ह्याचरी उद्योग संघको आग्रह: एक हप्ता चल्ला उत्पादन र बिक्री बन्द गर्न अनुरोध

काठमाडौं।नेपाल ह्याचरी उद्योग संघले हाल पोल्ट्री व्यवसायमा उत्पन्न भएको विषम परिस्थितिको समाधान गर्न एक हप्तासम्म ब्रोइलर तथा कलर ब्रोइलर (कोइलर) चल्लाको उत्पादन तथा बिक्री वितरण पूर्ण रूपमा बन्द गर्न आग्रह गरेको छ।

संघले आगामी असार २३ गते सोमबारदेखि असार २९ गते आइतबारसम्म सम्पूर्ण ह्याचरी व्यवसायीहरूलाई चल्ला उत्पादन तथा बिक्री वितरण नगर्न अपिल गरेको हो।

यो निर्णय संघद्वारा असार २० गते बसेको विशेष भेलामा ह्याचरी व्यवसायीहरूको सर्वसम्मत प्रस्तावअनुसार गरिएको हो। संघका महासचिव ज्ञान बहादुर विसुरालद्वारा जारी सूचनामा भनिएको छ, “पोल्ट्री व्यवसायमा विगत केही महिनादेखि जारी संकटको अवस्था सुधार गर्न यो कदम चालेको हो।”

संघले यस निर्णयबाट बजारमा भइरहेको चल्लाको अत्यधिक उत्पादन र अनियन्त्रित आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने तथा समग्र व्यवसायमा स्थिरता र दीर्घकालीन सन्तुलन ल्याउन मद्दत गर्ने विश्वास लिएको छ।

संघले सम्पूर्ण सदस्य उद्योगहरूलाई संयमता अपनाई निर्णयको पूर्ण पालना गर्दै सहयोग गर्न अनुरोधसमेत गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *