फिड सप्लिमेन्ट र दाना पदार्थ दर्ताको नयाँ प्रक्रियामा एन्टिबायोटिकरहित भएको स्वःघोषणा अनिवार्य

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत पशु सेवा विभाग मातहतको राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाले पशु आहार, दाना पदार्थ र फिड सप्लिमेन्ट दर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन नयाँ सूचना जारी गरेको छ।

असार ९ गतेको प्रयोगशालाको निर्णयअनुसार, आर्थिक वर्ष २०८२/८३ मा आयात–निर्यात हुने पशु आहारसँग सम्बन्धित सामग्रीहरूको नियमन गर्न “पशुजन्य उद्योग स्थापना, निकासी–पैठारी सिफारिस तथा विक्री वितरण अनुमति सम्बन्धी निर्देशिका, २०८०” को दफा ८ बमोजिम नयाँ मापदण्ड लागू गरिएको हो। प्रयोगशालाका प्रमुख डा. हेम राज अवस्थीका अनुसार, यो व्यवस्था पशु आहार व्यवस्थापनलाई थप व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले गरिएको हो।

प्रयोगशालाले आइतवार सार्वजनिक सूचना जारी गर्दै पशु आहार, दाना पदार्थ तथा फिड सप्लिमेन्ट दर्ताका लागि आवश्यक कागजातसहित निवेदन पेश गर्न सम्बन्धित सरोकारवालालाई आग्रह गरेको छ। दर्ता निवेदन पेश गर्नको लागि ३० दिने समयसीमा तोकिएको छ।

दर्ताका लागि पेश गर्नुपर्ने कागजातहरूमा फर्म वा कम्पनी दर्ताको प्रमाणपत्र, प्यान वा भ्याट प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, विक्री वितरण अधिकारसहितको आधिकारिकता पत्र, प्रत्येक उत्पादनको कम्तीमा २५ प्रतिशत चारित्रिक बनावटको विश्लेषण प्रतिवेदन, नाम, बनावट, इन्डिकेशन र मात्रा उल्लेख भएको प्रमाणीकरणसहितको आलेख, उत्पादक देशको अधिकृत प्रयोगशालाबाट प्राप्त विश्लेषण नतिजा, मुख्य सञ्चालकको नागरिकताको प्रतिलिपि, वार्षिक उत्पादन हुने सामग्रीको सूची तथा एन्टिबायोटिकरहित, र्युमिनेण्ट प्रोटिनरहित तथा जीन परिमार्जित पदार्थ (GMO) रहित भएको स्वःघोषणा–पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *