कुकुरले पत्ता लगायो हत्यारा: सामूहिक बलात्कारपछि किशोरीको हत्या गर्ने पाँच जना पक्राउ

काठमाडौँ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ कोलगाउँमा १६ वर्षीया निशा तामाङको हत्या आफ्नै आफन्तबाट भएको खुलासा प्रहरीले गरेको छ। सामूहिक बलात्कारपछि हत्या गरेर जंगलमा फालेको उक्त घटनामा संलग्न ५ जनालाई प्रहरीले कुकुरको सहयोगमा पत्ता लगाउँदै पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोही गाउँपालिका–५ का निमा तेन्जिङ तामाङ (२१), वाङनिमा तामाङ (२२), नामग्याल शेर्पा (३२), दावा तामाङ (२०) र लाक्पा पासाङ तामाङ (२२) रहेका छन्।
असार १० गते राति ९ बजेपछि घरबाट बोलाई नजिकैको मकैबारीमा लगेपछि बलात्कार गरी हत्या गरिएको र त्यसपछि शव छ्यादिखोलाको जङ्गलमा फ्यालिएको प्रहरीले जनाएको छ।
परिवारले शव भिरमा अड्किएको देखेपछि खबर गरेपछि अनुसन्धान प्रारम्भ भयो। काठमाडौँबाट तालिमप्राप्त दुई कुकुर – जर्मन सेफर्ड ‘टाइगर’ र ‘रोज’ – ल्याएर घटनास्थलमा परिचालन गरिएको थियो। टाइगर नामक कुकुरले निमा तेन्जिङको घर वरिपरि बारम्बार घुमेपछि अनुसन्धान तीव्र बन्यो।
निमाले अघिल्लो रात लगाएको कपडा घरको एक कुनामा लुकाएर राखेको थिए। कुकुरले त्यसतर्फ संकेत गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो। प्रारम्भमा काल्पनिक कथा बुनेका निमाले अन्ततः सबै तथ्य स्वीकार गरे र बाँकी चार जनाको नाम समेत खुले।
आरोपीमध्येका नामग्याल शेर्पाले आफ्नो मोबाइल चार्ज गर्न भन्दै निशालाई दिएको र पछि दावाले बोलाएर जंगल लगेको अनुसन्धानमा खुलाइएको छ। दावाले नै सुरुमा बलात्कार गरेको र पछि हत्या गरेको खुलेको छ।
पोष्टमार्टमका लागि मृतकको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाइएको छ। मृतक कक्षा ७ मा अध्ययनरत थिइन्। पाँचै जनालाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको छ।
यस घटनाले गाउँ समाजभित्र लुकेको हिंसाको भयावह रूप उजागर गर्दै, प्रहरीको कुकुरबाट सहयोग लिँदै कसरी अपराधी पत्ता लगाइन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।