निलम्बनको अवज्ञा गरेपछि पशु चिकित्सक डा. टिकाराम न्यौपानेको दर्ता खारेज

काठमाडौं। नेपाल पशु चिकित्सा परिषद्ले पशु चिकित्सक डा. टिकाराम न्यौपाने (दर्ता नं. २३३) को नाम परिषद्को दर्ता किताबबाट हटाएको छ। परिषद् ऐन र आचारसंहिताको गम्भीर उल्लंघन गर्दै बारम्बार गैरकानुनी गतिविधिमा संलग्न भएको ठहर गर्दै परिषद्ले यो कडा कारबाही गरेको हो।


परिषद्ले जारी गरेको सूचनाअनुसार, डा. न्यौपानेले निलम्बनमा रहँदासमेत भेटेरिनरी प्रमाणपत्र जारी गर्ने तथा संक्रमित जनावरलाई ‘निरोगी’ भनी प्रमाणपत्र दिएको पुष्टि भएको छ। यो कार्यले नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ को दफा १४ (१) (ख) र नेपाल पशु चिकित्सा परिषद् दर्तावाल पशु चिकित्सकहरूको आधार संहिता नियमावली, २०५७ का विभिन्न नियमहरू (नियम ३ को उपनियम (५), (६), (१०), (१६) र नियम ४ को उपनियम (२) खण्ड (क), (ख), (घ), (ङ) ) को स्पष्ट उल्लंघन भएको परिषद्ले जनाएको छ।

यसअघि पनि डा. न्यौपाने गैरकानुनी भेटेरिनरी प्रमाणपत्र दुरुपयोगसम्बन्धी विवादमा मुछिएका थिए। सोही कारण, नेपाल पशु चिकित्सा परिषद्ले उनलाई २०८१ फागुन २१ गते दुई महिनाका लागि निलम्बन गरेको थियो।

तर, उनले निलम्बनको अवज्ञा गर्दै २०८१ चैत १९ गते हेटौंडाबाट महोत्तरीतर्फ १३ गाई र ३ वटा बाच्छी ढुवानीका लागि भेटेरिनरी प्रमाणपत्र जारी गरेको भेटिएको थियो। पशु सेवा कार्यालय मकवानपुरले जाँच गर्दा ती पशुहरू रोगी रहेको र एउटा गाई मर्ने अवस्थामा रहेको पाइएको थियो।

यति मात्रै होइन, निलम्बनको तेस्रो दिनमै उनले रामचन्द्र पोखरेलको भैंसी चितवनबाट गोरखा लैजानका लागि तथा चितवनको प्रतिष्ठा मत्स्य फर्मबाट काठमाडौं माछा पठाउनसमेत प्रमाणपत्र जारी गरेको पुष्टि भएको थियो। डा. न्यौपानेका यी गतिविधिले पशु स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको र पशु चिकित्सकको पेसागत मर्यादामा आँच पुर्याएको परिषद्को भनाइ छ।

२०८२ साल जेठ २० गतेको परिषद्को आधिकारिक सूचनामार्फत डा. टिकाराम न्यौपानेको नाम नेपाल पशु चिकित्सा परिषद्को दर्ता किताबबाट पूर्णरूपमा हटाइएको छ। यो निर्णयसँगै उनी भविष्यमा कुनै पनि पशु चिकित्सकीय अभ्यास गर्नबाट वञ्चित हुनेछन्। परिषद्ले यो निर्णय सार्वजनिक रूपमा प्रकाशन गरी सबै सरोकारवालालाई जानकारी गराएको छ।

यस घटनाले पशु चिकित्सा क्षेत्रमा गैरकानुनी गतिविधि नियन्त्रण गर्न परिषद्ले कडा कदम चालेको देखाउँछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *