चितवनमा पोल्ट्री क्षेत्रका चुनौती र समाधानबारे अन्तरक्रिया सम्पन्न

चितवन | नेपाल कुखुरा व्यवसायी मञ्च र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, चितवनको संयुक्त आयोजनामा “चितवन र त्यससँग जोडिएका नवलपरासी (ब.सु.पू.), मकवानपुर क्षेत्रका कुखुरामा देखिने रोगहरूको वर्तमान अवस्था : समस्या, चुनौती तथा समाधानका उपायहरू” विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम भरतपुरमा सम्पन्न भएको छ।
कार्यक्रम नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष श्री रघुनाथ भट्टको सभापतित्वमा तथा पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र, काठमाण्डौकी श्रीमती सरिता गौतम, केन्द्रीय प्रयोगशाला काठमाण्डौका वरिष्ठ पशुचिकित्सक डा. अर्जुन अर्याल, पशु सेवा विभागका वरिष्ठ पशुचिकित्सक डा. चन्द्र ढकाल विशेष अतिथि रहनुभएको थियो।
कार्यक्रममा पशु सेवा कार्यालय चितवनका प्रमुख श्री सुशिल के.सी.ले मन्तव्य दिँदै क्षेत्रीय समस्या र समाधानका विषयमा प्रकाश पार्नुभयो भने राष्ट्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक डा. विजयकुमार श्रेष्ठले प्रयोगशालाबाट सञ्चालित गतिविधिहरू, पोल्ट्री क्षेत्रमा देखिएका रोगहरू, रोकथामको अवस्था तथा प्रयोगशालाको थप व्यवस्थित व्यवस्थापनबारे कार्यपत्र प्रस्तुत गर्नुभयो।
त्यसैगरी कृषि तथा वन विज्ञान विश्वविद्यालयका सह-प्राध्यापक डा. अनन्त दाहालले पोल्ट्री व्यवसायमा हालसम्म देखिएका रोगहरू, रोकथामका प्रयासहरू र आगामी दिनमा अपनाउनु पर्ने रणनीतिबारे कार्यपत्र प्रस्तुत गर्नुभयो।
नेपाल कुखुरा व्यवसायी मञ्चका सचिव डा. विष्णुहरी शर्माले पोल्ट्री क्षेत्रको समग्र विकासका लागि नेपाल सरकारले लिनुपर्ने भूमिका, समस्या र समाधानबारे कार्यपत्र प्रस्तुत गर्दै उक्त कार्यपत्र महानिर्देशक डा. रामनन्दन तिवारीलाई हस्तान्तरण गर्नुभयो।
कार्यपत्र प्रस्तुतिपछि वरिष्ठ पशुचिकित्सक डा. अर्जुन अर्याल, नेपाल भेटेरीनरी एशोसिएसन बाग्मती प्रदेशका अध्यक्ष डा. निमेष खनाल, पशु सेवा कार्यालय चितवनका प्रमुख श्री सुशिल के.सी., कृषि तथा वन विज्ञान विश्वविद्यालयका सह-प्राध्यापक डा. जीवन अधिकारी लगायतले पोल्ट्री क्षेत्रको दीर्घकालीन विकासका लागि अपनाउनु पर्ने उपायबारे धारणा राख्नुभयो।
प्रमुख अतिथि डा. रामनन्दन तिवारीले पोल्ट्रीसँग सम्बन्धित नीति नियममा आवश्यक सुधार गर्न सरकार तयार रहेको, निजी क्षेत्रसँग सहकार्य गर्दै नीति निर्माण गरिने बताउँदै रोगहरूको रोकथाम र नियन्त्रणमा सरकार, निजी क्षेत्र, विश्वविद्यालय, अनुसन्धान परिषद् र पशु चिकित्सकहरूको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो।
कार्यक्रमको समापनमा नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष श्री रघुनाथ भट्टले महानिर्देशक डा. रामनन्दन तिवारीलाई बधाई र सफल कार्यकालको शुभकामना दिँदै सम्मान गर्नुभयो। उहाँले कार्यक्रम अत्यन्त प्रभावकारी भएको उल्लेख गर्दै पोल्ट्री क्षेत्रको दीर्घकालीन विकासका लागि सबै सरोकारवालाको योगदान अपरिहार्य रहेको जनाउनुभयो।
कार्यक्रमको सञ्चालन नेपाल ह्याचरी उद्योग संघ केन्द्रीय समितिका सदस्य श्री कपिलबाबु खनालले गर्नुभएको थियो। कार्यक्रममा पोल्ट्री व्यवसायी संघसंस्थाका पदाधिकारी, सरकारी प्रतिनिधि, सह-प्राध्यापकहरू तथा १८ जना पशु चिकित्सकसहित ३३ जनाको सहभागिता रहेको थियो। कार्यक्रम राष्ट्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको सभाकक्षमा सम्पन्न भएको हो।