कपिलवस्तुमा चरनमा रहेका ६ भैँसीको अकस्मात मृत्यु, विषादीको आशङ्का

काठमाडौं ।कपिलवस्तुको विजयनगर गाउँपालिका-५ नौरङ्गियाका किसान वीरबहादुर अहिरको खेतमा चरिरहेका ६ वटा भैँसीको एकैपटक मृत्यु भएको छ।
स्थानीय शिवनाथ यादवको खेतमा छरेको चरी घाँसमा चरिरहेका भैँसीहरू एकपछि अर्को गर्दै ढलेका थिए। विजयनगर गाउँपालिकाका पशु शाखा प्रमुख प्रह्लाद कुमार ठाकुरका अनुसार वीरबहादुरले सञ्चालन गर्दै आएको भैँसी स्रोत केन्द्रका ६ वटा माउ मुर्रा जातका भैँसीको तत्कालै मृत्यु भएको हो।
पशु शाखा प्रमुख ठाकुरले भैँसीको मृत्युको कारण यकिन भइनसकेको बताए। उनका अनुसार भैँसी चरेको घाँस गत वैशाखमा छरिएको थियो, जसलाई एकपटक काटेर खुवाइसकेको र हालैको वर्षापछि पुनः पलाएको थियो।
घाँसमा विषादी प्रयोग गरिएको आशङ्का गरिए पनि पशु चिकित्सकको पोस्टमार्टम रिपोर्ट नआएसम्म यकिन भन्न नसकिने जनाइएको छ। “घाँसमा विषादी छरिएको हो वा अन्य कुनै कारणले भैँसी मरेका हुन्, अहिले नै भन्न सकिँदैन,” ठाकुरले भने। उनका अनुसार घटनापछि नवलपरासीबाट पशु चिकित्सक ल्याएर पोस्टमार्टम गरिएको छ, तर रिपोर्ट आउन समय लाग्नेछ।
भैँसीहरू चरेको खेत नजिकै मकै खेती रहेको छ। स्थानीय किसानहरूबीच यो क्षेत्र भैँसी पालनका लागि उपयुक्त मानिन्छ। ठाकुरका अनुसार प्रदेश सरकारको अनुदानमा स्थापना गरिएको भैँसी स्रोत केन्द्रमा मुर्रा जातका भैँसीहरू पालिँदै आएका थिए। २६ वटा भैँसीमध्ये ६ वटा माउ भैँसीको मृत्यु भएपछि स्रोत केन्द्रको कार्यक्षमता र भविष्यमा असर पर्ने देखिएको छ।
“७ वटा माउ भैँसी घाँसमा चर्दा एक्कासी लडखडाउन थाले, बाँकी भैँसी र पाडाहरूलाई तत्काल हटाउँदा मात्र बचाउन सकियो,” ठाकुरले भने।
भैँसीको अकाल मृत्युपछि इलाका प्रहरी कार्यालय गणेशपुरले घटनास्थलको निरीक्षण गरिरहेको छ। कृषक वीरबहादुर अहिले आर्थिक संकटमा छन्। सस्तोमा घाँस पाइने भन्दै खेत भाडामा लिएर पशुपालन गर्दै आएका उनी एकैपटक ६ भैँसी गुमाएपछि लाखौंको क्षतिमा परेका छन्।
“सपना त मरेका भैँसीसँगै गयो, ऋण कसरी तिर्ला भन्ने चिन्ताले निद्रा हराएको छ,” पीडित किसान वीरबहादुरको गुनासो छ।