आजकाल संगठनमा अन्य कुरा हाबी हुन खोजेको महसुस हुन्छ

वर्तमान कार्यसमितिलाई १०० मा ७० अंक दिन्छु

डा. शीतलकाजी श्रेष्ठले पशु चिकित्सकहरूको छाता संस्था नेपाल भेटेरिनरी एशोसिएसनलाई तीन कार्यकाल नेतृत्व प्रदान गरे । दुई वर्षअघि डा. रामकृष्ण खतिवडालाई जिम्मेवारी हस्तान्तरण गरेर निवर्तमान बनेका डा. श्रेष्ठले एनभिएलाई निकै फराकिलो क्षितिजमा उभ्याएको पशु चिकित्सकहरू बताउँछन् । हुन पनि डा. श्रेष्ठले आफ्‌नो कार्यकालमा पशुपन्छी चिकित्सकको हित रक्षादेखि नीति निर्माणसम्मका विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
आफ्‌नो कार्यकालमा एनभिएलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याएका डा. श्रेष्ठ एनभिएको वर्तमान कार्यसमितिले गर्नुपर्ने कतिपय काम गर्न नसकेको बताउँछन् । एनभिएको वर्तमान कार्यसमितिको कार्यलाई औसत बताउने डा. श्रेष्ठलाई भेट टाइम्स प्रतिनिधिले एनभिएको वर्तमान नेतृत्वले समातेको दिशा, अधिवेशनका नाममा हुने अव्यावसायिक गतिविधि, यसको आगामी नेतृत्वको कार्यभारलगायत विषयबारे आफ्‌ना प्रश्न राखेका छन् ।
प्रस्तुत छ, डा. श्रेष्ठसँग गरिएको सवाल–जवाफको सम्पादित उतार :

एनभिएको वर्तमान कार्यसमिति निवर्तमान हुँदैछ । यसको कामकारबाहीलाई कसरी समीक्षा गर्नुहुन्छ ?
एनभिएको वर्तमान कार्यसमितिको मूल्यांकन गर्नुपर्दा यसको काम–कारबाही औसत रह्यो । हामीले प्रतिबद्धता जनाएका कतिपय कुरा पूरा हुन सकेनन् । एनभिएको आफ्‌नै भवन निर्माण गर्ने अभियान थालिए पनि त्यो पूरा भएको छैन । हाम्रो पहलकदमी र लबिङमा उठान गरिएका कतिपय मुद्दा या त थाती रहे या उपलब्धिविहीन अवस्थामा रहे ।

साधारणसभाबाट पारित भएका कुराहरू टिमले लागू गर्न खोज्दा असहयोग त नभनौं तर सहयोग नगरिदिने प्रवृत्ति पनि देखियो । यसले कता–कता साधारणसभा पनि कर्मकाण्डमा मात्र सीमित हुँदोरहेछ कि भन्ने मैले महसुस भएको छ ।

वर्तमान कार्यसमितिले गर्नुपर्ने काम के–के थिए र ती अधुरा रहनुका कारण के होलान् ?
मेरो विचारमा समय दिएको भए यो टिमले अझै राम्रो नतिजा निकाल्न सक्थ्यो । तर समय कम दिएका कारण कतिपय काम हुन सकेनन् ।
यसका अतिरिक्त राज्यका कारण पनि कतिपय काम अघि बढ्न सकेन । गर्न सक्ने कुरा पनि उसले सुनेको नसुन्यै गर्‍यो । भेटेरिनरी सेवाले अत्यावश्यकीय सेवाको मान्यता पाएपछि अरू केही नभए पनि केन्द्रीय पशु चिकित्सालय चौबीसै घण्टा सञ्चालन गरिनु पर्थ्यो । तर राज्यभित्रकै संयन्त्रको लडाइँ, झगडा, इगो र ईर्ष्याले केन्द्रीय अस्पताल चौबीसै घण्टा सञ्चालनमा आउन सकेन । यद्यपि, यसमा सरोकारवालाका हिसाबले एनभिएले वाचडगको भूमिका भने निर्वाह गर्‍यो ।
पशुपन्छी क्षेत्र र पशुचिकित्सासँग सम्बन्धित कानून निर्माण गर्नुपर्ने थियो । ऐन निर्माणको काम पनि अलपत्र रहे ।

न्यायलयले गर्ने निर्णयमा भर पर्नुपर्ने भएकाले पनि कतिपय काम प्रभावित भए । निजामती सेवामा भेटेनरियनहरूको प्रवेशबिन्दु आठौं तहबाट हुनपर्छ भन्ने मुद्दा ज्युँका त्युँ छ । अर्को महत्वपूर्ण कुरा, पशु चिकित्सकको ऊर्जा लेखनले पनि कानूनी मान्यता पाउन सकेन ।

सारमा भन्नु पर्दा कतिपय एजेण्डामा हाम्रो पहलकदमी नपुगेर निचोडमा पुग्न सकिएन । कतिपय चाहिँ अदालत र सरकार हाबी हुँदा प्रभावित भए । केही मुद्दा सशक्त रूपमा उठाइएको भए पनि ब्याक हुनुपर्‍यो ।
यी यावत् कारणले एनभिएको वर्तमान कार्यसमितिको कार्यकाल औसत रह्यो भन्ने मेरो बुझाइ हो ।

१०० पूर्णांकमा मूल्यांकन गर्नुपर्यो भने कति नम्बर दिनुहुन्छ ?
एनभिएको वर्तमान कार्यसमितिलाई १०० पूर्णांकमा मूल्यांकन गर्नुपर्‍यो भने म ७० नम्बर दिन्छु ।

यही जेठ १७ गते एनभिएको अधिवेशन हुँदैछ । यसको मूल मुद्दा के बन्नु पर्छ होला ?
एनभिए पेशागत संस्था हो । पेशागत मुद्दा, भेटेनरियनहरूको हक अधिकार अधिवेशनको मूल एजेण्डा बन्नु पर्छ । अहिले हाम्रो पेशामा विभिन्न किसिमका चुनौती थपिरहेका छन् । त्यसका लागि कसरी संघर्ष गर्ने भनेर पनि अधिवेशनमा छलफल हुनुपर्छ । समग्रमा संगठनलाई गतिशीलता र उचाइ प्रदान गर्न अधिवेशन केन्द्रित रहनुपर्छ ।

एनभिएको आगामी नेतृत्व कस्तो आउनु पर्ला ?
मेरो विचारमा संगठनको नेतृत्वमा को व्यक्ति आउने भन्ने कुरा गौण हुन्छ । जो आए पनि पेशालाई आवश्यक परेका बेला शत प्रतिशत समय दिनसक्ने व्यक्ति आउनुपर्छ । मेडिकल इमरजेन्सी परेको अवस्थामा बाहेक अन्य समय संगठनलाई प्राथमिकता दिने व्यक्ति नेतृत्वमा चयन हुनुपर्छ । घर, परिवार, व्यापार, व्यवसाय र नोकरीलाई थाती राखेर समय दिनसक्ने व्यक्ति आयो भने धेरै राम्रो हुनेछ । यो कुरा संगठनको अध्यक्षको हकमा मात्र होइन, सदस्यसम्मै लागू हुन्छ ।

आगामी नेतृत्वले कसरी काम गर्नुपर्ला ? पूर्वअध्यक्षका नाताले नयाँ नेतृत्वका लागि यहाँका सुझाव के छन् ?
पहिले हामी संख्यात्मक रूपले कम थियौं । व्यक्ति विशेषलाई चिनिन्थ्यो । तर अहिले संख्या बढेको छ । व्यक्ति विशेषबाट भन्दा पनि कामबाट चिनिने समय आएको छ । यस्तो बेला हामीले अन्य मुद्दालाई थाती राखेर पेशागत मुद्दालाई प्राथमिकतामा राख्नुपर्छ । तर आजकाल संगठनमा अन्य कुरा हाबी हुन खोजेको हो कि भन्ने महसुस भइरहेको छ ।

गम्भीर विषय उठान गर्नुभयो । हाबी हुन खोजेका त्यस्ता विषय के होलान् ?
अधिवेशन र चुनावका बेला एनभिएमा ग्रुपिजमको कुरा आउन थालेको हो कि जस्तो देखिन्छ । चुनावी माहोलमा पेशागत मुद्दा हटेर अन्य फ्याक्टर अलिकति आउन खोजेको हो कि ?
एनभिए विशुद्ध पेशागत संगठन हो । उल्लिखित यी अन्य कुरा पेशागत संगठनमा आउन हुँदैन । यसले पेशालाई नकारात्मक असर मात्र पार्दैन, पेशागत मुद्दा पनि ओझेल्याउँछ । सोचनीय कुरा, यसले दीर्घकालीन असर गर्छ र हामीले चाहेको उचाइ र गतिशीलता पक्डन दिँदैन । आगामी नेतृत्वले यी कुरामा ध्यान दिनुपर्छ । नभए हामी पछाडि पर्नेछौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *