भैरबी गाउँपालिकामा कुकुर बन्ध्याकरण र रेबिज खोप कार्यक्रम सम्पन्न

काठमाडौं ।दैलेखको भैरबी गाउँपालिकामा कुकुरको टोकाइबाट सर्ने रेबिज रोग नियन्त्रण तथा अनियन्त्रित कुकुर जनसंख्या व्यवस्थापन गर्न दुई दिने कुकुर बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
गाउँपालिकाको आयोजनामा नेपालगञ्जस्थित होराइजन भेट क्लिनिक एण्ड पेट शपको प्राविधिक सहयोगमा असार १० र ११ गते सञ्चालन गरिएको उक्त शिविरमा ७६ वटा कुकुरलाई बन्ध्याकरण सेवा प्रदान गरिएको थियो। तीमध्ये ४७ भाले र २९ पोथी कुकुर थिए। बन्ध्याकरणसँगै सबै कुकुरलाई रेबिजविरुद्धको खोप पनि लगाइएको गाउँपालिका पशुपन्छी विकास शाखाका प्रमुख डा. रंजन सिंह कुशवाहाले जानकारी दिए।
शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष रीता शाही, उपाध्यक्ष देवी भण्डारी तथा अन्य जनप्रतिनिधिको उपस्थितिमा भएको थियो। कार्यक्रममा पशु सेवा शाखाका पशु चिकित्सक तथा प्राविधिकहरूको सक्रिय सहभागिता रहेको थियो।
डा. कुशवाहाका अनुसार शिविरको उद्देश्य गाउँपालिकाभित्र रहेका छाडा र घरपालुवा कुकुरहरूको असन्तुलित वृद्धि रोक्दै रेबिज संक्रमणको जोखिम न्यूनीकरण गर्नु हो। “बन्ध्याकरणबाट कुकुरको प्रजनन दर नियन्त्रणमा आउँछ,” उनले भने, “यसले प्रजनन अंगसँग सम्बन्धित क्यान्सरजस्ता रोगको सम्भावना घटाउनुका साथै, खोप अभियानमार्फत मानिसमा सर्न सक्ने रेबिजजस्ता रोगको नियन्त्रणमा समेत टेवा पुग्छ।”
गाउँपालिकाले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। साथै, समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्दै जिम्मेवार कुकुरपालन र रोग नियन्त्रणमा अझ प्रभावकारी पहल गरिने विश्वास व्यक्त गरिएको छ।