नेपाल भेटेरिनरी एशोसिएसनको ५८औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

काठमाडौं ।नेपालका पशु चिकित्सकहरूको छाता संगठन नेपाल भेटेरिनरी एशोसिएसनले यही असार ११ गते आफ्नो ५८औं स्थापना दिवस देशभरि विभिन्न कार्यक्रमसहित धुमधामका साथ मनाएको छ।
यस अवसरमा काठमाडौंमा एशोसिएसनले बृहत रक्तदान कार्यक्रम आयोजना गर्यो। यसका साथै, “नेपालमा भेटेरिनरी सेवा: वर्तमान अवस्था र सम्भावनाहरू” विषयमा अन्तरक्रिया तथा शुभकामना आदान–प्रदान कार्यक्रम पनि सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि पूर्व अध्यक्ष डा. नरेन्द्र बहादुर सिंह हुनुहुन्थ्यो भने, एशोसिएसनका अध्यक्ष डा. केदार सुबेदीको अध्यक्षतामा कार्यक्रम अगाडि बढेको थियो। कार्यक्रमको सञ्चालन महासचिव डा. शंकर न्यौपानेले गर्नुभएको थियो।
यस अन्तरक्रियामा पूर्व अध्यक्षहरू डा. भोला मेहर श्रेष्ठ, डा. प्रलाद सापकोटा, डा. बज्र किशोर प्रसाद शाह, डा. बिमल कुमार निर्मल, डा. सितलकाजी श्रेष्ठ, डा. रामकृष्ण खतिवडा लगायतका वरिष्ठ र विभिन्न क्षेत्रमा कार्यरत करिब २०० जना भेटेरिनरी चिकित्सकहरूको उपस्थिति रहेको थियो।
कार्यपत्र प्रस्तुति र प्यानल छलफल
कार्यक्रममा पूर्व अध्यक्ष तथा पशु सेवा विभागका पूर्व महानिर्देशक डा. बिमल कुमार निर्मलले “नेपालमा भेटेरिनरी सेवा: वर्तमान अवस्था, सम्भावनाहरू र एशोसिएसनको भूमिका” विषयमा गहन कार्यपत्र प्रस्तुत गर्नुभयो। यस्तै, कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. आइ. पी. ढकालले “नेपालमा भेटेरिनरी शिक्षा: वर्तमान अवस्था र अबको बाटो” शीर्षकमा आफ्नो धारणा राख्नुभयो।
डा. भोला मेहर श्रेष्ठ, डा. बज्र किशोर प्रसाद शाह, र डा. रामकृष्ण खतिवडा सम्मिलित प्यानल छलफलको सञ्चालन प्रधान सम्पादक डा. हिमाल लुइँटेलले गर्नुभएको थियो। छलफलका क्रममा वक्ताहरूले संघीयतापछि देखिएको समन्वय अभाव, प्रतिजैविक प्रतिरोध (antimicrobial resistance), जोनोसिस, ‘वन हेल्थ’ अवधारणाको महत्त्व, र भेटेरिनरी विश्वविद्यालयको आवश्यकता जस्ता समसामयिक चुनौतीहरूमा एशोसिएसनले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका थिए।
देशभरि रचनात्मक कार्यक्रम र सेवा
काठमाडौंसहित सातवटै प्रादेशिक समितिहरूले पनि स्थापना दिवसको अवसरमा विविध रचनात्मक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरे। यी कार्यक्रमहरूमा निःशुल्क पशु स्वास्थ्य उपचार शिविर, खोप कार्यक्रम, तालिम तथा टक प्रोग्राम, सचेतनामूलक गोष्ठी, रक्तदान लगायतका कार्यक्रमहरू सञ्चालन गरिएका थिए।
काठमाडौंमा ४० जना पशु चिकित्सकसहित अन्यले रक्तदान गरे भने, देशभरि सञ्चालन गरिएका निःशुल्क स्वास्थ्य उपचार तथा खोप कार्यक्रमबाट पशुपन्छीहरूलाई सेवा प्रदान गरिएको एशोसिएनले जनाएको छ।
भविष्यका लागि प्रतिबद्धता र आभार
कार्यक्रम समापनमा अध्यक्ष डा. सुबेदीले देशभर भएका छलफल तथा अन्तरक्रियाबाट प्राप्त सुझाव र सन्देशहरूलाई विश्लेषण गरी नेपाल सरकार तथा सम्बन्धित निकायहरूसमक्ष प्रस्तुत गर्दै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
महासचिव डा. न्यौपानेले आफ्नो मन्तव्यमा पूर्व अध्यक्षहरू डा. नरेन्द्र बहादुर सिंह, डा. भोला मेहर श्रेष्ठ, डा. प्रलाद सापकोटा लगायतका व्यक्तित्वहरूको प्रेरणादायी योगदान, अग्रजहरूको समर्पण, नयाँ पुस्ताको उत्साह र जोश, साथै केन्द्रीय एवं प्रादेशिक कार्यसमितिहरूको सक्रियताले संस्थालाई थप सशक्त र गतिशील बनाएको कुरा उल्लेख गर्नुभयो।
एशोसिएसनले देशभरि सम्पन्न कार्यक्रमहरूको सफल आयोजनामा सहयोग पुर्याउने सम्पूर्ण भेटेरिनरी चिकित्सकहरू, शैक्षिक तथा व्यावसायिक संस्थाका प्रतिनिधिहरू, सरोकारवाला निकाय, सञ्चारकर्मी तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गरेको विज्ञप्तिमा जनाइएको छ।
कार्यक्रमको पूर्ण विवरण भेट टाइम्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिएको छ।
https://www.facebook.com/share/v/15974akm8n/?mibextid=wwXIfr