छात्रवृत्तिमा अध्ययन गरेका पशु चिकित्सकले पनि गाउँमा गएर सेवा गर्नुपर्छ : कृषिमन्त्री

‘पशु कल्याण ऐन निर्माणका लागि गृहकार्य भइरहेको छ’

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले छात्रवृत्ति लिएर अध्ययन गरेका मेडिकल चिकित्सकले जस्तै पशु चिकित्सकले पनि दुई गाउँगाउँमा पुगेर सेवा गर्नुपर्ने बताएका छन् ।

पशु चिकित्सकहरूको छाता संगठन नेपाल भेटेरिनरी एशोसिएसनको केन्द्रीय अधिवेशनलाई शनिबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

‘जसरी छात्रवृत्तिमा अध्ययन गरेका मेडिकल डाक्टरले कम्तीमा दुई वर्ष सरकारले खटाएको स्थानमा गई सेवा गर्नुपर्छ, त्यसैगरी पशु चिकित्सकले पनि दूरदराजका पशुपालक किसानको सेवा गर्नुपर्छ,’ उनले भने । यस्तो अवस्था कसरी सिर्जना गर्न सकिन्छ भन्नेबारे पहिले छलफल गर्नुपर्ने र मन्त्रालयले पशु चिकित्सकहरूबाट अमूल्य सल्लाह र सुझाव अपेक्षा गरेको उनले बताए । पशु चिकित्सकको सुझावअनुसार यस सोचलाई कार्यान्वयन गर्ने कुरामा मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री अधिकारीले स्पष्ट पारे ।

मुलुकको पशुसेवा क्षेत्रको योगदानलाई थप प्रभावकारी बनाउन भेटेरिनरी डाक्टरहरूबाट विकट तथा दूरदराजमा पुगेर विज्ञ सेवा दिनुको विकल्प नभएको मन्त्री अधिकारीले बताए । त्यसरी किसानको समस्या समाधान गर्न विज्ञसेवा दिन सकेमा मात्र पशु चिकित्सले जनताको सेवा गरेको ठानिने उनको भनाइ छ ।

यसैलाई मध्यनजर गरेर मन्त्रालयले यस वर्षदेखि एक स्थानीय तहमा एक पशु चिकित्सक व्यवस्था गर्न बजेट तथा कार्यक्रम स्वीकृत गरेको र त्यसको कार्यान्वयनका लागि एनभिएबाट आवश्यक सहयोगको अपेक्षा गरेको उनले जानकारी दिए । ‘भर्खरै सार्वजनिक आगामी आर्थिक वर्षको बजेटमा एक स्थानीय तह, एक चिकित्सक व्यवस्थाका लागि आवश्यक बजेट तथा कार्यक्रम स्वीकृत भएको छ,’ उनले भने, ‘यो कार्यान्वयनका लागि पनि एनभिएको आवश्यक समन्वय र सहयोगका लागि हार्दिक अनुरोध गर्न चाहन्छु ।’

नेपालको पशुपालन क्षेत्र देशको ग्रामीण अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै मन्त्री अधिकारीले पशुपालन व्यवसायले खाद्य सुरक्षा, जीविकोपार्जन, रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको बताए ।
‘समग्र कृषि क्षेत्रभित्र पशुपालनतर्फका दूध, कुखुराको मासु, अण्डामा हामी आत्मनिर्भर भइसकेका छौं । पछिल्ला वर्षहरूमा छुर्पी, घिउ, ऊन, भैंसीको मासु लगायत पशु उत्पादन निर्यात हुन थालेको छ । यसका लागि योगदान पुर्याउने सबैमा हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

हालै नेपाल सरकार र चीन सरकारबीच भैंसीको मासु चीन निर्यात गर्न सम्झौता भएको जानकारी गराउँदै उनले भैंसी उत्पादनलाई सरल रूपमा सञ्चालन गर्न जरुरी रहेको औंल्याए । यसले पशु उत्पादन बढ्नुका साथै किसानको आयआर्जन बढ्ने, रोजगारी सिर्जना हुने, युवा विदेश जानबाट रोकिने र निर्यातमार्फत मुलुकको व्यापार घाटा न्यूनीकरण हुने विश्वास मन्त्री मन्त्री अधिकारीको छ । यसबाट मुलुकमा समृद्धि ल्याउन सकिने दाबी पनि उनले कार्यक्रममा गरे ।

पशुजन्य पदार्थ निर्यातका लागि खोरेतलगायत रोगहरू बाधक भएको र त्यसको नियन्त्रणका लागि बजेट विनियोजन गरिएको उनले जानकारी दिए । यो कार्यक्रम सफल पार्न पशु चिकित्सकको साथ अपरिहार्य भएको उल्लेख गर्दै उनले त्यसको अपेक्षा राखिएको पनि बताए ।

‘पशुजन्य पदार्थ निर्यातका लागि खोरेतलगायत रोगहरू बाधक रहेको विषयमा मभन्दा पनि यहाँहरु जानकार हुनुहुन्छ । हालै सार्वजनिक बजेट वक्तव्यमा रकम विनियोजन भएको छ,’ मन्त्री अधिकारीले अगाडि थपे, ‘यसको कार्यान्वयनका लागि निजी तथा सरकारी सेवामा रहेका पशु चिकित्सकको नेतृत्वदायी भूमिका रहने मन्त्रालयले अपेक्षा गरेको छ ।’
नेपाली पशुपालक कृषकले उत्पादन गरेका भैंसीको मासु, खसी र अन्य तमाम पशुजन्य उत्पादन निर्यात गरी मुलुकलाई समृद्ध बनाउने सपना हामीले देख्नुपर्ने र त्यसतर्फ लम्कनुपर्ने मन्त्री अधिकारीको भनाइ छ ।
मन्त्री अधिकारीले गाउँगाउँ पुगेर पशु चिकित्सकले सेवा पुर्याएको भन्दै प्रशंसा पनि गरे ।

‘हालैका दिनमा अफ्रिकन स्वाइन फिभर, लम्पी स्किन, बर्डफ्लुलगायत महामारीजन्य रोग नियन्त्रण कार्यमा यहाँहरुले पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु । जनस्वास्थ्यसँग जोडिएका रोगहरुको पहिचान तथा नियन्त्रणण्मा यहाँहरुको महत्वपूर्ण योगदान छ,’ उनले भने । विगतमा पनि गगौटी रोग नेपालबाट उन्मूलन भएको उल्लेख गर्दै उनले विश्व पशु स्वास्थ्य संगठनको खोरेत, पिपआर, रेबिजजस्ता रोगहरुलाई विश्वबाट उन्मूलन तथा नियन्त्रण गर्ने प्रतिबद्धतालाई नेपालले पनि अवलम्बन गरेको बताए । यसका लागि सम्पूर्ण भेटेरिनरियनको भूमिका आवश्यक रहेको स्मरण गराउँदै उनले सहयोग गर्न आग्रह पनि गरे ।

यसैबीच, मन्त्री अधिकारीले पशुकल्याण ऐन बनाउनका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताएको बताएका छन् । उनले यो कानूनलाई समयसापेक्ष पार्न विज्ञहरूबाट सहयोगको अपेक्षा गरिएको पनि जानकारी दिए ।

‘पशुकल्याणको महत्व अहिले दिनप्रतिदिन बढ्दै गएको छ । यो विषयमा निकै संवेदनशील छौं । यसबारे कानून बनाउन अत्यन्त जरुरी भएकाले यसका लागि गृहकार्यमा छौंm’ मन्त्री अधिकारीले भने, ‘पशु कल्याण ऐन छिटो ल्याउनु पर्छ भनेर लागेकाले विज्ञको सुझाव अपेक्षा गरेका छौं ।’

मुलुकको पशुपालन सम्बन्धी जिम्मेवारी बोक्ने हामी नै हौं भन्ने सोच राख्न पशु चिकित्सकलाई आग्रह गर्दै उनले अधिवेशन पेशागत हकहित र पशुपन्छी पालनको विकासमा कोशेढुंगा हुने विश्वास व्यक्त गरे ।

‘एनभिएको नयाँ नेतृत्वले चिकित्सकको हक हित र सेवा सुधारको पक्षमा ठोस कदम चाल्दै पशुपालनमार्फत किसानको आयस्तर र पशु उत्पादन वृद्धिमा उल्लेख आधार तय गर्न भूमिका खेल्ने विश्वास लिएको छु’ मन्त्री अधिकारीले भने । पशुपालन किसानका पक्षमा घनिभूत छलफल गरेर आएका सुझाव आफ्ना लागि ग्रहणयोग्य हुने विश्वास पनि उनले उक्त अवसरमा दिलाए ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक विष्णु तिवारीले राष्ट्रको खाद्य र पशु सुरक्षामा काम गर्नुपर्ने बर्ताए । नार्कले भेटेनरिनरी काउन्सिलसँग मिलेर काम गरिरहेको बताउँदै उनले सबैले आ–आफ्नो तर्फबाट भएको कामलाई समन्वय गरेर अघि बढ्नुपर्ने धारणा राखे ।

नीतिगत रूपमा भएका कामहरू एउटै थलोमा बसेर गर्नुपर्नेमा पनि उनको जोड छ ।

नेपाल भेटेनरी काउन्सिलका अध्यक्ष डा. ब्रज किशोर प्रसाद शाहाले अधिवेशनको सफलताको कामना व्यक्त गरे ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तर्फका सचिव डा. दीपक प्रसाद खरालले मन्त्रालयका विभिन्न कार्ययोजनामा एशोसिएसनले सल्लाह र सुझाव दिँदै आएकोमा धन्यवाद दिँदै पशुपन्छी तथा मत्स्य क्षेत्रको विकासका लागि अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले पशुपन्छी स्वास्थ्य तथा पशु कल्याण ऐन निर्माणका लागि मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी पनि गराए ।

कृषि मन्त्रालयका कृषितर्फका सचिव डा. गोविन्द प्रसाद शर्माले भेटेरिनरी क्षेत्रमा अहिले आएको परिवर्तनमा नेपाल भेटेनरी एशोसिएसनलाई धन्यवाद दिँदै एमआर लगायतका चुनौती थपिएको स्मरण गराए । नेपालमा भेटेरिनरी सेवा सहज बनाउन मन्त्रालयले दरबन्दीसमेत थपेको जानकारी उक्त अवसरमा उनले दिए ।

नेपालमा बाँदरको समस्याका कारण मन्त्रालयले बाँदर नियन्त्रण कार्यक्रम सञ्चालन गरिरहेको समेत उनले बताए ।

कृषि तथा वन विश्व विद्यालयका उपकुलपति डा. शारदा थपलियाले नेपाल भेटेनरी काउन्सिलले पशु चिकित्सा तर्फ अनुगमन गर्दै गुणस्तर कायम राख्न गरेको प्रयास प्रशंसनीय भएको बताउँदै समयमै प्रवेश परीक्षा लिनुपर्नेमा जोड दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *