वीरगञ्जमा ‘कुखुराको मासुबाट प्राप्त प्रोटिनको महत्त्व’ विषयक गोष्ठी सम्पन्न

वीरगञ्ज । नेपाल भेटनरी एशोसिएसन (NVA) मधेश प्रदेशले वीरगञ्जमा ‘कुखुराको मासुबाट प्राप्त प्रोटिनको महत्त्व, व्यवस्थापन, व्यापार र उत्तम अभ्यासहरू’ विषयक एक दिवसीय विशेष गोष्ठी सफलतापूर्वक सम्पन्न गरेको छ । पशु क्वारेन्टाइन कार्यालय, वीरगञ्जमा बिहान ८ बजेदेखि सुरु भएको यो कार्यक्रममा पशु चिकित्सक, कुखुरा व्यवसायी, वैज्ञानिक, नीति निर्माता तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको स्वागत तथा परिचय NVA मधेश प्रदेशका सचिव डा. सुभाष सिंहले गर्नुभएको थियो । गोष्ठीमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक डा. सुवीर सिंहले कुखुरापालन क्षेत्रमा विद्यमान प्रमुख पहल, चुनौती एवम् तिनका सम्भावित समाधानबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला, चितवनका डा. अजित झाले व्यवसाय, व्यापार र रोग नियन्त्रणसम्बन्धी सरकारी भूमिकाबारे आफ्नो प्रस्तुति दिनुभएको थियो ।
नेपाल कुखुरा व्यवसायी मञ्चका वरिष्ठ उपाध्यक्ष प्राध्यापक डा. रेवन्तकुमार भट्टराईले कुखुरा व्यवसायलाई व्यवस्थित, सहकार्यमा आधारित र उपभोक्तामैत्री बनाउन संस्थागत प्रयासको आवश्यकतामा जोड दिनुभयो । उहाँले “सबै सरोकारवाला संस्थाहरू एकताबद्ध भएर अघि बढ्नुपर्छ । प्रतिस्पर्धाभन्दा सहकार्यको संस्कृति आवश्यक छ । गुणस्तरीय उत्पादन प्रस्तुत गरेर मात्र उपभोक्ताको विश्वास जित्न सकिन्छ । एन्टिबायोटिकको अनियन्त्रित प्रयोग निषेध गरिएको सन्दर्भमा हामी विशेष सचेत हुनुपर्छ,” भन्नुभयो ।
गोष्ठीमा सीमावर्ती क्षेत्रमा कुखुरापालन र मासु व्यवसायसँग सम्बन्धित चुनौती, अवसर र समाधानका उपायहरूबारे पनि गहन छलफल गरियो । अनियन्त्रित आयात–निर्यात, खुला सीमा, रोगको जोखिम र बजारमा अनिश्चितताजस्ता समस्याहरूको सुसंगठित समाधानका लागि नीति निर्माण र समन्वयको आवश्यकता औँल्याइयो ।
आगामी रणनीति र कार्ययोजनाबारे NVA मधेश प्रदेशका अध्यक्ष डा. दिनेश कुमार तिवारीले प्रस्तुति दिनुभयो । कार्यक्रमको समापन गर्दै NVA मधेश प्रदेशका सह-सचिव डा. सुदीप कुमार शर्माले कुखुराको मासुबाट प्राप्त हुने उच्चस्तरीय प्रोटिन स्वास्थ्यका लागि अत्यन्त लाभदायक भएको र यस व्यवसायलाई वैज्ञानिक, व्यावसायिक एवं नीतिगत दृष्टिले थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
गोष्ठीको निष्कर्षमा सबै पक्षबीच सहकार्य विस्तार, समस्या समाधान र उपभोक्तामैत्री व्यवसाय निर्माणतर्फ दीर्घकालीन पहल आवश्यक रहेको सर्वसम्मत धारणा बनेको थियो ।