज्ञप्ति जारी गर्दै ऐन संशोधनका लागि भइरहेका प्रयासप्रति आफ्नो संगठनको ध्यानाकर्षण भएको जनाएका हुन् ।

विज्ञप्तिमा ऐन संशोधनका लागि तयार गरिएको विधेयकमा राखिएका कतिपय प्रावधान पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ सँग बाझिने खालको भएको र त्यसले ऐन कार्यान्वयनमा दुविधा हुन गई द्वन्द्व बढ्न सक्ने चिन्ता जाहेर गरिएको छ ।

‘…विधेयकमा समावेश गरिएका कतिपय प्रावधानहरू पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ सँग बाझिने र ऐन कार्यान्वयन गर्न दुविधा हुनेजस्ता विषय समावेश गरेकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

सरोकारवालासँग छलफल गरेर विधेयक अघि बढाउनुपर्नेमा पशु चिकित्सकको प्रभावमा परी षड्यन्त्रपूर्ण ढंगले विधेयक अघि बढाइएको आरोप नेभ्लाको छ । पारदर्शी ढंगले संशोधन प्रक्रिया अघि नबढेकाले त्यसबाट विवादित विषय हटाउनुपर्ने उसको माग छ । ‘सरोकारवालाहरूले संशोधित विधेयकमाथि उठाइरहेका आवाजलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिना कुनै छलफल एकलौटी रूपमा पशु चिकित्सकको प्रभावमा परी पूर्वाग्रही एवं षडुयन्त्रपूर्णतबरले संशोधन विधेयक अगाडि बढाएकोप्रति गम्भीर आपत्ति जनाउँदै संशोधित विधेयकबाट विवादित एवं अस्पष्ट विषय हटाउन आग्रह गर्दछौं,’ विज्ञप्तिमा अगाडि भनिएको छ ।

नेभ्लाले विधेयक जस्ताको तस्तै पास भएमा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को क्षेत्राधिकारमाथि प्रहार हुने जनाउँदै विवाद उत्पन्न हुने खालका विषय निराकरण गरेर मात्र ऐन संशोधन गर्न पनि सरकारसँग माग गरेको छ । जबरजस्ती विधेयक अघि बढाए विरोधका कार्यक्रम सञ्चालन गर्न संगठन बाध्य हुने चेतावनी पनि उसले दिएको छ ।

पशु चिकित्सा परिषद् ऐन, २०५५ लाई समयसापेक्ष बनाउनुपर्ने पशु चिकित्सकको मागपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यही असार २९ गते संशोधन विधेयक संघीय संसद् सचिवालयमा दर्ता गराएको थियो । विधेयक सचिवालयमा दर्ता लगत्तै पशुपन्छी क्षेत्रका प्राविधिकहरूले विरोध गरेपछि यो कसरी अघि बढ्छ भन्नेमा अन्योल उत्पन्न भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *