एनभिएसँग हातेमालो गर्न चाहन्छौं

पशुपालन व्यवसायलाई विविधीकरण, व्यावसायीकरण, आयमूलक तथा सम्मानित पेशाको रूपमा विकास गरी राष्ट्रिय उत्पादनमा योगदान पर्याउन पशु सेवा विभागका जनशक्तिबाट मात्र नभई नेपाल भेटरिनरी एशोसिएसनका सदस्य आमभेटरिनरियनहरूको समेत महत्वपूर्ण योगदान रहन्छ । नेपाल भेटेरिनरी एशोसिएसनका सदस्यको निरन्तर शिक्षा र क्षमता अभिवृद्धिका लागि पहल भइरहेको छ ।
कोभिडकालमा समयमा किसानका पशुपन्छीका समस्या र जिज्ञाशामा खेलेको भूमिका, लम्पी रोग नियन्त्रणमा भएका सहकार्यको स्मरण गर्दै पशुपन्छीका रोगको निदान, उपचार, रोकथाम तथा नियन्त्रणमा निरन्तर सहकार्य हुनेछ । पशुपन्छीजन्य वस्तु दूध, मासु, अण्डाको खपत बढाउन गरिने प्रयासमा समेत सहकार्य भइरहेको छ । विभिन्न सचेतनामूलक दिवस तथा विभिन्न कार्यक्रममा कार्यगत सफलताको लागि विभाग र एशोसिएसनसँगै सहकार्य गर्न सकिन्छ । विभागका विभिन्न विषयका परामर्श बैठक, छलफल, अन्तरक्रियामा सक्रियतापूर्वक सहभागिता लगायत अन्य विभिन्न कार्यक्रमबाट सहकार्यलाई अझ सुदृढ गर्न सकिन्छ । समग्र पशु सेवाका विभिन्न क्षेत्रमा आवश्यक भूमिकाको लागि विभाग र एशोसियसन बीच निरन्तर र अझ मजबुत समन्वय र सहकार्यका प्रयास भइरहनेछ ।
पशु सेवा विभागले एशोसिएसनका सदस्य भेटेरिनरियनबाट गुणस्तर तथा प्रभावकारी भेटेरिनरी सेवा प्रवाहको अपेक्षा रहन्छ । एशोसिएसनबाट पशुपन्छीजन्य वस्तु दूध, मासु, अण्डाको खपत बढाउन, पशुपन्छी औषधिको समुचित प्रयोग तथा एन्टिमाइक्रोबियल रेसिस्टेन्सको कमी गर्ने लगायत विविध विषयमा एशोसिएसनको अत्यन्त महत्वपूर्ण भूमिका रहन्छ । समग्रमा पशुपन्छी क्षेत्रलाई आकर्षक, मर्यादित तथा सम्मानित बनाउन आवश्यक भूमिकामा विभागलाई सहयोग र सहकार्यको लागि एशोसिएसनको निरन्तर साथ र सहयोगको अपेक्षा गरेको हुन्छ ।
पशु चिकित्सकको हक अधिकारको संरक्षण र प्रर्वद्धनका लागि कर्मचारीको क्षमता अभिवृद्धि तथा पशु चिकित्सकको अधिकार संरक्षणमा पहलीकरण गर्दै आएको छ । कार्यस्थलको सुरक्षाको विषयमा विभागले प्रशासनको समन्वय र सहकार्यमा पशु चिकित्सकहरूले आवश्यक सुरक्षाको प्रत्याभूति दिइ निर्वाध रूपमा आफ्नो पेशा र व्यवसाय सञ्चालनमा निरन्तर सहयोग गर्ने गरेको छ ।
यही जेठ १७ गते हुने अधिवेशनको पूर्ण सफलताको कामना गर्दै सम्पूर्ण पशु चिकित्सकको हकहित र अधिकारको संरक्षण र प्रर्वद्धनमा पशु सेवा विभाग सदैव प्रयत्नशील छ । पशु सेवा क्षेत्रको समृद्धि, पशु स्वास्थ्यको अवस्थामा गुणात्मक सुधार, जनस्वास्थ्य प्रर्वद्धन र पशु कल्याणका लागि विभाग एशोसिएसनबाट साथ र सहयोगको अपेक्षा गर्दछ ।