पशुपन्छी औषधी व्यवसायी बागमती शाखाको अधिवेशन स्थगित, केन्द्रीय अधिवेशन प्रभावित हुने संकेत

काठमाडौं । नेपाल पशुपन्छी औषधी व्यवसायी संघ, बागमती जिल्ला शाखाको १०औँ अधिवेशन स्थगित गरिएको छ। बिहीबार एक सूचना जारी गर्दै संघले केन्द्रीय तथा प्रदेश तहबाट प्राप्त निर्देशनअनुसार विद्युतीय सदस्यता अध्यावधिक प्रक्रिया पूरा नभएसम्म अधिवेशन अगाडि नबढाउने निर्णय गरिएको जनाएको छ।

अध्यक्ष कृष्ण बहादुर अधिकारी (रमेश) र सचिव शरण कुमार खनालद्वारा संयुक्त हस्ताक्षरित सूचनामा भनिएको छ, “शाखाका सम्पूर्ण सदस्यहरूले अनलाइनमार्फत सदस्यता नवीकरण नगरेसम्म अधिवेशन स्थगित रहनेछ।” संघले बाँकी रहेका सदस्यहरूलाई चाँडोभन्दा चाँडो सदस्यता अध्यावधिक गर्न समेत आग्रह गरेको छ।

नेपाल पशुपन्छी औषधि व्यावसायी संघका अनुसार केन्द्रीय महाधिवेशनमा प्रतिनिधिको संख्या सदस्यताको आधारमा निर्धारण हुने भएकाले सदस्यता अद्यावधिक नभएसम्म मतदान प्रक्रियाको वैधानिकता सुनिश्चित गर्न सकिँदैन। पछिल्लो समय केन्द्रीय अधिवेशनहरूमा समेत हुनुपर्ने भन्दा बढी मत खसेको गुनासो आइरहेका बेला संघले सदस्यता अद्यावधिकलाई प्राथमिकतामा राखेको हो।

हालको स्थगन निर्णयले केन्द्रीय तहमा हुने कार्यतालिका पनि प्रभावित हुने संकेत देखिएको छ। पुसमा तय गरिएको केन्द्रीय अधिवेशनसमेत सारिने निश्चितजस्तै देखिएको छ। संघको सदस्यता अद्यावधिक नगण्य मात्रामा भएको यथार्थले अब अन्य शाखा र प्रदेशहरूका अधिवेशनमा समेत ढिलाइ गराउने प्रष्ट देखिएको छ।

संघ भित्रको आन्तरिक व्यवस्थापन तथा पारदर्शी निर्वाचन प्रक्रियाका लागि यो कदम आवश्यक मानिए पनि समयमै अद्यावधी नसकिए केन्द्रीय नेतृत्व चयनमा नै अन्योल उत्पन्न हुने देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *