मेचीनगरमा ‘अफ्रिकन स्वाइन फिवर’ र ‘लम्पी स्किन’को संक्रमण पुष्टि

काठमाडौं ।मेचीनगर नगरपालिकाका विभिन्न वडामा गाई र बङ्गुरमा देखिएको रोगको प्राविधिक अनुसन्धानपछि ‘लम्पी स्किन’ र ‘अफ्रिकन स्वाइन फिवर’ (ASF) को संक्रमण पुष्टि भएको छ।
केही सञ्चारमाध्यमले गलत रूपमा “स्वाइन फ्लू” उल्लेख गरे पनि यो फ्लू नभई फिवर हो, अर्थात् अफ्रिकन स्वाइन फिवर हो।
प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीका अनुसार, वडा नं २, ३, ७, ८, ९, र १४ मा ‘लम्पी स्किन’ रोग तथा वडा नं ६ स्थित एक बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फिवर’ को संक्रमण देखिएको हो।
“संक्रमण पुष्टि भइसकेको छ,” उनले बताए, “रोकथामका लागि सात जना प्राविधिक खटाइएको छ र प्रदेश तथा संघीय निकायसँग समन्वय भइरहेको छ।”
पशु सेवा शाखाका प्राविधिक छत्र राईका अनुसार, गाई र बाच्छीमा लम्पी स्किन देखिएपछि टोलीले किसानको गोठमै पुगेर उपचार शुरु गरेको छ।
“गाईको शरीरभरि खटिरा, घाउ र उच्च ज्वरो देखिएको छ,” उनले भने, “साथै सरसफाइका लागि फिनेललगायत सामग्री किसानलाई वितरण गरिएको छ।”
संक्रमित पशुहरूलाई अलग राखेर मल्हम लगाउने, पेनकिलर दिने कार्य भइरहेको र रोगको फैलावट रोक्न ५०० मिटर आसपासका १५० भन्दा बढी पशुमा ‘रिङ भ्याक्सिन’ दिइएको राईले जानकारी दिए।
वडा नं ६ स्थित बबिता गहतराजको बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फिवरको संक्रमण पुष्टि भएको छ। पशु सेवा शाखा प्रमुख विक्रम गुरुङका अनुसार, हालसम्म फार्ममा ८० वटा बङ्गुर मरेका छन्।
“बङ्गुरमा अचानक मृत्युको खबरपछि परीक्षणका लागि नमुना पठाइएको थियो, जसबाट ASF पुष्टि भयो,” गुरुङले भने।
फार्म सञ्चालक गहतराजले जेठ महिनाभरि नै बङ्गुर मरेका कारण ठूलो आर्थिक क्षति भएको बताइन्।